राष्ट्रिय प्रसारण लाईनमा जोडियो नौमूले मिटर अभावले उपभोक्ताले पाएनन् बत्ती


भाद्र २१, दैलेख
स्थानीय सरकार संचालन भएको दुईबर्षपछि नौमूले गाउँपालिका नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । अहिले नौमूले गाउँपालिकाको मुख्य बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन पुगिसकेको छ । बत्ती बलिसकेको छ । बत्तीका लागि उपभोक्ताहरुको माग संकलन गर्दा एकै दिनमा एक सय पचास उपभोक्ताहरुले बत्ती माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणको जिल्ला स्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकोले थाप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरीएको निमित्त कार्यालय प्रमुख पूर्ण खत्रीले जानकारी दिएका छन् ।
तत्काल गाउँपालिका केन्द्र रहेको आसपास करिव ३ सय जना उपभोक्ताहरुले बत्ती बाल्ने अवसर प्राप्त गर्ने गरी तयारी थालिएको नौमूले गाउँपालिकाका अध्यक्ष भदेबुढामगरले जानकारी दिएका छन् । हामिले तत्काल मिटर उपलब्ध गराईदिन जिल्लामा खवर गरिसकेका छौं दशै अगाडी नै उपभोक्ताहरुको घरमा बत्ती बाल्न गाउँपालिकाले पनि सकेसम्म सहयोग गर्ने अध्यक्ष भदेबुढामगरले जानकारी दिएका छन् ।
नौमूले गाउँपालिका भित्र चारवटा जलविद्युत आयोजना निर्माणको क्रममा छन् । द्धारीखोला जलविद्युत आयोजनाले बिगत दुई बर्ष देखि नौमूलेबाट विद्युत उत्पादन सुरु गरेर दैलेख र सुर्खेतका बासिन्दाहरुलाई विद्युत सेवा आपूर्ति गरेको भएपनि नौमूले आफै बत्तीमुनिको अँध्यारोमा रहेको छ । गाउँपालिकाको सदरमुकाम नौमूले बजारमा बत्ती बलेपछि पालिकाको दैनिक काममा समेत सजिलो हुने भएको छ । सोलारबाट कामकाज चलाउँदै आएको गाउँपालिकाका कामहरुमा सहजता हुने नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोईरालाले बताए । यसअघि स्थानीय स्तरमै उत्पादन भएको सानाजलविद्युत आयोजनाले बिहान बेलुका मात्रै बत्ती बाल्दै आएका स्थानीयहरु केन्द्रिय प्रसारण लाईनको बत्ती आएपछि खुसी भएको भएपनि तत्काल जिल्लाले मिटर उपलब्ध गराउँदै जनताको घरमा बत्ती दिनुपर्ने स्थानीय सशिराम बिकले जानकारी दिएका छन् ।
नौमूले गाउँपालिकामा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत आयोजनाले भाद्र महिनाको अन्तिममा ४दशमलव ७५ मेगावाट क्षमताको बत्ती उत्पादन सुरु गर्ने भएको छ यो सँगै नौमूलेबाट ८.५ मेगावाट बत्ती उत्पादन हुने छ । अन्य दुईवटा जलविद्युत आयोजनाहरु निर्माणको तयारीमा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार