बडादसैं ः नेपालीको मिलनबिन्दु

दीर्घराज प्रसाई
नेपालका सांस्कृतिक मान्यतामध्ये दसैं यस क्षेत्रको मौलिक चाड हो । घटस्थापनादेखि नवरात्रसम्म गरिने दसैं अर्थात् नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । घटस्थापनामा नवदुर्गा भवानीको नवरात्रिसम्म पूजा गर्न कलश थापी, जमरा राखी, परम्परागत शास्त्रीय विधिविधानअनुसार दसैं प्रारम्भ हुन्छ । घटस्थापना प्रायः सबैतिर एउटै प्रकारको चलन भए तापनि जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हात लामो लिंगो ठड्याइने परम्परा छ । वर्षमा ५२ साता हुन्छ भनेर ५२ हाते लिंगो ठड्याइँदो रहेछ । यो परम्परा १४९८ सालदेखि प्रारम्भ भएको बताइन्छ । परम्परागत धार्मिक चलनअनुसार लिंगो ठड्याएर घटस्थापनाको विधिविधानअनुसार घटस्थापना प्रारम्भ गरिन्छ । यस हिसाबले काठमाडौंमा दसैंको रौनक अत्यन्त उल्लासमय हुन्छ ।
दसैं नेपालीको राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा मानिन्छ । घटस्थापनादेखि दशमीको दिनसम्म भ्याएसम्म सबै शक्तिपीठमा सबै जातका नेपाली आराधनाका लागि पुग्ने गर्दछन् । गोर्खाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथीभरा, तेह्रथुमको सिंहवाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजविराजकी षखडादेवी, धनुषाकी राजदेवी, वीरंगनाकी माईस्थान, बारामा गढीमाई, मकवानपुकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिञ्चोक भगवती, काठमाडौं उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, शोभा भगवती, संकटा, रक्तकाली, काठमाडौं र भक्तपुरकी इन्द्रायणी, भक्तपुरकी नवदुर्गा, पाटनकी बगलामुखी, हनुमान ढोका–तजेलु भवानी, साँखुकी बज्रयोगिनी, पाटनकी बज्रबाराही, डोल्पाकी त्रिपुरासुन्दरी, बाग्लुङकी माईस्थान, स्याङ्जाकी चन्डीकालीका, नेपालगन्जकी वागेश्वरी, कास्कीकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उग्रतारा, कालिकोटकी बडीमालिका देवी लगायत नेपालभरका अनेकौं शक्तिपीठमा भक्तजनको ठूलो उपस्थिति हुन्छ । यसरी हरेक क्षेत्रका शक्तिपीठको आआफ्नै महिमा छ ।
देवीपुराणमा उल्लेख छ, ‘रामले आश्विन–शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजया दशमीको साइतमा लंकामा रावणको विरुद्ध युद्ध गर्न प्रस्थान गरेका थिए ।’ यसरी नै पद्मपुराणमा उल्लेख छ, ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको बध गरेका थिए ।’ तर रावणको बधको विषयम कतिपय धार्मिक विद्वान्ले विजया दशमीमा नै रावणको बध भएको थियो भन्ने अर्थ लगाउने गर्छन् । तर, देवीपुराण र पद्मपुराणमा उद्धृत वाक्यलाई नै प्रमाणित मानिन्छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजया दशमीको दिनदेखि शुभ दिनका रूपमा हिमवत्खण्ड तथा भारतखण्डमा मानिँदै आएको हो । असत्यमाथि सत्यको विजयको प्रतीकको चाड हो, दसैं ।
नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबमा विश्वको नै धनी राष्ट्र मानिन्छ । हामी नेपालीका चाडपर्व यति मौलिक छन् कि कतैबाट नक्कल गरिएका होइनन् । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि इन्द्रजात्राको शुभ दिनमा कुमारीको हातबाट टीका ग्रहण गरी हनुमानढोका सिंहासनमा आरोहण गरेका थिए । काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाहबाट दसैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पुजारीबाट दुवैको सप्तमीका दिन बढाइका साथ काठमाडौं ल्याउने परम्परा बसाएका थिए । त्यो परम्परा अद्यावधि मनाइन्छ ।
स्वदेश÷विदेशमा जहाँजहाँ अवस्थित नेपाली सकेसम्म दसैं मनाउन उत्सुकताका साथ आआफ्नो घर फर्कन्छन, आफ्नो मातृभूमिमा फर्कन नसक्नेहरू विदेशमा सगौरवका साथ दसैं मनाउँछन् । वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपासक हुन् । पाञ्चायन् देवतामा गणेश, भगवती, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ । पाञ्चायत देवीदेवताको आराधनाको आआफ्नै समय हुन्छ । घटस्थापनादेखि नौ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आराधना गर्ने समय हो । हामी सबै हिन्दू तथा बौद्धहरू नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवी देवताको आराधना गर्छौं । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभ घडी हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बूढापाका गुरुहरूबाट टीका लाउने प्राचीन परम्परा छ । तर, कतिपय व्यक्ति इसाईहरूको पारामा लागेर दसैंलाई बहिष्कार गर्ने अभियानमा सरिक भएको देखिन्छ । दसैंको बहिष्कार विषयमा स्वामी प्रपन्नाचार्यले उसै बेला व्यक्त गर्नुभएको थियो, ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो । इष्टदेव महादेव, पार्वतीलाई पारुहाङ तथा सुम्निमाको रूपमा मान्ने गरिएको छ । लिम्बु ध्रवासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीको रूपमा मान्दछन् । नवदुर्गाको पूजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजया दशमी भनेर दही र अक्षता मिसाएर शुभ घडी हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बुढापाका गुरुबाट टीका लाउने प्राचीन संस्कृतिलाई दूषित पार्नु बुद्धिमता होइन ।’ नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यतामाथि विवाद ल्याएर आफ्नो स्वार्थ्सिद्ध गर्न विदेशीलाई खुसी पार्ने कुरा आत्मघाती हो ।
दसैं, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदि अनेकौं चाडपर्व नेपाली समाजका जीवनपद्धति हुन । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले राक्षसलाई मारेर खुसीयाली मनाएको दिनलाई विजया दशमीका रूपमा मनाईदै आएको छ । दसैंमा पशुबलिको विषयमा धेरैको मत भिन्नता छ । कृष्ण प्रणामी, वैष्णव, जैन धर्मावलम्बी पशुबलिलाई अमानवीय विकृति ठान्छन् । डा. गोविन्द टण्डन भन्छन, ‘विजय दशमीको धार्मिक, सांस्कृति एवं दार्श्निक महत्व अति नै छ । नवरात्रभरि शक्तिरूपा देवी दुर्गाको विविधस्वरूपको आराधना गरी काम, क्रोध, मोह, मदजस्ता दुर्गुणलाई त्याग्न साधनास्वरूप पशुबलि दिने मुख्य पर्व जस्तो बन्न गएकाले खसीबोका पर्वको रूपमा विकसित हुँदै जानु ज्यादै दुःख छ । धर्मको महत्व, गौरव र शालीनतालाई नै पशुबलि परम्पराले यस्तो मोडमा धेकेलेको छ । यसै विषयमा डा. रामचन्द्र गौतम लेख्छन्, ‘हाम्रा धर्मशास्त्रले राजसी, तामसी या सात्विक पूजाविधि चयन गर्न अधिकार दिएको छ । बली नदिई पनि पूजा गर्न सकिन्छ तर दसैंमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गा भवानीका लागि बलि आवश्यक छ । देवीले बलिबाट शक्ति आर्जन गर्छन् भन्ने भक्तजनले पनि बलि चढाएर शक्ति आर्जन गर्छन् । राज्य शक्तिका लागि पनि बलि अनिवार्य छ । राज्यशक्ति अथवा प्रभुसत्ता सरकारका लागि बलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकालदेखि नै पशुपक्षीको बलि दिने व्यवस्था रहँदै आएको छ ।’
यसरी मत भिन्नता पनि प्रारम्भदेखि नै हुँदै आए तापनि दसैंलाई पशुपक्षीको बलि चढाएर मनाउने र बलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको छ । महादसैंमा बलिको सन्दर्भमा पञ्चरत्न पांधु श्रेष्ठ लेख्छन्, ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुन जानेछ शक्ति साधना मरुल पर्व मानिएको दसैंको पूजा विधि हाम्रो मौलिक परम्परा हो । प्रारम्भिक बालदेखि नै सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो । पुराणले भनेको छ, मोह वा अहंकारले दसैं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउँछन् र उसको सर्वनाश हुन्छ ।’ यसरी नेपाली समाजलाई बलिप्रथाले प्रभाव पारेको छ । तर, कतिपय क्रिस्चियन प्रभावमा परेका जनजातिका अगुवा यस क्षेत्रको सांस्कृतिक अध्ययन नै नगरी भन्छन्, पृथ्वीनारायण शाहले जबर्जस्ती लादेको हो भन्दै पाल्सी कुरा गरेर दसैंबारे भ्रम खडा गर्न खोजेका छन् । पार्टीगत रङले पनि दसैं लाई दूषित पार्न खोज्दै छ । ‘दसैं सम्पन्न ले मात्र मनाउन सक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै माओवादी नेता प्रचण्डले २०६३ सालपछि दसैं नमान्ने निर्देशन दिए तापनि दसैं हर्षोल्लासले मनाइएको थियो । ‘दसैं र तिहार जनजातिको चाड होइन’ भन्दै आफूहरूलाई पृथक् जाति देखाउने केही जनजाति लागेका छन् ।
‘दसैं धर्म होइन, यो एउटा परम्परागत सांस्कृतिक मान्यता हो ।’ निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिबाटै प्रारम्भ भएको हो । काठमाडौं उपत्यकामा राता अक्षताको टीका लगाउने परम्परा भए तापनि नेपालमा लिम्बु, राई, मगर, गरुङ, तामाड जातिले विजया दशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ । स्वदेशमा केही जनजातिका अगुवाले बहिष्कार गर्ने कुरा उठाए तापनि विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिम्बु, मगर, थकाली, थारू, जो नेपाली होस, उनीहरूले दसैं नेपालीको मौलिक चाड हो भन्ने कुरालाई आत्मसाथ गरेर हर्षोल्लासपूर्वक दसैं मनाउँछन्् । दसैंझंै तिहारलाई दार्जि्लिङ, सिक्किम, डुअर्स, आसाम, देहरादुनमा त दसैं–तिहारलाई गोर्खाहरूको एकताको बिँडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इन्डोनेसिया लगायत विश्वका अनेकौं देशका हिन्दूले आआफ्नै प्रकारले दसैं मनाउँछन् । नेपाली भाषी नेपाली जातिबाहेक भारतीय हिन्दूहरू टीका नलगाएर पनि दसैंको उत्सव मनाउँछन् । नेपाल र नेपालबाहिरका हिन्दू–बौद्धले विजया दशमीको शुभ साइतमा मूलढोकाको पूजा गरी मान्यजनबाट परिवारको मर्यादाक्रम अनुसार टीका प्रारम्भ हुन्छ ।
हिन्दू र बौद्धबीच सामञ्जस्यताको कारण हो पशुपतिनाथ र स्वयम्भूनाथबीचको पारस्पारिकता । पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्ने गरिन्छ । बौद्ध पनि पशुपतिनाथको पूजाआजा गर्दछन् । काठमाडौं उपत्यकामा बौद्ध आठवटा शिवलिंगलाई अष्टवैत रागको रूपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दू मञ्जुश्रीलाई सरस्वती मानेर पूजा गर्छन् । गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्ने गरेका छन् । मुक्ति नाथको मन्दिरमा लामा र वैष्णव दुवै बाँकी ३ पेजमा…
पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दू नारायणको रूपमा र बौद्ध भगवान् बुद्धको रूपमा मान्दछन् । साँखु बज्रयोगिनीलाई हिन्दू तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगुनारायणस्थित गरुडलाई बौद्धले हरिहरवाहन लोकेश्वर मान्दछन् । बूढानीलकण्ठलाई बौद्ध १०८ लोकेश्वरको रूपमा आराधना गर्छन् । बौद्ध विहारका मूलढोकामा दायाँ र बायाँ गणेश र महांकालको प्रतिमा खडा गरी पूजा गर्ने गरिन्छ । यस्तो धार्मिक समिश्रण भएको समाजमा हामी नेपालीले विश्वभर सांस्कृतिक सामञ्जस्यताको अनुपम उदाहरण प्रस्तुत गर्न सकौं । दसैं, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदि अनेकौं चाडपर्व नेपाली समाजका जीवनपद्धति हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार