
मंसिर १५, दैलेख
नेपाल भ्रमण वर्ष सन २०२० सुरु भैसकेको छ । सरकारले भ्रमण वर्ष अर्थात भिजिट नेपाल २०२० को नारा अगाडी सारेर काम थालनी गर्ने भन्दै करिब ६ महिनादेखि यसको व्यापक प्रचार प्रसार अगाडी बढाएको हो ।
स्थानीय सरकारले आ–आफ्नो पालिकाको लागि अनिवार्य भ्रमण वर्षको लोगो राख्नुपर्ने प्रावधान सुरु भएको पनि करिब ३ महिना बढी हुन लागिसकेको छ । दैलेखमा भने नेपाल भ्रमण वर्षको बारेमा स्थानीय सरकारलाई चिन्ता पनि छैन र चासो पनि देखिएको छ्रैन, करोडौँ बजेट आफैले खर्च गर्ने अधिकार पाएका स्थानीय सरकारहरूले भ्रमण वर्ष केन्द्रित गरेर प्रभावकारी काम ल्याउन र बनाउन सकेका छैनन् ।
केन्द्र वा प्रदेशले रकम पठाएपछि मात्र तातिने योजना बनाएका स्थानीय सरकारहरूले दैलेखको पर्यटन विकासका लागि संयुक्त र ठोस रणनीति बनाउन नसक्नु समग्र दैलेखको पर्यटनका लागि दुर्भाग्यको कुरा हो ।
अहिले सङ्घीय सरकार र प्रदेश सरकारहरूले विभिन्न कार्यक्रमहरूको भव्य तयारी गरे पनि दैलेख जिल्लामा भने त्यसको कुनै रौनकता देखिएको छैन । सङ्घीय सरकार र प्रदेश सरकारले भ्रमण वर्षका लागि विभिन्न तयारी गरिरहँदा दैलेखका ११ स्थानीय सरकार भ्रमण वर्ष प्रति उदासीन भएको पाइएको छ ।
धार्मिक ऐतिहासिक र पुरातात्विक हिसाबले काठमाडौँ लुम्बिनी पछिको तेस्रो स्थानमा रहेको भनिएको दैलेखको आधिकारी प्रमाण खोज्ने सम्मका कामहरू अहिलेसम्मका स्थानीय सरकाले गर्न सकेका छैनन् । दैलेख के का लागि आउने ? किन आउने ? यी विषयहरू कुरामा निकै धेरै उठ्ने गरेका छन् तर व्यवहार त कसैले योजना बनाउन सकेका छैनन् । यसबारे दुल्लू नगरपालिकाले भने विभिन्न प्रक्रियाहरू थालिसकेको छ । पुरानो पौवा दरबारलाई संग्राहलय बनाउनु, विजया साहित्य पार्क निर्माण थाल्नु र नेपाली भाषाको लिपिको संरक्षणको पहल गर्नु दुल्लूको पर्यटन प्रवर्द्धनका लागि केही महत्वपूर्ण काम भएको नगर प्रमुख घनश्याम भण्डारीले बताए । दुल्लू क्षेत्रका लागि प्रदेश र केन्द्र सरकारले भनेजतिको पर्यटन पूर्वाधार विकासमा रकम दिन सकेको देखिदैन् ।
नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले नेपाल भ्रमण लक्षित कुनै पनि नीति तथा कार्यक्रम नभए पनि नगरपालिका भित्रका विभिन्न धार्मिक ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण र प्रचार प्रसार गर्ने बताए । नगरपालिकाले दैलेख र दुल्लूको सिमानाको कोटिलामा मानव निर्मित ताल बनाउन डिपिआर निर्माण गरेको र छिटै ताल निर्माण सँगै ढुङ्गा सञ्चालन, माछा पालन, विद्युत् उत्पादनका कामहरूको सुरुवात गरिने बताए । पोखराको फेवाताललाई स्मरण गर्ने गरी निर्माण गर्ने योजनामा छौ । त्यसले दैलेखको पर्यटन प्रर्बदनमा निकै सहयोग पुग्ने विश्वास आफूले लिएको खड्काको भनाई छ । दैलेखको पंचदेवलको भने कर्णाली प्रदेश सरकार मार्फत धारा जिर्णौद्धार गर्ने काम भएको छ । पर्यटन बोर्ड मार्फत पंचदेवल क्षेत्र सम्म पुग्ने बाटो पक्की गर्ने काम भइरहेको छ ।
कार्यकाल सकिन करिव दुई वर्ष बाँकी रहँदा अहिलेसम्म डिपिआर तयार नहुनेले महत्वकाँक्षि योजना खड्काकै पालामा बन्छ भन्नेमा नगरका बासिन्दाहरूलाई आशा छैन ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकामा नेपाल भ्रमण लक्षित कार्यक्रम नभएको बताए । अहिले सम्म कुनै योजना बनेको छैन । प्रदेश सरकार र सङ्घीय सरकारबाट निर्देशन भएमा गाउँपालिकाले नेपाल भ्रमण लक्षित कार्यक्रम बनाउन सक्ने उनको भनाई छ । गाउँपालिकाले गाउँपालिकामा रहेको भगवतिमाई मन्दिर, शिव मन्दिर, सहिद मयाराम स्मृति पार्क, मालिका मन्दिर जाने पर्यटक पदमार्ग निर्माणको काम गरिरहेको र त्यसमा आन्तरिक तथा बाह्य पर्यटकलाई आउने क्रम
बढेको बताए ।
दुल्लु नगरपालिका दैलेखका नगर उप प्रमुख बिष्णा थापाले दुल्लूको सग्रालयमा सयौँ वर्ष पुराना ऐतिहासिक बस्तुहरू राखेको बताइन ।
चामुणबिन्द्रासैनी नगरपालिका दैलेखका प्रमुख सूर्य बहादुर शाहीले सरकारले सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारी बारे जानकारी भए पनि त्यस लक्षित बजेट विनियोजन गर्न नसकेको बताए । उनले नेपाल भ्रमण वर्ष भन्दा पनि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेको सम्पदाहरूको संरक्षण तर्फ लागेको बताए ।
जिल्लाको नौमूले गाउँपालिकाले पर्यटन वर्ष लक्षित कार्यक्रम नभए पनि आफ्नो क्षेत्रमा रहेको द्धारी झरना र त्यसमा जाने पर्यटकका लागि होमस्टे सञ्चालनमा ल्याएको नौमुले गाउँपालिकाले जनाएको छ । नौमुले गाउँपालिकामा तत्कालीन द्धन्दकालमा परिचित ठाउँ भएको र त्यसमा विभिन्न विद्यालयमा द्धन्द व्यवस्थापन सङ्कायमा पढ्ने विद्यार्थी समेत अवलोकन र अध्ययन गर्न आउने गरेकोले त्यस क्षेत्रमा पनि केही लगानी गरेर आकर्षण गन्तव्य निर्माण गर्न लागेको जनाएको छ । तत्कालीन जिल्ला विकास समिति दैलेखको समन्वयमा २०७० सालमा पर्यटन प्रवर्द्धन समिति निर्माण गरिएको थियो । समितिले ५ बर्षे पर्यटन गुरु योजना निर्माण गरेको थियो अहिलेसम्म उक्त योजना जिल्ला बाहिरबाट आउनेहरूलाई देखाउने बाटो बनेको संयोजक टेकबहादुर खाणले बताए ।
जिल्लाका विभिन्न ऐतिहासिक पुरातात्विक र धार्मिक स्थलहरू सबै समेटेर गुरु योजना बनाए पनि स्थानीय सरकारले त्यसको अनुसरण गर्न नसेकेको बताए ।
इतिहास पुनर्लेखन सुरु
तर काम सकिएको छैन ।
दैलेखको इतिहासका बारेमा योगी नरहरि नाथले लेखेको इतिहास प्रकाश भाग १,२,३ मा लेखिएका कुरा हराउँदै र मेटिँदै जान थालेपछि २०७३ सालमा पत्रकारहरूले इतिहास पुनर्लेखनका काम सुरु गरेका थिए । दुई वटा विज्ञहरू मार्फत पुर्न लेखनको कार्य सुरु भइरहेको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन । इतिहास र भाषा साहित्यको बारेमा इतिहासविद् डा.राजाराम सुवेदी र डा. मधुसूदन गिरीले यो कामको जिम्मेवारी लिएका छन् । खोजवीनको काम प्रभावकारी बनाउनुपर्ने भएकोले केही समय लागेको छ । विज्ञहरूलाई तोकिए अनुसारको रकम प्रदान गर्न समेत चुनौती देखिएको छ ।
पूर्वाधार विकासमा अझै समस्या
पर्यटकीय क्षेत्रको विकासका लागि मुख्य समस्याको रूपमा रहेको सडकलाई उचित ख्याल गर्न सकिएको छैन, पंचकोशी क्षेत्रभित्र पुग्ने सडकको सहज पहुँच पुग्न सकेको छैन, रारा पुगेर आउने पर्यटकहरू दैलेखको पंचकोशी क्षेत्र घुमेर जान खोजे पनि राकम हुँदै दुल्लू र दैलेख जोड्ने सडकको सूचित व्यवस्थापन हुन नसकेका कारण समस्या बढ्दै गएको छ ।
चर्चित पर्यटकिय सडक महावुमा समेत केन्द्र र प्रदेश सरकारले रकम बिनियोजन गर्न सकेका छैनन् ।






