धमाका संवाददाता
दैलेख चैत्र २ गते ।
निर्माण कार्य सम्पन्न नहँुदै रकम भुक्तानी गरेको भन्दै दैलेखको लकान्द्रस्थित ठाँटीकाँध प्राथमिक स्वास्थ्यकेन्द्र भवन स्थानीय वासिन्दाहरुले हस्तान्तरण गरि लिन नमानेपछि अलपत्र परेको छ । दैलेखको पश्चिमी क्षेत्रका १३ गाविसका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ०५९ असोजदेखि निर्माण थालिएको भवन स्थानीय वासिन्दाहरुले हस्तान्तरण गर्न नमानेपछि प्रयोगमा आउन सकेको छैन् । 
प्राविधिक र ठेकेदारको मिलेमत्तोका कारण निर्माण पुरा नभएको स्थानीयको आरोप छ । समितिका अध्यक्ष रक्षबहादुर शाहीले भने आफुहरुले समय समयमा आवाज उठाउँदा समेत कसैले सुनुवाई नगरेकोले स्थानीयले भवन बुझेका छैनन् ।
७० लाख २५ हजार ३ सय ३९ रुपैंया लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्न बोलपत्रमार्फत किसान कन्ट्रक्सन प्रालि दैलेखले जिम्मेवारी पाएको थियो । निर्माणको पुरा काम र हस्तान्तरण नहुँदा स्वास्थ्य केन्द्रका दुईवटै भवन अलपत्र छन् । भवनका भ्mयाल ढोका र गरिएको पलास्टर समेत उम्मेको छ ।
तत्कालिन समयदेखि काम गरेका कामदारहरुले समेत रकम नपाएको स्थानीयको गुनासो रहेको छ भने अर्कोतर्फ ठेकेदारले काम सम्पन्न गरिसकेको र सवैलाई भुक्तानी दिएको जिकिर गरेका कारण कुरा नमिल्दा लाखौं लगानी गरेको भवन अलपत्र भएको हो ।
०६३ असार ३० मा सम्पूर्ण काम सकिएको प्राविधिक प्रतिवेदन पेश गरि ठेकेदारले रकम भुक्तानी लिईसकेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको भएपनि स्थानीयहरुले भने अहिलेसम्म सम्पन्न हुन नसकेको भन्दै हस्तान्तरण गर्न नमानेपछि संरक्षणको अभावले भवन थप जीर्ण बन्दै गईरहेको छ । शौचालयका खाल्डा सबै पुरिएका छन् ।निर्माण सम्पन्न भवनलाई स्थानीय वासिन्दाहरुले हस्तान्तरण नगरेकै कारण दुर्गमका बासिन्दाहरुले सुलभ सेवा पाउन सकेका छैनन् । अहिले आवास गृहमा प्रसुती र स्टाप बस्ने क्वाटरमा बिरामीको उपचार गराउन कर्मचारीहरु बाध्य परेको प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज रणबहादुर चन्दले बताए ।
डाक्टरसहित आठ कर्मचारीको दरबन्दी रहेको यस स्वाथ्यकेन्द्रमा दरबन्दी भएपनि स्थापनादेखि हालसम्म डाक्टरले पाईला टेकेका छैनन् । डाक्टर सँगै अन्य कर्मचारीहरु पनि स्वास्थ्य केन्द्रमा नआएका कारण स्थानीयहरुको स्वास्थ्य समस्या समाधान वारे सम्वन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ ।






