साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युतभार कटौती (लोडसेडिङ) हुन नदिने उद्घोष गर्नुभएको छ । उक्त समयमा लोडसेडिङ हुँदा विद्यार्थीको पठनपाठन, घरेलु कामकाज र वृद्धवृद्धा हिंडडुल गर्न समेत अप्ठ्यारो परेकाले साँझको लोडसेडिङ हटाइने उहाँको प्रतिबद्धता छ ।
ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले नजिकिंदो प्रवेशिका परीक्षा (एसएलसी)मा पनि विद्यार्थीहरूको पठनपाठन प्रभावित हुन नदिने गरी लोडसेडिङ परिवर्तन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाइपलाइलनमा रहेका ऊर्जासम्बन्धी ऐन नियमहरूलाई प्राथमिकताका साथ पास गरिने भन्दै ऊर्जामा वैदेशिक लगानी भिञयाउन लगानीमैत्री वातावरण निर्माण गरिने, लगानीकर्ताको मुनाफाको सुनिश्चितता गरिने ऊर्जामन्त्री ज्ञवालीको प्राथमिकता रहेको छ । हालको १२ घण्टाको लोडसेडिङलाई कम गर्दै आगामी पाँच वर्षभित्र मुलुकलाई ऊर्जा संकटबाट मुक्त गरिने उहाँको भनाइ छ । त्यसका लागि राष्टिूय सहमति कायम गरिने पनि मन्त्री ज्ञवालीले जनाउनुभयो । उहाँले निजी क्षेत्रलाई विशेष सहुलियत दिएर भए पनि जलविद्युत आयोजनाको विकासमा जोड दिइने योजना रहेको उल्लेख गर्नुभयो ।
ज्ञवालीले विगतमा राष्ट्रिय सहमति बन्न नदिने, विरोध गर्ने प्रवृत्तिले ऊर्जा विकास हुन नसकेको भन्दै अब त्यो स्थिति नआउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्युत विकास फाष्ट टू्याकमा अगाडि बढाउन वातावरण, वन, अर्थलगायतका मन्त्रालयसँग छलफल गरेर निकास खोजिने उहाँको योजना रहेको छ ।
ऊर्जामा देखिएको विकृति र अनियमिततता हटाई सुशासन र पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाउँदै ऊर्जामन्त्री ज्ञवालीले राष्ट्रिय गौरवका आयोजना र बुढीगण्डकी, नलसिङगाडजस्ता जलाशययुक्त आयोजनाहरूको अध्ययन सकी यसको निर्माण अवधारणा तयार गरिने पनि जनाउनुभयो । प्रस्तुत ऊर्जामन्त्रीसँगको संवाद(
राधा ज्ञवाली, ऊर्जामन्त्री
नेपाली जनताले अब कति दिन अन्धकारमा बस्ने ?
विस्तारै लोडसेडिङलाई न्युनीकरण गर्दै व्यवस्थित ढंगले अन्त्य गर्नका निमित्त मैले काम थालनी गरिसकेको छु ।
कसरी व्यवस्थित गर्नु हुन्छ ?
करोडौं नेपाली जनता मध्ये एउटा नेपाली जनताको रूपमा मैले पनि लोडसेडिङ भोग्दै आएको छु । यसको विषयमा म पनि परिचित छु । मन्त्री क्वार्टरमा समेत लोडसेडिङ हुन्छ । म यो समस्याको भुक्तभोगी र समस्यालाई चिनेको मान्छे हुँ । त्यसैले उपयुक्त विधी खोजेर यसको न्युनीकरण गर्छु ।
यत्रो सम्भावना हुँदा हुँदै किन यस्तो अवस्था आएको ?
हिजोको दिनमा हामी किन अल्मल्यिौं ?
त्यो एउटा समीक्षाको पाटो हो । हामी त्यसको समीक्षा गरौंंला पनि, तर मेरो अहिलेको चाहना समीक्षा गरि बस्नु भन्दा पनि तत्कालको लागि लोडसेडिङ कसरी न्युनीकरण गर्ने भन्ने विषयमा म केन्द्रीत छु । यसक्रममै म केही समय अघि विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवल पुगेर मैले केही बुझ्ने प्रयास गरेको छु । त्यसैगरी अन्य ठाँउहरूमा गएर पनि म बुझ्छु । अहिलेको मेरो योजना भनेको एक बुँदे छ । कसरी छिटो भन्दा छिटो, एक वा दुई कति घण्टा सकिन्छ, लोडसेडिङ घटाउनु हो ।
तपाईको कार्यकालमा १२ घण्टा भन्दा बढी लोडसेडिङ हुन्छ कि हुँदैन ?
विलकुल १२ घण्टा भन्दा बढी नेपाली जनताले मेरो कार्यकालमा लोडसेडिङ भोग्नु पर्दैन । मैले पहिलो पत्रकार सम्मेलनबाटै यो प्रतिबद्धता ब्यक्त गरिसकेको छु, अब १२ घण्टा भन्दा घट्ने छ ।
कति घट्छ त ?
सानो तिनो मर्मत र चुहावट नियन्त्रणको विधी अपनाएर कति घटाउन सकिन्छ भनेर अध्ययन भइरहेको छ । यो फागुन महिनाभित्रनै हामी आधा वा एक घण्टा कति सकिन्छ घटाएर त्यसको थालनी गर्दैछौंं । हामी अहिले चुहावट र मर्मतको अभियानमा छौं । त्यसबाट पनि केही समय घटाउन सकिन्छ भन्ने देखिएको छ । त्यसको नतिजा केही दिनमै नेपाली जनताले अनुभव गर्न पाउनु हुन्छ ?
चुहावट त धेरै छ नि ?
हो, २६ प्रतिसत अहिले मुलुकभरी विद्युत चुहावट छ । त्यो ठूलो परिमाण हो । त्यसलाई नियन्त्रण गरेर केही घटाउने प्रयासको थालनी भइरहेको छ । त्यस्तै उद्योगमा गएको विजुली पनि चुहावट भएको कुरा आएको छ, त्यसलाई कम्प्यूटराईज प्रविधिमा लगेर कति विजुली गइरहेको छ, कति उपयोग भइरहेको छ । हेर्ने प्रयास भइरहेको छ ।
साँझमा लोडसेडिङ नगर्ने योजनामा तपाई हुनु हुन्छ रे नि ?
हो, अब एसएलसीसहित प्लस टुको समेत परिक्षा आइरहेको छ यस्तो अवस्थामा ६ दिन अध्यारो र एक दिन उज्यालो हुने कुरा ठीक होइन । त्यसैले मैले बेलुका ६ देखि कम्तिमा नौं बजेसम्म सबै दिन विजुली हुनु पर्ने ब्यवस्था मिलाउन गृहकार्य थालेको छु । कति घटाउन सकिन्छ, हामी छिटो भन्दा छिटो घटाउँछौं ।
लोडसेडिङ अन्त्य गर्न चाँही कति समय लाग्छ ?
लोडसेडिङ सम्पूर्ण रूपले अन्त्य गर्नको लागि हामीले घोषणापत्रमा न्यूनतम तीन वर्षको कुरा गरेका छौं । राम्ररी काम गर्न सकियो भने त्यो सम्भव छ नभए पनि पाँच वर्षभन्दा धेरै समय लाग्दैन ।
घोषणापत्रमा त तीन वर्ष भनेर जनतासँग वाँचा गर्नु भएको छ ?
निर्माणाधिन, चमेलिय, चिलिमे, तामाकोशी लगायतका परियोजनाको कार्य प्रगति हेरेर हामीले तीन वर्षमा सक्छौं भनेका हौं तर मैले पद सम्हालेपछि हेर्दा त्यो कार्य सम्भव भए पनि ट्रान्समिसनको लाईन विस्तार पनि त्यत्ति नै महत्वपूर्ण रहेछ भन्ने अनुभव भयो । उत्पादन भएको विद्युतलाई मेन ग्रिडमा पनि जोडन त प¥यो नि ?
नेपालमा झोलामा खोला भन्ने उखान छ, कसरी नियन्त्रण गर्नु हुन्छ ?
यो विषय पहिला देखिनै गंभिर ढंगले उठिरहेको छ । के कति कारणले लाईसेन्स लिएका पार्टीहरूले परियोजनालाई अगाडि बढाउन सकिरहनु भएको छैन त्यसको हामीले अध्ययन गरिरहेका छौं । अध्ययन पछि यसमा ठोस निर्णय हुन्छ । जो सहि पार्टी हो उसले नपाउने, नगर्ने र नसक्नेले लाईसेन्स झोलामा राख्ने प्रक्रियालाई हामी खारेजीको प्रक्रियामा लैजान्छौं ।
प्रस्तुति – ऋषि धमला







