
कात्र्तिक १५, दैलेख
नारायण नगरपालिका वडा नं. ६ को काँडाचौरमा स्थायी रुपमा बस सेवा संचालनका लागि तीन वर्ष अघिदेखि करिव २ करोड ५० लाख लगानी गरेर सौचालय र अन्य पूर्वाधार व्यवस्थापन गरेर स्थायी बसपार्क निर्माण भयो तर अहिलेसम्म बसपार्क संचालनमा आउन सकेको छैन् । बस सेवा संचालनमा नआएपछि काँडाचौर सुनसान छ । काँडाचौरमा निर्माण गरिएको सौचालय प्रयोग बिहिन छ । फाहोर फाल्ने डंगुर बनेको छ । सौचालय दुर्घन्धित छ, प्रयोगमा नआएको काँडाचौर बसपार्कमामा दशंै र तिहारको अवसरमा हरेक बर्ष लिङ्गे पिङ हालेर खेल्ने गरिएको छ ।
बसपार्कको लगानी खेर गएको प्रति स्थानीय बासिन्दाहरुको आक्रोस कायमै छ । स्थानीय सरकारले व्यवस्थापन नगरेको र करोडौं लगानी खेर गएसँगै जनताले दुःख पाएको स्थानीय गोपाल न्यौपानेको गुनासो छ ।
दशै र तिहारको बिदा सकेर कर्मक्षेत्रमा फर्कने दैलेखका यात्रुहरुलाई सँधै वर्ष झै यो बर्ष पनि अस्थायी बसपार्कको रुपमा रहेको दैलेखको जिल्ला प्रहरी कार्यालय पछाडीको खाली भू–भागमा सडकको धुलोमै आफ्ना सरसामानहरु राखेर बस्नुपर्ने बाध्यता छ । यती मात्र हैन् सवारी साधन नपाएपछि महंगोमा जीप रिजर्व गरेर भएपनि यात्रुहरु यात्रा गर्नुपर्ने बाध्यतामा रहेका छन् । अहिले अस्थायी रुपमा संचालनमा आएको बसपार्कको सडक छेउमै टिकट काउन्टर राखिएको छ । दैलेख सदरमुकाम हुँदै भगवतीमाई, नौमूले, बेस्तडा, दुल्लू लगायतका स्थानहरुबाट आउतजावत गर्ने यात्रुहरुलाई समेत बसपार्कको व्यवस्थापन नभएपछि सँधै भरी यात्रुहरुले हैरानी खेप्नुपर्ने अवस्था कायमै छ ।
काठमाण्डौंमा अध्ययन गर्ने महावु गाउँपालिकाका प्रकाश बिष्ट बिगत दुई दिनदेखि बसपार्कमा कुरेका छन् । अँझै तीनदिनपछि मात्र टिकट पाउने भएपछि घर फिर्ता हुने तयारीमा रहेको प्रकाशले बताए । सिट नपाएपछि कोचाकोच गर्दै उभिएर भएपनि लामो यात्रा गर्नुपर्ने बाध्यतामा यात्रुहरु रहेका छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ ।
दैलेख सदरमुकामबाट सुर्खेत, नेपालगंज र काठमाण्डौंका लागि दैनिक ४० भन्दा बढी फोर्स र ठूला बसहरु संचालनमा आएका छन् । बसपार्कको उचित व्यवस्थापन नभएका कारण सडकमै बसहरुको पार्कीङ्ग गरिएको छ । यातायात समितिका पदाधिकारीहरुको समेत उचित व्यवस्थापन नभएको गुनासो गर्दै आएका छन् ।
स्थायी बसपार्कबाटै जनताको सेवा दिनुपर्ने भन्दै नारायण नगरपालिकाले पत्र काटिसकेको र जिल्ला प्रशासन कार्यालयले समेत यो बारेमा यातायात व्यवसायिकहरु सँग छलफल गरेर समस्या समाधान गर्ने गरी पत्राचार गरिसकेको छ । अहिलेसम्म समस्या समाधान हुन सकेको छैन् ।

काँडाचौर वसापार्कका लागि २१ करोडको योजना तयारी छ ः नगर प्रमुख खड्का
काँडाचौर बसपार्कलाई स्थायी रुपमा संचालन गर्नका लागि डिपिआर तयार गरेर २१ करोडको बृहत योजना तयार गरिसकेको नगर प्रमुख रत्नबहादुर खड्काले बताएका छन् । अव केही दिनभित्र टेन्डर सुरु गर्ने तयारी रहेको खड्काले बताए । बसपार्क निर्माणको बृहत योजना सम्पन्न गर्ने बेलाका लागि भन्दै नारायण नगरपालिकाले यात्रुको सहजताका लागि जिल्ला प्रहरी कार्यालय नजिकको जग्गामा ६ वटा टिकट काउन्टर निर्माण गरेर काम गरिदिएको तर सम्झौताका लागि समितिले चासो नदिएको गुनासो गरेका छन् ।
एक दुई दिनमै काँडाचौरबाटै बस सेवा सुचारु गर्छौ ः वडा अध्यक्ष न्यौपाने

नारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश न्यौपानले एक दुई दिन भित्रै सबै बसको टिकट काट्ने काम बसपार्कबाट सुरु गरिने बताएका छन् । सहरी बिकास तथा भवन डिभिजन कार्यालय सुर्खेत अन्तर्गत काँडाचौर बसपार्कलाई दिर्घकालिन योजना अन्तरगत २१ करोडको प्रस्ताव तयार पारेर गतबर्षनै पठाएका हौ । गतवर्ष ६० लाख रकम बिनियोजन गरिएको भएपनि सुर्खेतले टेण्डर नगरेपछि फ्रिज भएको र यो वर्ष ५० लाख रकम बिनियोजन भैसकेको र तत्काल टेण्डर खोल्नुपर्ने बिषयमा नारायण नगरपालिका लागि रहेको न्यौपानेले बताएका छन् ।






