लघु औद्योगिक हव कसरी बन्दैछ ? एक चर्चा


कविराज खत्री
आज फेरी मलाई दैलेखको उद्यमशीलतामा भएको विकासका बारेमा एउटा सामान्य जानकारी दिनका लागि केही कुरा कैद गर्ने मन लाग्यो । इतिहासको कालखण्डलाई एक पटक गम्भीरतापूर्वक निहाल्ने हो भने परापूर्वकालमा दैलेख आफैमा आत्मनिर्भर जिल्ला थियो । दैलेखका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु अन्तर्राष्ट्रिय बजारमा समेत बजारीकरण हुने गरेका तथ्यहरु छन । भौगोलिक दृष्टिकोणले पहाडि जिल्ला भएता पनि दैलेख जिल्ला प्राकृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्वीक दृष्टिकोणले नेपालकै तेस्रो धनि जिल्लामा पर्दछ । मूख्य रुपमा हामी दैलेखीहरुले गर्व गर्न लायक विषय यहि नै हो । तर परिस्थिती पछिल्लो बीचको समयमा अलिभिन्न रुपमा प्रकट भयो । मूल रुपमा विश्व खाद्य कार्यक्रम र विद्यालयका छात्र÷ छात्राका लागि दिवा खाजा जब आउन शुरु ग¥यो, एक पक्षबाट यो राम्रो विषय बन्यो भने अर्को पक्षबाट हेर्दा यी दुई कार्यक्रमले दैलेखलाई परनिर्भर झन दोब्बर बनायो । विश्वखाद्य कार्यक्रम लागू भए देखि दुईवटा नकारात्मक परिणामहरु देखा परे दैलेखमा । पहिलो कुरा किसानहरुले आफ्ना खेतवारी बाँझो राख्न थाले किनकी तीन महिना काम गरेर कमाएको चालमले वर्ष दिन पुग्न थाल्यो अर्को नकारात्मक पक्ष आहार विहारमा पनि परिर्वतन आयो । दिनभरी काम गर्ने, साँझ स्थानीय भट्टी पसलमा पसेर सामूहिक रुपमा मदिरापान गर्ने आनीबानी अत्याधिक बढयो । जसको सिको बालबच्चाहरुले पनि गर्न थाले र पछि गएर सबै कुलतको शिकार बन्न पुगे । ठीक यसै बेला शसस्त्र द्धन्द्ध पनि चर्केर बसिनसक्नु भयो । जनशक्ति पलाएन हुँदा गाउँहरु भंगार बन्न पुगे मूल रुपमा यी कारणहरुले दैलेखलाई विशेष गरेर परनिर्भतातर्फ धकेलेको हो । यो मेरो नीजि विचार हो । यसमा कसैको सहमती नहुन पनि सक्छ । सारमा विश्व खाद्य कार्यक्रमले तत्कालीन रुपमा एक टुक्रा गासको ब्यवस्थापन भए पनि आम रुपमा दैलेखका किसानहरुलाई परनिर्भरता बनाउने मूख्य कारक यहि नै हो । तथपी अब फेरी दैलेखमा उद्यम र उद्यमशीलताको विकास तिव्र रुपमा अघि बढेको छ । स्थानीय सरकार गठन भए देखि यता कृषि, उद्यम र उद्यमशीलतामा निकै चासो बढनुका साथै आम जनतालाई उद्यम र उद्यमशीलताका माध्यमबाट आत्म निर्भर, स्वरोजगार बनाउने अभियान पनि थालिएको छ । साथै थोरै मात्रामा भए पनि नीति, बजेट, कार्यक्रमहरु आएका छन । तर विडम्बनाको कुरा के छ भने यस सम्बन्धि विशेषज्ञ, जानकार कर्मचारीहरु नहुँदा, भएका कार्यालयहरु पनि ध्वस्त पार्दा कार्य सम्पादनमा निकै चुनौती देखिएको