उद्योगहरू खारेज हुने क्रम बढ्दो

सुर्खेत : सुर्खेतमा उद्योगहरू खारेज हुने क्रम बढेको छ । जिल्लामा कृषितर्फका उद्योगहरू धमाधम खारेज भएका हुन् । आर्थिक वर्ष २०८२÷८३ मा ३ सय ३ वटा उद्योग खारेज भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले जनाएको छ । जसमा उद्योगतर्फ २ सय ५४ र वाणिज्यतर्फ ४९ वटा रहेका छन् । खारेज हुनेमा धेरैजसो कृषितर्फका उद्योग रहेका कार्यालय प्रमुख मुकुन्दनाथ योगीले जानकारी दिए । अनुदान प्राप्त गर्ने लोभमा उद्योग खोल्ने र एक वर्ष अनुदान पाएपछि वा पाउन नसकेपछि त्यत्तिकै अलपत्रमा पार्ने गरिएको हुँदा बर्सेनि उद्योगहरू खारेजी भइरहेको उनले बताए ।

यो अवधिमा ९ सय ७ उद्योग दर्ता भएका छन्, जसमा उद्योगतर्फ ५ सय ४३ वटा छन् भने वाणिज्यतर्फ ३ सय ६४ छन् । यस्तै उक्त अवधिमा १ हजार ४ सय ५२ वटा उद्योग नवीकरण भएका छन् भने ६ सय ६० वटा उद्योगको बेहोरा संशोधन भएको छ । साथै २ सय ८३ वटा उद्योगको प्रतिलिपि वितरण तथा अन्य ५७ वटा रहेका छन् । तीन आर्थिक वर्षको अवधिमा जिल्लामा ८ सय ६४ वटा उद्योग खारेज भएका छन् । आव २०८०÷८१ मा २ सय ४६ वटा, आव २०८१÷८२ मा ३ सय १५ वटा र २०८२÷८३ मा ३ सय ३ वटा उद्योग खारेज भएका छन् । यसै गरी तीन आवमा सुर्खेतमा २ हजार ८ सय २ वटा उद्योग दर्ता भएका छन् । आव २०८०÷८१ मा १ हजार ३८, आव २०८१÷८२ मा ८ सय ५७ र आव २०८२÷८३ मा ९ सय ७ उद्योग दर्ता भएका छन् ।

बर्सेनि दर्ता हुने उद्योगबाट नागरिकले रोजगारी भने पाइरहेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आवमा दर्ता भएका उद्योगबाट १ हजार ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । जसमा ९ सय ९५ पुरुष र ७ सय ५६ महिला गरी १ हजार ७ सय ५१ जनाले रोजगारी प्राप्त गरेको कार्यालय प्रमुख मुकुन्दनाथ योगीले बताए । दर्ता भएका उद्योगमा धेरैजसो सेवामूलक छन् । यस्तै पर्यटन, कृषि तथा वनपैदावार, उत्पादनमूलक र ऊर्जामूलक उद्योग पनि दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार