प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल निर्माणको अभियानमा सारथी थिए यी तीन पात्र । तर आज तीनै जना हामीबीच हुनुहुन्न । रवीन्द्र अधिकारीदेखि मित्र युवराज र आङछिरिङ दाई सम्झिरहँदा एकाएक मनभित्र गुञ्जियो, ‘जितेर गयौं कि हारेर गयौं, दुनियाँ आफूतिर पारेर गयौं ।‘
पीडाले छछल्किएको अनुहारहरु साँची राख्दै परालका मुठा छिचोलेर चिताबाट निरन्तर धुवाँ उडिरहेको छ । धुवाँका प्रत्येक झोक्कासँगै एउटा जिन्दगी पलपल खरानी बन्दै गइरहेको छ । वरपर साँची रहेका सवैका अनुहार छेउमा उभिएर हजारौं समर्थक टोलाइरहेका छन । टेलिभिजन र अनलाइनमा आएको प्रत्यक्ष दृष्यले सिंगो मुलुक टोलाइरहेको छ, यही दृष्य हेदै म स्वयं टोलाइरहेको छु, के रवीन्द्र अधिकारी साँच्चीकै बिदा भएका हुन त सधैंका लागि रु पटक्कै विश्वास लाग्दैन । चिता घुम्दै भाउजु बिद्या र छोराहरुले दागवत्ति दिएको दृष्य पनि बिश्वास लागिरहेको छैन । म आफै प्रत्येक धुँवाका झोका हेरिरहेछु, तर रवीन्द्र अधिकारी दाई, अलबिदा भन्न सकिरहेको छैन, सबै चिज भयानक दुःस्वप्नजस्तै लागिरहेछ ।
पसिना–पसिना भएर निद्राबाट ब्युँझिँदा सपनामा देखिएको अत्यासलाग्दो कुरा त काल्पनिक पो रहेछ भन्ने भएजस्तै यो चिता, यो धुवाँ, भाउजु बिद्या, छोराहरु विराज र स्वराजलगायत बुवा आमा र सबैका आँसु भ्रम भइदिए हुँदो हो भन्ने कल्पिन्छु । तर, यो कुनै दुःस्वप्न होइन, त्रासदीपुर्ण यथार्थ हो । अब रवीन्द्र दाई हामीसँग हुनुहुन्न । टेलिभिजनबाटै आकाशतिर मडारिँदै गरेको धुवाँको पातलो रेसातिर हेरेर टोलाउँदै गर्दा फ्ल्यासब्याकमा २५ बर्षदेखिका घटनाहरू ताजा भएर आउँछ ।
कम्प्युटरको किबोर्डमा हात पुर्याउँछु, तर कुनै शब्द आउँदैन । लाग्छ कसरी अलविदा रवीन्द्र दाई भनेर लेखौं, मेरै अगाडि ठिंग उभिरहनु भएको छ रवीन्द्र दाई । लाग्छ, धुँवामा खरानी बन्दै गरेको मान्छे रवीन्द्र होइनन, उनी त मेरै सामु उभिएर समृद्ध नेपाल निर्माणको खाका राखिरहेछन । तर यथार्थ यही हो, धुँवाको झोकासँगै पलपल खरानी बन्दै गएको त्यो मानिस रवीन्द्र दाई नै हुन ।
चितावाट धुँवा उडिरहँदा म संझिरहेको छु रवीन्द्र दाईको नेतृत्वमा भएको तत्कालीन दरबारका शाहज्यादा पारसको उद्दण्डताका कारण गायक प्रवीण गुरुङको हत्या भएपछि त्यसको विरोधमा गरेको संघर्ष । संझिरहेको छु बिद्यार्थीलाई सहुलियतका लागि गरेको त्यो संघर्ष, कालापानी मार्चपास अनि संझिरहेकोछु गणतन्त्रको आन्दोलनमा सवैभन्दा अघिल्लोपंक्तिमा उभिने युवा नेता ।
२०२६ सालमा तत्कालीन स्याङ्जा जिल्लाको भरतपोखरी गैरागाउँमा जन्मनु भएका रवीन्द्र अधिकारीले राजनीतिक यात्रा सुरु गरेपछि कहिल्यै थकाइ मार्नुभएन । ०४५ वैशाखमा भएको पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा सदस्यमा निर्वाचित भएपछि वास्तविक रुपमा उहाँको राजनीतिक सक्रियता सुरु भयो । निर्वाचनका समयमा एउटा बोर्डिङ स्कुलको शिक्षक रहेका रवीन्द्र केही महिनापछि पूर्णकालीन राजनीतिमा तानिनु भयो । त्यसपछि उहाँले कहिल्यै पछि फर्केर थकाइ मार्नुभएन । थकाइ मार्नुभयो त हिजो साँझ सेती नदीको किनारमा उडेको धुँवाको झोकासँगै ।
तीस बर्षको राजनीतिक यात्रामा राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भन्ने जननेता मदन भण्डारीको शैली अनुशरण गरिरहनु भयो । निरन्तरको सक्रियता र सिर्जनात्मक प्रयासले रवीन्द्रलाई उचाइमा पुर्यायो । राजनीतिक यात्राको क्रममा अखिलको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीको अध्यक्षसम्मको यात्रा तय गर्नुभयो । पृथ्वीनारायण कलेज र कीर्तिपुर केन्द्रीय क्याम्समा स्ववियु सभापति, एमालेको कास्की जिल्ला सचिव र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभयो ।
सिर्जनात्मकता र निरन्तरको समर्पण अनि जे काम पायो,त्यसैमा रमाउने गुणले सवैको मन जित्न सफल बन्नुभयो । भौतिक रुपमा अव रवीन्द्र हामीबीच हुनुहुन्न, तर उहाँले हामीलाई हरेक समस्यासँग जुधेर आफूलाई अब्बल सावित गर्ने र मुलुकको बिकाशमा योगदान गर्ने उहाँका बिचार हामीसँग छ । नेपाली विद्यार्थी राजनीति र राष्ट्रिय विकासको बहसमा रवीन्द्रले केही महत्वपूर्ण योगदान गर्नुभएको छ । रवीन्द्रलाई बुझन तत्कालीन शाहज्यादा पारसको उद्दण्डताका कारण गायक प्रवीण गुरुङको हत्या भएपछि त्यसको विरोधमा गरेको संघर्ष ।

राजा वीरेन्द्रलाई लोकप्रिय बनाइँदै गरेको समय थियो, त्यो । त्यतिवेलाका शक्तिशाली दरबारियाहरूका अनुदारवादी नेता अधिराजकुमार ज्ञानेन्द्रका पुत्र पारसलाई सजाय दिलाउन रवीन्द्रको नेतृत्वमा भएको आन्दोलनले वास्तवमा नेपालमा गणतान्त्रिक आन्दोलनलाई महत्वपूर्ण योगदान पुर्याएको छ । यसैगरी, विद्यार्थीहरूलाई यातायातका साधनमा सहुलियत दिलाउन भएको संघर्षमा रवीन्द्र अधिकारीले खेल्नुभएको भूमिकाकै कारण आज लाखौँ विद्यार्थीले त्यो सुबिधा उपभोग गरिरहेका छन् ।
बिद्यार्थी आन्दोलनमा मात्रै होइन,रवीन्द्रले जे भुमिका पाउनुभयो, इमानका साथ पूरा गर्नुभयो । वरपर झुपडी रहेसम्म एउटा महलको कुनै अर्थ हुन्न भन्दै समृद्धि नेपालको खाका बनाउन ब्यस्त हुनुहुन्थ्यो उहाँ पछिल्लो समय । सायद त्यही खाका कोर्दाकोर्दै हेलिकोप्टर दुर्घटनामा परेर उहाँलाई हामीबाट चुडेर लग्यो ।
अधिकारी सांसदका रूपमा पनि अब्बल नै सावित हुनुभयो । विकास समितिको सभापति र त्यसअघि लेखा समिति सदस्यका रूपमा उहाँले खेलेको प्रभावकारी संसदीय भूमिका आज पनि सवैको मानसपटलमा ताजै हुनुपर्छ । बिगत एक बर्षदेखि पर्यटनमन्त्रीका रुपमा अघि बढाएको सुधारकोकामलेपनि रवीन्द्रले आफूलाई अब्बल नै सावित गर्नुभयो । नखुलेको आकास खुलेर आयो भने जसरी पर्यटन क्षेत्रका लामो समयदेखि थन्किएका सुधारका काम अघि बढ्यो । अन्तराष्ट्रिय बिमानस्थल सुधारदेखि भैरहवा र पोखरा बिमानस्थल निर्माणमा देखिएको प्रगति रवीन्द्रकै सक्रियताको फल हो । जे जिम्मेवारी पायो, त्यसमा रमाउने र त्यसप्रति पूरै समर्पणका साथ लाग्ने स्वभावले सुधारका काममा सफलता मिलेको हो । मन्त्रीका रुपमा असफल बनाउन उहाँमाथि गर्दै नगरेको अपराधको सजाय सुनाउने काम पनि भयो ।