छ भने गुणात्मक परिर्वतन आउने संभावना कम रहेको छ । अब म दैलेख लघु उद्यम हव बन्न सक्छ की सक्दैन ? भन्ने विषयमा थोरै चर्चा गर्न चाहन्छु । मेरो दृढ विश्वास र मान्यता के छ भने हामी सबैले यस विषयमा चासो दिएर, गुरु योजना, रणनीतिक योजना बनाएर लाग्ने हो भने अबको ३ वर्षभित्र ७७ जिल्लामध्ये सबैभन्दा उत्कृष्ट उद्यम र उद्यम शीलताका माध्यमबाट आत्मनिर्भर र स्वरोजगारयुक्त जिल्ला दैलेख बन्न सक्दछ । किनभने यसका केही सकारात्मक प्रमाणहरु रहेकाछन ।
१. ७७ जिल्ला मध्ये दैलेख मात्र यस्तो जिल्ला हो, जुन जिल्लामा नेपाल सरकारले लिएको नीति अनुसार ३ हजारभन्दा बढि लघु उद्यमीहरुले आफ्ना लघु उद्यमहरु विधिवत रुपमा दर्ता गरेर उद्यम गरिरहेकाछन । यति मात्र होइन, दैलेखमा श्रृृजना भएका हालसम्मका ७ हजारभन्दा धेरै उद्यमीहरु मध्ये करिब ८५ प्रतिशत लघु उद्यमीहरुले निरन्तर रुपमा उद्यमहरु संचालन गरिरहेकाछन ।
२.लघु उद्यम विकास कार्यक्रम र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको मोडेल अनुसार संचालनमा आएका साझा सुविधा केन्द्ररु नेपालमा सफलतापूर्वक कुनै जिल्लामा पनि संचालन हुन सकेका छैनन् । तर दैलेखमा निर्माण भएका झण्डै दुई दर्जन साझा सुविधाकेन्द्रहरु मध्ये दुल्लूको १ वटा र भवानीको १ वटा देखिबाहेक अरु सबै साझा सुविधा केन्द्रहरु सफलतापूर्वक संचालन भएका छन । अति गरिब समुदायका समूहका लघु उद्यमीहरुले साझा सुविधा केन्द्रमार्फत आफना लघु उद्यमहरु संचालन गरि आय आर्जन गरिरहेकाछन् ।
साथै जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले निरन्तर रुपमा लघु उद्यमीहरुको विषयमा पैरवी गर्दै आईरहेको छ । कार्यक्रम भए पनि नभए पनि कार्यालयबाट लघु उद्यमीहरुलाई निरन्तर आवश्यक सहयोग गरिरहेको छ । लघु उद्यमीहरुलाई छाता संस्थामा आवद्ध गरी सम्भव भएसम्मका हरेक समस्याहरु सामाधान गर्ने गरेको छ । संस्थाको मजवुदपनाले गर्दा दैलेखका लघु उद्यमीहरुलाई सबै प्रकारको सेवा लिनसक्ने आधार निर्माण भएको छ ।
३. लघु उद्यम विकास कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको मोडेल अनुसार गठन, दर्ता र संचालन भएका ९ वटा सहकारीहरु सोही मर्म अनुसार सफलतापूर्वक संचान भएको एउटा मात्र जिल्ला दैलेख हो । हाल यी सहकारीहरुमा झण्डै १२ सय लघु उद्यमीहरुले सेवा लिईरहेकाछन् ।
४. लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु विदेशमासम्म जाने जिल्लाहरुमध्ये दैलेख नै पहिलो जिल्लामा पर्दछ । सिस्नो पाउडर, हाते कागज र अल्लोको धागो युरोप र जापान निर्यात भईरहेको छ । जसका कारणले झण्डै वार्षिक ३ करोड विदेशी रकम दैलेख भित्रने गर्दछ ।
