काठमाडौं : प्रेस काउन्सिल नेपालले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गरी रसुवा बाढीमा माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोथजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग अन्तर्वार्ता लिई इन्साइड द बंकर नामक युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
त्यस्तै काउन्सिलले बीबीसी नेपाली सेवाले पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पदप्रदर्शकको अस्पतालमा उपचार गरिरहेकै अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा पनि जानकारी आएको उल्लेख गरेको छ ।
काउन्सिलले ती सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन, अनुगमन गरिरहेको जनाएको छ । यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पनि ध्यानाकर्षण पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।