वाइडबडी बिमान खरिद प्रकरणमा संलग्नता नै नहरे पनि रवीन्द्रलाई असफल सावित गर्न, भ्रष्टाचारी प्रमाणित गर्न लागिरह्यो एउटा समुह। तर नबिराउनु, नडराउनु भन्दै सतीसालझै खडा रहिरहे । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले मुख खोलिसक्नु भएको छ, वाइडबडीमा रवीन्द्र निर्दोष छन भनेर । रवीन्द्र आफैले पनि यो बिषय बोल्नु भएको थियो, ‘यो दूधको दूध, पानीको पानी छुट्टिँदै गर्दाखेरि मैले गल्ती गरेको छैन भन्ने छुट्टिन्छ। यो राजनीति हो जबसम्म टुङ्गिँदैन त्यो बेलासम्म प्रश्नको सामना मैले गर्नुपर्छ, म गलत छैन भन्ने कुरा कित मेरो पत्नी बिद्यालाई थाह छ, कित प्रधानमन्त्रीलाई ।‘ गलत नभएकै कारण प्रधानमन्त्री ओलीले उहाँलाई साथ दिनुभयो । रवीन्द्रलाई बदनाम गराउन प्रयोग गरिएको सवै हतियार भुत्ते बनाउनु भयो ।
रवीन्द्र दाईसहित मलाई सदैव अप्ठ्यारामा साथ दिने युवराज दाहाल र आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो । अनन्य मित्र युवराज अनि आङछिरिङ दाईको मुस्कान पनि रवीन्द्र दाईकै जसरी मानसपटलमा आइरहेको छ । आज लामो यात्रामा अभिभावक रवीन्द्र दाईसँगै मित्र युवराज र आङछिरिङ दाईसँग अव कहिल्यै भेट हुन्न भन्दा सवै खुशी हरण भएको छ

ताप्लेजुङको फुङ्लिङस्थित सिस्नेभिरमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनाको समाचार सुन्दा पटक्कै बिश्वास नलागे झै आज पनि रवीन्द्र दाईको सरीर खरानी भइरहेको छ भन्ने बिश्वास गर्न सकिँन । जसरी फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा रवीन्द्र दाईसहित मलाई सदैव अप्ठ्यारामा साथ दिने युवराज दाहाल र आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो । अनन्य मित्र युवराज अनि आङछिरिङ दाईको मुस्कान पनि रवीन्द्र दाईकै जसरी मानसपटलमा आइरहेको छ ।
आज लामो यात्रामा अभिभावक रवीन्द्र दाईसँगै मित्र युवराज र आङछिरिङ दाईसँग अव कहिल्यै भेट हुन्न भन्दा सवै खुशी हरण भएको छ । त्यो खुशी फर्कन्छ फर्कन्न स्वंलाई पनि थाह छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल निर्माणको अभियानमा सारथी थिए यी तीन पात्र । तर आज तीनै जना हामीबीच हुनुहुन्न । रवीन्द्र अधिकारीदेखि मित्र युवराज र आङछिरिङ दाई सम्झिरहँदा एकाएक मनभित्र गुञ्जियो, ‘जितेर गयौं कि हारेर गयौं, दुनियाँ आफूतिर पारेर गयौं ।‘ जनता टाईम्सबाट
गणेश बस्नेत







