काठमाडौं : नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको स्पष्ट पारेको हो । निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ हजार ६९४ सिलिण्डर बराबर हो । त्यस्तै इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० तारिखसम्म १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ ।
कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको निगमले जनाएको छ । भदौ १८ गतेदेखि २७ गतेसम्म वैकल्पिक मार्गबाट त्रिभुवन राजपथ तथा विपी राजमार्ग हुँदै करिब ३ लाख ९१ हजार ५२१ वटा सिलिण्डर उपभोक्तालाई वितरण गरिएको निगमको भनाइ छ । दैनिक औसत ४० हजार सिलिण्डर वितरण भइरहेको जनाइएको छ ।
त्यस्तै भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रत्यक्ष असर परेका रसुवा, नुवाकोट र धादिङका प्रभावितलाई प्राथमिकतामा राखी ग्यास वितरणमा समन्वय गरिएको निगमले जनाएको छ । कृष्णभीरको बाटो खुलाउन गृह मन्त्रालयलगायत सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको र बाटो सञ्चालनमा आएलगत्तै इन्डियन आयल कर्पोरेसनका बुलेटहरू नियमित रूपमा आउने निगमले जनाएको छ ।
काठमाडौंमा वितरण गर्ने उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाइरहेकाले आपूर्ति अवस्था क्रमशः सहज हुँदै जाने निगमको दाबी छ । निगमले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको पनि जनाएको छ। सिलिण्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने अवस्थामा गृह मन्त्रालयसँग समन्वय गरी निगरानी बढाइएको र अनियमितता गर्ने विक्रेतालाई नियमानुसार जरिवानासमेत गरिएको निगमले जनाएको छ ।






