दैलेखमा कार्यरत जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख भक्तबहादुर कार्की यतीवेला जनसेवा श्री पदबाट सम्मानीत भएका छन् । दैलेख नारायण नगरपालिका ८ बस्ने बाबु पदमबहादुर कार्की र आमा धना कार्कीको कोखबाट जन्मेका उनी संभवत यस वर्षको मध्य पश्चिम भरिबाटै यो पद पाउन सफल भएका राष्ट्रसेवक कर्मचारी हुन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्राप्त हुने उक्त पदक पाँचौ गणतन्त्र दिवशको अवसरमा उनी लगाएत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई सम्मानीतको लागि सिफारिस भएको थियो । २ छोरा २ छोरी र नाती, नातीना समेत भैसकेका कार्कीलाई जनसेवा श्री पद पाउँदा कस्तो अनुभव भएको छ भन्ने सन्र्दभलाई जोड्दै धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेको कुराकानी आजको अंकमा प्रस्तुत गरेका छौं ।
पाँचौ गणतन्त्र दिवशको अवसर पारेर तपाँई जनसेवाश्री पदको उपाधि पाउनुभएको छ । कस्तो लागेको छ ?
मलाई नेपाल सरकारले प्रदान गरेको यो पदवीबाट निकै खुशी भएको छु । मलाई यो खशुीसम्म पुर्रयाउने आम सम्पूर्ण जिल्लाबासीहरुको योगदान पनि भएको छ । प्रशासनिक निकायको रुपमा रहेको जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, पत्रकार महासंघ, संचार जगतका सम्पूर्ण संचारकर्मी मित्रहरु, जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु,जसले फोटो तथा औठाछाप सहितको फोटो मतदाता नामावलीमा खटिने कर्मचारीहरु लगायतका विभिन्न क्षेत्रको सहयोगबाट गतबर्षको फोटो सहितको मतदाता नामावली संकलनमा दैलेख जिल्ला पहिलो जिल्ला भएको थियो । त्यसैका कारण पनि यो पदबाट सम्मानीत हुन निकै सयहोग पुर्याएको थियो । कुनै पनि काम गर्दा मेहनत र परिश्रमी भएर काम गर्र्यो भने महेनत खेर जाँदो रहेनछ भन्ने विश्वास म मा पलाएको छ त्यसैले म निकै खुशी छु ।
सरकारी जागिर कहिलेदेखी सुरुगर्नुभयो ?
२०३७ सालमा खरिदार पदमा जागिर सुरु गरें, २०४३ सालदेखी ना.सु. पदमा र २०६४
माघ १ गतेदेखी शाखा अधिकृतको पदमा कर्यरत छु । हाल जिल्ला निर्वाचन कार्यालय दैलेखमा कार्यलय प्रमुखको जिम्मेवारी पाएर काम गरिरहेको छु ।
सरकारी जागिरमा निकै खुशीको अनुभव कहिले गर्नु भो ?
मेरो राष्ट्रसेवक कर्मचारी भएको बेलादेखीका तीथा मिठा अनुभवहरु त निकै धेरै छन् तर मलाई अहिलेसम्मको निकै खुशीको अनुभव भनेकोनै २०६९ जेष्ठ १५ गते ५ औं गणतन्त्र दिवसको अवसरमा प्राप्त भएको प्रवल जनसेवाश्री मानपदवी प्राप्त हुँदाको क्षण नै हो । हालसम्मको महत्वपूर्ण खुशीको क्षण यही हो ।
राम्रो काम गरे मिठो फल पनि पाईदोरहेछ, अन्य कर्मचारीहरुलाई के भन्न चाहनुहुन्छ ?
मेहनत गर्नुपर्छ मेहनत गरे खेर जाँदैन, मेहनती हुने हो भने ढुंगामाथिकाउली समेत फलाउन सकिन्छ भनेर मैले पहिला एउटा लेख समेत लेखेको थिएँ,
कार्यलयमा समेत राम्रो काम गर्दा, मेहनत गर्दा कामको मुल्याँकन गर्ने सुपरिवेक्षकहरु हुँदा रहेछन्, अवलोकन हुँदो रहेछ र सुन्तलाको बोट रोपेपछि सुन्तलानै फल्दो रहेछ आँप फल्दो रहेनछ तसर्थ मेहनत र परिश्रम जुनसुकै क्षेत्रमा गर्र्यो भनेपनि त्यसको राम्रो फल अवस्य मिल्छ । जनताको सेवा गर्नु कर्मचारीहरुको कर्तव्य नै हो । अरुको आत्मालाई दुःख नदिई मन वचन र कर्मले सेवा गर्ने हो भने मिठो फल पाईदो रहेछ त्यसैले सकारात्मक सोच र सकारात्मक कार्य गर्नुपर्दछ ।
नेपालमा आजभोली पुनः अशान्ति फैलन थालेको छ । मुलुकको दिगो शान्तिका लागि कर्मचारीहरुको कस्तो भूमिका हुन्छ होला ?
