
मंसिर १६, दैलेख
दैलेखमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । दैलेखको भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलिले अन्वेषणको कार्य तीव्र पारेको हो ।
पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीब्र पारिएको छ । दैलेखका बिभिन्न भू–भागहरुमा साइस्मिक सर्वेको कार्य तीब्र पारिएसँगै छिट्टै सर्बेको निश्कर्ष आउने आशा गरिएको छ ।
चीन सरकार र नेपाल सरकारको संयुक्त बिशेषज्ञ टोलिले पेटूोलियम अन्वेषणका बिभिन्न कामहरु एकै साथ अगाडी बढाएका हुन् ।
बिदेशमा पेट्रोलियम अन्वेषणका लागि काम गरेका अनुभवी नेपाली कामदारहरु अहिले यो कार्यका लागि प्रयोग गरिएको छ । अनुसन्धानका लागि अत्याधुनिक साधनहरु समेत दैलेखमा ल्याईएको छ । साइस्मिक सर्वे अन्तरगत जमिन भित्र तरंग पठाउने काम सुरु गर्न थालिएको छ ।
बिभिन्न चारवटा सर्वेहरु मध्ये सवैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्वे पछि त्यसको अनुसंन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ ।
नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौता अनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकोले दैलेखका बिभिन्न भू–भागहरुमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमिन मुनि ड्रिलिङ्ग गर्ने काम सुरु गरिएको छ ।
सर्वेका लागि तयार पारिएका १० वटा सर्कलमा अहिले १० वटा समूह निर्माण गरेर ड्रिलिङ्गको काम सुरु गरिएको छ । १० मध्ये एउटा सर्कलमा जमिनमुनि करिव ४५ फिट सम्म ड्रिलिङ्ग सँगै बिस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलहरुमा उक्त कार्य तीब्र रुपमा अगाडी बढेको छ ।
जमिनमुनि तरंग पठाएर तरंगहरुको मापन गरिने र सोही अनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङ्गको काम हुने खानी तथा भू–गर्वबिद् एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भू गर्व बिभागका अन्वेषण अधिकृत डा.गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।
भिरालो जमिनले सामान्य समस्या

दैलेखको पहाडी भू–भाग भएकोले साइस्मिक सर्वेका लागि आवश्यक उपकरणहरु लिन र लैजान समेत समस्या हुने गरेको छ । भिरालो जमिन र बढीजसो स्थानहरुमा ढुंगाको चट्टानहरु भएका कारण सामान्य समस्याहरु भएपनि कामको गति नरोकिएको अन्वेषणमा संलग्न टोलिले जानकारी दिएको छ । अन्वेषणका लागि ड्रिलिङ्ग मेसिनहरु राख्नुपर्ने, त्यो सँगै जेनेरेटर लगायतका सामानहरु लिन लैजान केही समस्या भएको छ । एक समूहमा ८ जना नेपाली कामदारहरु र २ जना विज्ञहरु सम्मिलित टोलिले बिभिन्न दशवटा सर्कलभित्र काम गरेका छन् । चट्टानका कारण कहिलेकाँही मेसिनमा सामान्य समस्याहरु उत्पन्न हुने गरेको भएपनि तत्काल मेसिन निर्माण गरेर काम सुरु भैरहेको साइस्मिक परियोजनाको व्यवस्थापन जिम्मेवारी लिएका सुर्यमणि लामिछानेले जानकारी दिएका छन् ।
जिल्लाको सुरक्षा व्यवस्था मजबुद पारिएको प्रशासनको भनाई
अन्वेषण कार्यका लागि आवश्यक पर्ने सवै खाले सुरक्षा व्यवस्था मजबुद पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी युराज कटेलले राष्ट्रिय महत्वको परियोजना भएकोले जिल्लाको समग्र सुरक्षा टिमले सुरक्षाको पूर्ण व्यवस्थापन गरिएको र परियोजना सफल भए आर्थिक रुपमा नेपालले ठूलो फड्को मार्ने बताएका छन् । हामिले टोलिमा खटिएका बिषयहरु लगायतका अन्य बिषयहरुमा नजिकको प्रहरी वा अन्य सुरक्षा निकायलाई दैनिक रुपमा भेटघाट गर्न र कुनै स्थानहरुमा अवान्छित गतिविधि भए तत्काल कारवाही प्रक्रिया थाल्न निर्देशन दिएका छौं । प्रजिअ कटेलले भने ।
अन्वेषणका लागि आवश्यक पर्ने सामानहरु चुप्रा क्याम्पमा राखिएको छ । दिनभर बिभिन्न भू–भागहरुमा काम गरेर टोली साँझ क्याम्पमै फर्कने गरेको छ । दुल्लूमा पनि क्याम निर्माण गरिने भनिएपनि काम गर्ने सवै स्थानहरु नजिक सम्म यातायातको सुविधा पुगेका कारण अहिले चुप्राकै क्याम्पबाट कामहरु सुरु गरिएका छन् । आवश्यकता अनुसार दुल्लूमा पनि क्याम खडा गर्ने तयारी आयोजनाको रहेको छ ।
पेट्रोलियम अन्वेषणको काम संवेदनसिल भएकोले खोज र अनुसन्धानका बिभिन्न प्रक्रियाहरु सुरक्षित रुपमा गर्नुपर्ने भएकोले कुन भू–भागमा कति परिमाणमा छ या छैन भन्ने कुराको एकिन भएपछि मात्र संचार माध्यामहरुमा यसको प्रगती दिने त्यस अघि वा पछि चीनीया टोलिले कुनै प्रतिक्रिया नदिने बताईएको छ ।
साइस्मिक सर्वेपछिको रिपोटका आधारमा उपयुक्त स्थानको खोजी गरेर भण्डारणका बारेमा थप अनुसन्धान थालिने भएको छ ।






