(कथा) अनुपम रोशी
मलाई कसैको पर्वाह थिएन, केही क्षणअगाडिको घटना सम्झेर म आनन्द लिइररहेकी थिएँ । रोहिणी आज त निकै खुसी छौ, के छ कुरा ? सुन्दरमानले सोध्यो । सधै तड्पिनुको के अर्थ छ र ? कहिलेकाही त केही खुसी पनि हुनुप¥यो नि । बिलकुल ठीक, मैले चाहेको पनि यही थियो । उसले चाप्लुसीको भाषा बोल्यो – म तिमीलाई हाँसकोे हेर्न चाहन्थेँ । कारण जे सुकै होस् म पनि खुसी छु तिम्रो खुसीमा । मलाई सुन्दरको भनाइले कुनै प्रभाव पारेन । त्यो रात सुन्दरको स्पर्शले मलाई कुनै असर परेन । म मस्त निदाएँ, कुनै औडाहा भएर म शान्त थिएँ, विशाल सागर जस्तै सौम्य भएको थियो मन । समय बित्दै गयो । म अविरललाई दिनदिनै भेट्न थालेँ । उ कहिले सामान्य हुन्थ्यो, कहिले बहकिन्थ्यो । मेरो सम्पर्कले उसलाई पनि केही शान्ति मिले जस्तो लाग्थ्यो । विस्तारै मैले घरमा वास्ता गर्न छाडिदिएँ । कहिले किताब पढेर बस्थेँ, कहिले घुमेर बिताउँथे । म सामान्य भएको देखेर सुन्दर पनि खुसी थियो । किन म सामान्य बनिरहेकी छु, त्यो उसलाई थाहा थिएन । मैले निर्णय गरिसकेकी थिएँ, अब म सुन्दरलाई छोडेर अविरलसँग बाँकी जीवन बिताउनेछु । अविरलले मानेकै थिएन । ऊ कसैलाई धोका दिन नचाहने मान्छे थियो । कसैको कमजोरीलाई घृणा गर्नु र त्यसको फाइदा उठाउनु उसको लागि अपराध नै थियो । ऊ मलाई सम्झाउन चाहन्थ्यो, तर मैले सम्झिन चाहिनँ । मलाई मेरो परिवार मेरो घर मेरो इज्जत मर्यादा केहीको पनि चिन्ता थिएन । मैले नर्क जस्तै भएको मेरो जिन्दगी पुनःसुरु गर्ने निर्णय गरिसकेकी थिएँ । आखिर के दियो यो समाजले मलाई अव्यक्त पीडाबाहेक ? मेरो नपुंसक लोग्नेले दिन नसकेको खुसी अविरलले दिएको थियो मलाई । मैले उसलाई अपनाएर उसँग जीनव बिताउने कल्पना गर्न दिन सक्छ यो समाजले ? सायद दिँदैन, किनकी एउटी स्त्रीलाई लोग्नेको हर कमजोरीहरुमा हाँसी हाँसी सम्झौता गर्नुपर्ने बाध्यताको संस्कार छ यहाँ । कसले सोचिदिन्छ ? ती असंख्य नारीहरुको व्यथा जो पलपल आफैभित्र उत्पात मच्चाउने शारीरिक आवश्यकताहरुको पीडा अनि सहनै नसक्ने गरी आप्mनो भन्ने लोग्नेहरुले दिएको दुःख ? यो समाज निर्वस्त्र छ, यहाँ कैयन् मानिसहरु ढोगी सभ्यताको सिकार भएका छन् । भन्नुस् त दिदी, म कुन मान्यतामा हिड्न सक्थेँ ? मनकी रानी भनेर हरेक अंगप्रत्यंग म्वाई खाँदै सहवास गर्ने लोग्नेले न त सुत्केरी व्यथा सहनुपर्छ न बाँझै हुनुको पीडा ।






