पम्फा भूसाल प्रवक्ता, नेकपा –माओवादी
कुराकानी –
हामीले बनिबनाउ कुरा गरेको होइन । गत वर्षको फागुन ३० देखि जुन घटनाहरू घटेका छन्, त्यसले पुष्टि गरेको छ कि संसदवादी दलका शीर्ष नेताहरू विदेशीहरूका आदेश पालक मात्र हुन् । उनीहरूले स्वविवेक प्रयोग गरेर निर्णय गर्न सक्दैनन् ।
तपाईहरूले जनमतलाई किन अस्वीकार गरिरहनु भएको छ ?
हामीहरूले जनमतलाई अस्वीकार गरेका होइनौं । बरु जुन विधि, प्रक्रिया र डिजाइनबाट चुनाव गराइयो, त्यसको प्रारम्भदेखि नै हामीहरूले विरोध गरिरहेका थियौं । अन्ततः हामीले जे कुराको उठान गरेका थियौ, अहिले त्यही भएको छ । त्यसैले हामीहरूले जनमतलाई अस्वीकार गरेको भन्न मिल्दैन । जनता परिवर्तनको पक्षमा छन् । हामी जनताको भावनालाई सम्बोधन गरिनुपर्छ भन्ने पक्षमा छौं ।
जनताले त तपाईहरूको कुरा नमानेर ऐतिहासिक रूपमा मतदान गरे नि ?
तपाईले गलत रूपमा बुझ्नुभयो । जनताले ऐतिहासिक रूपमा मतदान गरेको होइन । बरु जबर्जस्ती चुनाव गराइयो र जनतालाई मतदानबाट बञ्चित गराउन सुनियोजित रूपमा मतदाता नामावली तयार गरियो । कर्मकाण्डी प्रणालीले मात्रै चुनाव हुने होइन, मुख्य कुरा राजनीति हो, राजनीतिक निकासको कुरा हो, देश अग्रगमनमा जाने कुरा हो । अग्रगामी संघीय गणतान्त्रिक संविधानमार्फत उत्पीडित जाति, लिङ्ग, वर्ग र समुदायका अधिकारहरूलाई संस्थागत गर्ने प्रक्रिया हो संविधानसभा । त्यसैले चुनावको नौटंकी गरेर गठन गर्न खोजिएको संविधानसभाले जनमुखी संविधान दिन सक्ने छैन भन्नेमा हामी विश्वस्त छौं । मुख्य गरेर नेपालीले नेपालको आवश्यकताको संविधान विदेशीको स्वार्थ र ग्राइण्ड डिजाइनमा लेखिने षडयन्त्र भइरहेको छ । यो कुरा हामीहरूले पहिलेदेखि भन्दै आएका हौं र विरोध गर्दै पनि आएका हौं ।
संविधानसभाले सार्थकता पाउने दावी अरु दलले गरेका छन् नि ?
अरुले गरेका दावी गर्दै जाऊन् तर नेपाली जनतालाई उनीहरूको दावीप्रति एकरत्ति पनि विश्वास छैन । नेपाली जनतालाई एकथान संविधान मात्र चाहिएको होइन । जनताको अधिकारसहितको संविधान जनतालाई चाहिएको हो । अहिले जुन किसिमको संविधानसभाको संरचना बनेको छ र दलहरूबीच जुन चारबुँदे सम्झौता भएको छ यसले स्पष्ट के पारेको छ भने अब यो संविधानसभाले नेपाली जनताले चाहेअनुसारको संविधान दिन सक्दैन । चुनाव हुँदाहुदै ०४७ सालको संविधान ल्याउँछु भन्दै थिए । अहिले संविधानसभामा भएको संरचनामा ०४७ सालदेखि ०५२ सालसम्म जनताका आवश्यकता, भावना र चाहना सम्बोधन गर्न नसक्ने दलहरूको हावी छ । उनीहरूले नसकेपछि नेपालमा एउटा नयाँ ढंगको आन्दोलन भएको हो । त्यही आन्दोलनले संविधानसभाको आवश्यकता औंल्याएको हो । तर आन्दोलनका पक्षधर शक्तिलाई बाहिर राखेर चुनावको नौटंकी गरी संविधानसभा गठन गरिएको र संविधान बनाउने अर्काे नौटंकी गरिंदैछ, यसले जनताका भावनालाई सम्बोधन नगर्ने निश्चित छ ।
आन्दोलन गर्ने प्रचण्ड, बाबुराम भट्टराई त त्यही हुनुहुन्छ नि ?