दिगो शान्तिका लागि कर्मचारीहरुको अहम भूमिका रहन्छ भन्नुमा अतिउक्ती नहोला,किनकी कर्मचारीहरुले सेवाग्राहिलाई चुस्त, दुरुस्त, स्फुर्त र सरल ढंगबाट छिटो छरितो सेवा नदिएमा सेवा ग्राही तथा आम जनमानसमा वितृष्णा फैलन जान्छ, सेवाग्राहिलाई आनावश्यक झन्टट दिने, रिशवत लिने, भ्रष्टाचारमा लिप्त हुने जस्ता कार्यले देशको शान्ति सुव्यवस्थामा खलल पुर्याउन सक्छ त्यसैले सवैले दिगो शान्तिको कामना गर्दै आफ्नो जिम्मेवारी ईमान्दारीताका साथ पुरा गर्न सके पक्कै पनि नेपाल बिकसीत राष्ट्रको रुपमा अगाडि बढ्न सक्छ र मुलुकमा दिगो शान्ति फैलन सक्छ ।
तपाँईले मेहनत गर्नुपर्छ भन्ने पाठ कहाँबाट सिक्नु भो ?
म पहिला ४०० पुर्णाङ्ग कृषि बिषय लिई २०३५ सालको टेष्ट परिक्षामा त्रिभुवनव्यावसायीक माध्यमिक विद्यालय दैलेख बजारबाट ६४ जनामा कक्षा प्रथम र कुल स्कुलका १ हजार विद्यार्थीहरुमा स्कुल प्रथम भएँ २०३६ सालमा एसएलसीमा द्धीतिय श्रेणीमा उतिर्ण भएँ पढाईमा समेत निकै मेहनत गर्नुपर्छ भन्ने मेरो धारणा थियो । तत्कालिन समयदेखी कृषि बिषय पढेकाले समेत मैले निरन्तर कार्यालयको काम पछि कृषि पेशामा समेत समय दिने गरेको छु । २०३७ सालदेखी निरन्तर तरकारी, फलफूल खेती समेत मेरो घरमा अहिले पनि देख्न सक्नुहुन्छ । मँ सँग तराईका रुख बोटहरु, अंगुर, लिचि देखि हिमालयको स्याऊ, नास्पती, समेतका फलफूलहरुछन् । तरकारी खेती सँगै जागिर अनि पढाईलाई समेत छोडेको छैन् । अहिले राजनीति शास्त्रमा एम.ए. पास समेत गरिसकेको छु । अव समय मिलेको खण्डमा पिंएचडि समेतको तयारीमा जुटेको छु ।
तरकारी खेती गर्न सके निकै धेरै आम्दानी गर्न सकिन्छ भनेर आफुले जानेको कुरा समेत आफ्ना नजिकका साथीभाई र अन्य कृषकहरु लाई समेत जानकारी गराई रहेको छु । उन्नत विऊ विजनको व्यवसायीक तरकारी खेती गर्न सके दैलेखका अधिकाँस यूवाहरु भारत लगाएत अन्य खाडि मुलुकहरुमा जानै पर्दैन तर हामीसँग न्यून चेतना र सिपमुलक व्यवसाय नभएकै कारण समस्या उत्पन्न भएको छ ।सरकारी जागिरको तलवले छोराछोरी पढाउन र घरको खर्च तरकारी बाटै प्राप्त भएको छ ।
दैलेख जिल्ला निर्वाचनले अन्य जिल्लाको तुलनामा फोटो सहितको मतदाता नामावलीमा निकै राम्रो काम गरेको भनिन्छ नी ? त्यसैले यो पदवी पाउन मद्धत पुगेको हो ?
मैले घर व्यवहारदेखी कार्यालयको कामलाई अति प्राथमिकता दिएको कुरा अरुवाट समेत सुन्नमा पाईन्छ । सरकारी कामलाई अन्य काम भन्दा बढी देख्ने र ज्यादै मेहनतका साथ काम गरेकोले समयमै सम्पादन समेत हुन सक्यो त्यसमा मैले माथिनै भनिसकें सम्पूर्ण जिल्लाबासिहरुको समेत मलाई सहयोग भयो । सकारात्मक सोच भएकोले र सबैको आर्शिवादका कारण यो प्रवल जनसेवा श्री पदवी पाएको जस्तो लागेको छ ।
अन्त्यमा तपाँईलाई केही भन्नु छ ?
सबै शुभचिन्तकहरुले सकारात्मक सोचवाट केन्द्रमा अदृश्य एस.एम.एस. पठाई सहयोग गरिदिनुभएकोमा उहाँहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु । मन बचन र कर्मले देशको सेवा गरौं भन्दै धमाका दैनिक पत्रिकाले मेरो सफलताई अन्तरवार्ता मार्फत पस्किदिएको यो पत्रिकाको उत्तरोत्तर प्रगतीको कामना समेत गर्न चाहान्छु
।