५. अब दैलेख जिल्लाका धेरै लघु उद्यमहरु साना उद्यममा रुपान्तरण हुन थालेकाछन् । ७७ जिल्लामध्ये धेरै लघु उद्यमहरु साना उद्यममा रुपान्तरण हुने अवस्था श्रृजना भएको जिल्ला दैलेख मात्र हो । साना उद्योगमा रुपान्तरण हुने लघु उद्यमहरुमा दालमोठ, अगरवत्ती, दुनाटपरी, वेकरी, चाउमिन, वाँस निगालो, फर्निचर, ढाका, सिस्नो प्रसोधन, हातेहोजियारी, अल्लो प्रसोधन, सिस्नो प्रसोधन, हातेकागज, गारमेन्ट, मसला उद्योग, खुकरी खुँडा निर्माण उद्योग, टायल उद्योग, आलुचिप्स उद्योग, ढाका कपडा उद्योग, ब्यवशायिक तरकारी उद्योग, होमस्टे आदि पर्दछन ।
६. तथ्यगत रुपले हेर्दा नारायण नगरपालिकामा दालमोठ, हाते होजियारी, मसला उद्योग, वेकरी, फर्निचर, बाँसनिगोलो, सिलाईकटाई, जुत्ता निर्मार्ण, वागिना, नर्सरी, तरकारी खेती, अगरवत्ती, गारमेन्ट, मासु प्रसोधन, गलैचा, अल्लो प्रसोधन, मसला बाली, दुना टपरी उद्योगहरु सफलतापूर्वक संचानमा रहेकाछन । यी उद्यमहरुमा झण्डै २५ सय जना लघु उद्यमीहरु संलग्न रहेकाछन भने ती उद्यमीहरले निरन्तर सफलतापूर्वक उद्यमहरु संचालन गरिरहेकाछन ।
७. नौमूलेमा अल्लो प्रसोधन, ढाका कपडा, हाते कागज, दालमोठ, सिलाई ब्यवशाय, वंगुर पालन, बाँस निगालो, होम स्टे फस्टाएकाछन । नौमूलेमा ५ सय जना लघु उद्यमीहरु श्रृजना भएकाछन भने झण्डै ४ सय जनाले लघु उद्यमहरु संचालन गरिहेकाछन ।
८. भगवतीमाईमा छालाजुत्ता, सिलाई कटाई, दालमोठ, बाँस निगालो, कला सँस्कृति, फर्निचर, खाजा नास्ता, सिस्नो प्रसोधन, ताजा तरकारी, मसला बाली, आरन आदि लघु उद्यमहरु सफलता पूर्वक संचालनमा रहेकाछन । यहाँ झण्डै २५० जना लघु उद्यमीहरुले निरन्तर लघु उद्यमहरु संचालन गरिहेकाछन् । ९. डुङ्गेश्वर गाउँपालिकामा ढाकाकपडा, चाउमिन, वाख्रा पालन, सिलाईकटाई, वुटिक, ब्युटिपार्लर, दालमोठ, वंगुर पालन, ताजा तरकारी, चाट, मसला खेती, खँुडा खुकुरी जस्ता लघु उद्यम संचालित छन । जसमा ३ सय जना लघु उद्यमीहरुले दैनिक लघु उद्यम संचालन गरी रहेकाछन ।
१०. गुराँस गाउँपालिकामा आलुचिप्स, दालमोठ, सिलाईकटाई, सस, ताजा तरकारी खेती, फलफुल खेती , होम स्टे जस्ता लघु उद्यम संचालन गरिहेकाछन यहाँ झण्डै १ हजार लघु उद्यमीहरु रहेकाछन भने जिल्लामा सबैभन्दा धेरै लघु उद्यमहरु दर्ता भएको गाउँपालिका पनि गुराँस गाउँपालिका नै हो ।
११. दुल्लू नगरपालिकामा जनघनत्व धेरै छ । तथापी यहाँ धेरै लघु उद्यमहरु संचालन हुन सकेका छैनन् । यहाँ दालमोठ, जुस, जाम, जेली, चाउमिन, होमस्टे, मसला बाली, फर्निचर, कुखुरा पालन, वाख्रा पालन, सिलाईकटाई, दुुध डेरी, वुटिक, जुत्ता निर्माण, ममवत्ती , बास निगालो, आरनपंखा, पिसानी कुटानी, दुनाटपरी जस्ता लघु उद्यमहरु संचालनमा रहेकाछन । यो नगरपालिकामा झण्डै १ हजारभन्दा बढि लघु उद्यमीहरुले दैनिक रुपमा लघु उद्यमहरु संचालन गरिरहेकाछन ।
१२. भैरवी गाउँपालिकामा अल्लो प्रसोधन, दालमोठ, सिलाई, दुध डेरी, छुप्री उत्पादन, अलैची खेती जस्ता उद्यमहरु संचालनमा रहेकाछन । यहाँ करिब २ सयभन्दा बढि लघु उद्यमीहरुले दैनिक रुपमा लघु उद्यमहरु संचालन गरी राम्रो आय आर्जन गरिरहेकाछन ।
१२. ठाटिकाँध गाउँपालिकामा सबैभन्दा थोरै लघु उद्यमीहरु श्रृजना भएका छन । यहाँ अल्लो प्रसोधन, दालमोठ, ताजा तरकारी, सिलाईकटाई जस्ता उद्यमहरु संचालिन छन । करिब ८० जना लघु उद्यमीहरु रहेकाछन यहाँ ।
१३. आठविस नगरपालिका लघु उद्यम क्षेत्रमा सबैभन्दा बढि संभावित ठाउँ हो तर सोचे अनुसारको विकास हुन सकेको छैन । यहाँ मूख्य गरेर दालमोठ, सिस्नो प्रसोधन, अल्लो प्रसोधन, कुखुरा पालन, सिलाईकटाई उद्यमहरु संचालनमा रहेकाछन । हालसम्म करिब २ सयको हाराहारिमा लघु उद्यमहरुले उद्यम संचालन गरिरहेकाछन । यी र यस्ता यर्थात तथ्यहरुलाई हेर्दा वर्षमा झण्डै २ अर्वभन्दा बढिको कारोबारो दैलेखका लघु उद्यमीहरले गर्ने गरेकाछन । यो तथ्याङ्क नेपालका ७७ जिल्लामध्ये सबैभन्दा धेरै लघु उद्यमीहरुले लघु उद्यम संचालन गरी आत्मनिर्भर बनेको उल्लेख गर्दा अन्यथा नहोला । यसरी यी र यस्ता आधारहरुलाई हेर्ने हो भने अबको ३ वर्षमा हामी सबैले आ–आफ्नो स्थानबाट दैलेखलाई लघु उद्यम औधोगिक हवको जिल्ला बनाउन चाहेको खण्डमा लघु उद्यमका माध्यमबाट दैलेख आत्मनिर्भर र स्वरोजगारयुक्त जिल्ला बन्नेमा दुई मत छैन । यसका लागि एउटै कुराको अभाव रप्रभाव रहेको छ, त्यो कुरा के हो भने स्थानीय सरकारले अहिलेसम्म पनि औद्योगिक रणनीति बनाउन सकेका छैनन्, अवको ५ वर्षमा आफना स्थानीय तहहरुलाई कहाँ, कुन अवस्थामा पु¥याउने ? कुनै ठोस योजना र सपना नै निर्माण गर्न सकेका छैनन् । मूल समस्या यहि हो । बजेट उद्यमीलाई होइन, कार्यकर्तालाई मात्र वितरण गरेको आरोप लाग्ने गरेको छ यो त्यती सत्य कुरा त होइन तर बजेटको दुरुपयोग त भएन भन्ने आम गुनासो उठेको छ । अन्त्यमा हामी सबै मिलौं, सहकार्य गरौं । अबको ३ वर्षमा उद्यम र उद्यमशीलताका माध्यमबाट दैलेख जिल्लालाई ७७ जिल्ला मध्ये आत्मनिर्भ र स्वरोजगारयुक्त जिल्ला बनाऔं । संभव छ किनभने यस क्षेत्रमा दैलेख धेरै अघि बढिसकेको छ ।
अध्यक्ष (नेपाल राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेश)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार