केहीमा सर्वसम्मत, केहीमा प्रतिस्पर्धा महाधिवेशन प्रतिनिधिका लागि १३ गते निर्वाचन

दैलेख : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चर्चा चुलिँदै जाँदा दैलेखमा पनि पार्टीको वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका गतिविधि तीव्र बनेका छन्। महाधिवेशन प्रतिनिधि छनोटका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा तयारी अघि बढाइएको छ। केही तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केही पदमा प्रतिस्पर्धा हुने भएको छ।

नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीका अनुसार पार्टी सभापति गगन थापाको आधिकारिक नेपाली काँग्रेसको असोज ३ गतेदेखि वडा अधिवेशन सम्पन्न भएको छ । असोज ७ गते जिल्लाका ११ पालिकामध्ये ९ वटामा सर्वसम्मत र २ वटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको उनले जानकारी दिए ।

सर्वसम्मत नभएका स्थानको निर्वाचन १३ गते

दैलेख निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका चार प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमध्ये प्रदेशसभा क्षेत्र ‘क’ मा निरञ्जन खत्री र क्षेत्र ‘ख’ मा भदे बुढामगरको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा दशरत खड्काको नेतृत्व चयन भएको छ। निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय नेतृत्व चयनका लागि भने असोज १३ गते निर्वाचन गर्ने तयारी गरिएको छ।

यसैगरी, क्षेत्र नं. १ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका लागि पनि निर्वाचन हुने भएको छ। विभिन्न समूह र पदमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेपछि निर्वाचनको वातावरण बनेको हो।

महिला र खुलातर्फ उम्मेदवारीको चाप
निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि महिला खुलातर्फ ४ जना छनोट हुनेमा ६ जनाको उम्मेदवारी परेको छ। महिला खुलातर्फ उम्मेदवारी दिनेहरूमा दिपा कुमारी बिसी, निर्मला कुमारी खड्का, मिना कुमारी खड्का, मिना कुमारी थापा, पुण्यप्रभा दशौदी र बासना थापा रहेका छन् ।

त्यस्तै, खुलातर्फ १० जना प्रतिनिधि छनोट हुनेमा १९ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेहरूमा कृष्णकुमार बिसी, डा. खगेन्द्र शाही, खेमराज वली, गणेशप्रसाद उपाध्याय, गणेशकुमार श्रेष्ठ, झलकबहादुर भण्डारी, टेकबहादुर कटुवाल, टोपबहादुर बुढा, नगेन्द्रबहादुर मल्ल, पदमबहादुर मल्ल, पूर्णबहादुर खत्री, प्रेमबहादुर रामझाली, प्रकाश थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, सन्देशकुमार श्रेष्ठ, यामबहादुर मल्ल र हेमशंकर अधिकारी रहेका छन्।

पेशागत तथा विज्ञतर्फ एक जना प्रतिनिधिका लागि खेमराज केसी, पूर्णप्रसाद कोइराला र रामबहादुर शाही गरी तीन जनाको उम्मेदवारी परेको छ।

महाधिवेशन प्रतिनिधि छनोटमा युवा तथा समावेशी समूहका विभिन्न पदमा समेत उम्मेदवारी परेको छ। युवा महिलातर्फ एक जना प्रतिनिधिका लागि अस्मिता रोकामगर निर्विरोध निर्वाचित भएकी छन्। युवा खुलातर्फ दुई जना छनोट हुनेमा चेतन न्यौपाने, भीमबहादुर थापा, मनोजकुमार थापा र सुसिल देउजाले उम्मेदवारी दिएका छन्।

अपाङ्गता भएका व्यक्तितर्फ एक जना प्रतिनिधिका लागि कनक सेन ठकुरी, गणेशबहादुर बोगटी र रणबहादुर कार्की गरी तीन जनाको उम्मेदवारी परेको छ। दलिततर्फ अभिषेक सोनी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, श्रमिकतर्फ भरतराज डाँगी पनि निर्विरोध निर्वाचित भएका छन्।

सहिद परिवार तथा द्वन्द्वपीडित समूहबाट एक जना प्रतिनिधि छनोट हुनेमा नगेन्द्रबहादुर खत्री, महेन्द्रकुमार राना र बखतबहादुर कटुवालको उम्मेदवारी परेको छ।

क्षेत्र नं. १ बाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुने ।
दैलेख निर्वाचन क्षेत्र नं. १ बाट विभिन्न समूह तथा समावेशी क्लस्टरअन्तर्गत ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

खुला महिला दलित, समानुपातिक आदिवासी जनजाति, समानुपातिक खुला, खस आर्य तथा खस आर्य महिलालगायत समूहबाट प्रतिनिधि छनोट गरिने व्यवस्था रहेको छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि वडाबाट निर्वाचित भएर आएका वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

उपलब्ध विवरणअनुसार दैलेख निर्वाचन क्षेत्र नं. १ मा १ हजार १०४ र निर्वाचन क्षेत्र नं. २ मा १ हजार ५६ जना मतदाता प्रतिनिधि रहेका छन्। उनीहरूले सम्बन्धित निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि छनोटमा मतदान गर्नेछन् ।

जिल्ला सभापतिका आकांक्षीका लागि महाधिवेशन प्रतिनिधि निर्णायक
नेपाली कांग्रेस दैलेखको जिल्ला सभापति चयनका लागि मंसिरमा निर्वाचन हुने तयारी छ। जिल्ला सभापतिका आकांक्षीले महाधिवेशन प्रतिनिधि जित्नुपर्ने भएकाले अहिलेको प्रतिनिधि छनोटलाई जिल्ला नेतृत्वको प्रतिस्पर्धासँग पनि जोडेर हेरिएको छ।

महाधिवेशन प्रतिनिधि चयनले आगामी जिल्ला नेतृत्वको समीकरणमा प्रभाव पार्ने भएकाले उम्मेदवारहरू आफ्ना पक्षमा मतदाता प्रतिनिधि जुटाउन सक्रिय देखिएका छन्।

यसले दैलेख कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक एकता र जिल्ला नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधि निर्वाचनलाई महत्वपूर्ण बनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार