
वैशाख १६,दैलेख
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले नगरपालिकाको बिकास र समृद्धिका लागि सबैले आफ्नो स्वभाव परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । नगरपालिकामा गरिएको बहुसरोकारवाला सामाजिक जवाफदेहिता साझेदारी मञ्चको बैठकमा बोल्दै खड्काले भने, “यहाँ बिरोधका नाममा बिरोध गरिएको छ । नबुझेरै समाचार लेखिएको छ । राम्रा कामहरुको खोजी गरिएको छैन्, नराम्रा साना कुराहरुलाई ठूलो बनाईएको छ । आशंकाकै भरमा समाचार लेख्ने र नगरपालिकालाई घेराबन्दी गर्ने काम कोही कसैबाट हुन हुँदैन्, हामीहरु इमान्दार भएर काम गरिरहेका छौं । ”
कानून निर्माण, कर्मचारी अभाव जस्ता धेरै समस्याहरु हुँदाहुँदै पनि नगरको समृद्धिका लागि नगरभित्रको बिग्रेको सडक बनाएका छौं, खानेपानी समस्याको दिगो समाधान गरेका छौं, जनतालाई न्यायमा सहज पहुँचका लागि इजलास बनाएका छौं यस्ता धेरै राम्रा कामहरु नगरपालिकाले गरेको र केही महत्वपूर्ण कामको गुरुयोजना तयार गरेको खड्काले बताए ।
नारायण नगरपालिका दैलेखले सुशासन प्रर्वद्धनका लागि गरिएका प्रयासहरुको बारेमा सुशासन अभियानकर्ता दुर्लभ बोगटीले सुशासन र दिगोपनाका बारेमा जानकारी गराएका थिए । गैर सरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले सुशासनका कामहरु भागबण्डाका आधारमा नभै योग्यता र क्षमताका आधारमा स्थानीय सरकारहरुले निर्धारण गर्नुपर्ने सुझाव दिएका छन् । काम चलाउने सार्वजनिक सुनुवाई हैन प्रतिफल प्रदान गर्ने सार्वजनिक सुनुवाई गर्नुहोस हामी साथ र सहयोग गर्छौ खत्रीले भने बिगतका बर्षहरु झँै अहिलेपनि कामचलाउ तरिकाका सुशासनका कामहरु गर्न कसैले हुँदैन ।
नगर उपप्रमुख सावित्रि मल्लले नगरपालिका सूचना मैत्री बन्ने प्रयास भैरहेको र कर्मचारी अभावले कतिपय समस्याहरु आएको भएपनि आगामी दिनहरुमा सुशासनका कामहरुमा प्रभावकारीता बढाउने बताएकी छन्, संघ र प्रदेशबाट आएका बजेटहरु धमाधम खनिएका छन् स्थानीय सरकारलाई थाहा छैन् यसको जानकारी र अनुगमन स्थानीय सरकारले गर्नुपर्नेमा मनोमानी गरिएको छ । उपप्रमुख मल्लले गत वर्ष नगरपालिकाले अनुगमन गरेर ४ करोड विकास खर्च रकम जोगाएको बताईन ।
नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले सुशासनका लागि योग्य व्यक्तिको सूचिकृत गरेर काम अगाडी बढाउने बताए । जिल्ला समन्वय अधिकारी भक्तबहादुर कार्की, सिल्पा कुँवर, नेपाल वार एशोसिएसनका अध्यक्ष यामराज थापा लगायतले नगरपालिकाको आर्थिक समृद्धिमा सुशासन महत्वपूर्ण भएको भन्दै यसतर्फ ध्यानदिन सुझाव दिएका छन् ।