हुन त हुनुहुन्छ, तर उहाँहरू पनि तिनै असफल भइसकेका पार्टीहरूको पुच्छर भएर जानु भएको छ । यसले केवल १५ वर्षको अभ्यासबाट असफल भएको संसदीय ब्यवस्थाको पुनस्र्थापना भएको पुष्टि गरेको छ । यसले नेपाली जनताको आवश्यकता पूरा गर्न नसकेको पुष्टि भएको छ । यसको पुनरागमनले फेरि आवश्यकता पूरा गर्न सक्छ भनेर विश्वास गर्ने आधार छैन ।
जनताको आदेशलाई त मान्नु पर्ला नि ?
केवल भोट हाल्नु मात्रै जनमत होइन । परिर्वतन त भएको हो तर परिवर्तन अग्रगमन पनि हुन्छ र पश्चगमन पनि हुन्छ । अहिले संसदीय ब्यवस्थाको पुनरागमन भएको छ । यो पश्चगमनयुक्त परिवर्तन हो । अहिले पनि तपाईहरूले हेर्नु भएको छ विदेशीको धाक धम्कीमा चारबुँदे सम्झौता भएको छ । अख्तियारमार्पmत् ३० अर्बको कुरा उठाएर एमाओवादीका नेताहरूलाई अन्य संसदवादी हरूको पुच्छर बनाउने काम भएको छ । यसले नै पछिल्लो दृष्टान्त देखाएको छ ।
संविधान ल्याउन तपाईहरू कस्तो कस्तो सहयोग गर्न सक्नुहुन्छ ?
यो संविधानसभाबाट जनताले खोजेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आउनै सक्दैन । किनकि यसले हिजै देशमा राजनीतिक सहमति बनाउन सकेन । देशभक्त र क्रान्तिकारीहरूलाई संविधानसभामा सहभागी हुनबाट बञ्चित गराएर विदेशीको ग्र्र्र्र्रायण्ड डिजाइनमा जुन विधि र प्रक्रियाबाट निर्वाचन गराइयो यसले जनचाहनाअनुकूलको संविधान आउँदैन भन्ने निश्चित गरेको छ ।
आफू नसकेपछि सधैं तपाईहरू विदेशीलाई मात्रै दोष दिनुहुन्छ, किन हो यस्तो ?
हामीले बनिबनाउ कुरा गरेको होइन । गत वर्षको फागुन ३० देखि जुन घटनाहरू घटेका छन्, त्यसले पुष्टि गरेको छ कि संसदवादी दलका शीर्ष नेताहरू विदेशीहरूका आदेश पालक मात्र हुन् । उनीहरूले स्वविवेक प्रयोग गरेर निर्णय गर्न सक्दैनन् ।
त्यसो भए संविधानसभा बाट संविधान ल्याउन के गर्नुपर्छ ?
यो संविधानसभा जुन ढंगले बनेको छ, जुन शक्ति त्यहाँ केन्द्रित भएको छ त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसारको जनअपेक्षित संविधान आउन सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौं । त्यसैले जनअपेक्षित संविधान बनाउनका लागि व्यापक राजनीतिक सम्मेलन गर्नुपर्छ र त्यो सम्मेलनले संविधानको मस्यौदा तयार गरेर संविधानसभा भित्र र बाहिर रहेका सबै शक्तिहरूको भावनालाई समेटेर सहमतिबाट संविधान आउन सक्छ । हाम्रो पार्टीले सुरुदेखि नै यस्तो प्रस्ताव राख्दै आएको छ । जसरी जबर्जस्ती निर्वाचन गरियो् र नौटंकी निर्वाचनबाट गठन हुने संविधानसभाबाट संविधान बनाउने नौटंकी फेरि गरिंदैछ, यसले विदेशीले दिएको संविधान त आउला भन्ने सम्भावना देखाउँदैछ तर त्यस्तो संविधानलाई नेपाली जनताले स्वीकार गर्ने छैनन् । साभार जनधारण साप्ताहिक







