
दैलेखमा सडक निर्माणको बहानामा बर्षौंदेखि ८ वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् । सञ्चालनको अनुमति लिएको भएपनि अधिकांशले मापदण्ड पुरा गरेका छैनन् ।
मध्य पहाडी राजमार्ग अन्तर्गत दैलेख भू भागमाकरिब १ सय २५ किलोमिटर सडकको काम सुरु भएको वर्षौँ भई सक्यो । सडकको लागि भन्दै निर्माण गरिएका क्रसर उद्योगहरूले हरेक वर्ष लाखौँ रकम अवैध रूपमा गिट्टी र बालुवा बिक्री गरेर छुट्टै आम्दानी गर्ने गरेका छन् । प्राकृतिक स्रोतको दोहन भएको छ । विभिन्न बहानामा ठेक्का ढिला गर्ने तर गिट्टी र बालुवा बिक्री गरेर लाखौँ कमाउने प्रचलन दैलेखमा धेरै छ ।
दैलेखमा स्थायी प्रकृतिको एक र सडक निर्माणका लागि भन्दै अस्थायी प्रकृतिका ८ वटा क्रसर उद्योगहरू सञ्चालनमा छन् । सञ्चालन भएका उद्योगहरूले न्यूनतम मापदण्ड पुरा गर्न सकेका छैनन् ।
जिल्ला प्रशासन र सम्बन्धित निकायबाट बेला बेलामा अनुगमन हुने गरेको भएपनि मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगहरू बन्द हुन सकेका छैनन् । पहुँचका आधारमा खोलिएका उद्योगहरूले आफूले निर्माण गर्ने सडकका लागि मात्र आवश्यक सामग्रीहरू तयार गर्नुपर्ने हो तर लुकीछिपी गिट्टी र बालुवा बिक्रीवितरण निरन्तर भइरहेको छ । रातारात अन्य आयोजनाका लागि गिटी र बालुवा बिक्री वितरण हुने क्रम अहिले पनि रोकिएको छैन ।
जिल्ला प्रशासनले थाल्यो छानबिन ः
जिल्ला प्रशासन कार्यालय दैलेखले गृह मन्त्रालयको यही पुस २० गतेको निर्देशन पछि दैलेखमा सञ्चालन भएका क्रसर उद्योगहरूको छानबिन सुरु गरेको छ ।
अहिले क्रसर उद्योगका प्रकृतिको जानकारी माग गरिएको, विवरण सहित आवश्यक कागजात ल्याउन सम्बन्धित उद्योगलाई निर्देशन दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
क्रसर उद्योगहरूले सडकको बहानामा जम्मा गरेका गिट्टी, बालुवा र ढुङ्गा अन्यत्र बिक्री वितरण गरेको गुनासो आएकाले तत्कालै कति परिमाण चाहिने हो सोही अनुसार मात्र उत्पादन गर्नका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवाको विवरण माग गरिएको र अनुगमन कडाइ गरिएको हमालको भनाई छ ।
दैलेखको भगवतिमाई गाउँपालिकाको लोहोरे, नारायण नगरपालिका २, कुसाँडा, नारायण नगरपालिका ८ वगौरा, महावु गाउँ पालिका १ भिरखेत, चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ लैनचौर, आठवीस नगरपालिका २ सिस्ने, अठविसकै शाहीगाउँ र टुनिवगरमा क्रसर उद्योग सञ्चालन रहेको विवरण जिल्ला प्रशासन कार्यालय दैलेखले संकलन गरेको छ ।
मापदण्ड पुरा नभएको स्थानीयको गुनासो
क्रसर उद्योग सञ्चालनगर्दा अपनाउनुपर्ने मापदण्ड अधिकांशले पुरा गरेका छैनन् ।
उद्योग सञ्चालन गर्दा वातावरणीय अध्ययन प्रतिवेदन अनुसार संकलन गर्नै कच्चा पदार्थको स्थान, क्षेत्रफल, समय अवधि र स्रोतको विवरण क्षेत्रको जानकारी दिनुपर्ने हो ।
सुरुवातगर्दा दिएको जानकारीका आधारमा विगत ८ वर्षदेखि निरन्तर सञ्चालन हुनु मापदण्ड विपरीत मानिन्छ । धेरैले विवरण अद्यावधिक गरेका छैनन्, राजमार्गको राइट अफ वे बाट ५ सय मिटर दुरी हुनुपर्ने, शिक्षण संस्था, धार्मिक सांस्कृतिक क्षेत्रबाट न्यूनतम २ किलोमिटर टाढा हुनुपर्ने, पक्की पुलबाट ५ सय मिटर दुरीमा हुनुपर्ने जस्ता मापदण्डहरूको पालना भए नभएको खोजी गर्नुपर्ने र पालना नगरेका उद्योगहरू बन्द गराउनुपर्ने माग स्थानीयको रहेको छ ।
पालिका पनि बेखवर
निर्माणका कामहरू पुल र सडक बाहेक अन्यत्र सामानप्रयोग गर्न नमिल्ने र बिक्री वितरण नगर्ने सर्तमा सञ्चालनमा आएका दैलेखका क्रसर उद्योगहरूले गोप्य रूपमा गिटी र बालुवा बिक्री वितरण मात्र गरेका छैनन्, खोलाकै बिचमा डोजर लगाएर ढुङ्गा र बालुवा तान्ने गरेका छन् । बेला बेलामा स्थानीयहरूले प्रशासनमा गुनासो गरेपछि प्रशासनले केही समय कडाइ गर्ने गरेको भएपनि स्थानीय पालिकाहरूले आफ्नो क्षेत्रको प्राकृतिक स्रोत साधनहरूको सुरक्षा गर्ने, रेखदेख गर्ने विषयमा बेखवर बनेको स्थानीयको गुनासो छ ।









