
मंसिर १७, दैलेख
जमुनाहा हुँदै चीन सम्मको महत्वपूर्ण त्रिदेशीय सडकको महावु खण्डमा नेपाल सरकारले बजेट विनियोजनमा पक्षपात गरेपछि महावु सडकको स्तरोन्नति गर्न सांसदको पूर्वाधार विकास अन्तरगतको ६ करोड रकम खर्च गरिने भएको छ ।
केन्द्रले दैलेख खण्डको सडक निर्माणका लागि चासो नदिएपछि जिल्लाका उद्योगी, नागरिक समाज, सचेत नागरिकहरूले निर्वाचित सांसदहरूलाई समेत बारम्बार गुनासो बढाउँदै आएका थिए । केन्द्र सरकारले विनियोजन गरेको ५२ करोड रकम पनि जुम्ला र हुम्ला खण्डमा खर्च गर्ने भएपछि दैलेख जिल्लाका निर्वाचित सांसदहरू नै आफ्नो स्थानको सडकको विकासमा तातिएका हुन् । नेपाल सरकारले गत वर्षदेखि मुख्य त्रिदेशीय सडक भनेर नेपालगन्जको रुपडिया, सुर्खेत, दैलेख सदरमुकाम, महावु जुम्ला हुम्ला हुँदै नाम्चे जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको थियो । गतबर्षदेखि यो सडकको जुम्ला, हुम्ला खण्डमा केन्द्र सरकारले रकम विनियोजन गर्दै आएको भए पनि जिरो पोईन्ट मानिएको दैलेख हुँदै महावु सडक खण्ड बिस्तारमा केन्द्र सरकारले रकम विनियोजन नगरेपछि निर्वाचित दैलेख क्षेत्र नं. १ प्रतिनिधि सभा सांसद रबिन्द्र शर्माको पूर्वाधार विकास अन्तरगत आएको ६ करोड रकम महावु सडक खण्ड बिस्तारमा खर्च गरिने भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको ६ करोड रकम दैलेखको महावु खण्डको सडक बिस्तारमा खर्च गर्ने निर्णय गरिएको हो । सुर्खेत दैलेख सदरमुकाम हुँदै महावु कालिकोट र जुम्ला सडक सञ्चालन भए अहिले सञ्चालन भएको कर्णाली राजमार्ग भन्दा ७९ किलोमिटर छोटो र सुरक्षित यात्रा कुरालाई मध्यनजर गर्दै ६ करोड रकम खर्च गर्ने निर्णय गरिएको प्रतिनिधि सभाका सभासद् रविन्द्रराज शर्माले जानकारी दिएका छन् ।
दैलेख सदरमुकामका बासिन्दाहरुको भाग्य र भविष्यसँग जोडिएको सडक भएकोले यो सडकलाई दुई लेनको निर्माण गर्न यसपालिको ६ करोड रकम बिनियोजन गरिएको र अन्य रकमका लागि केन्द्र र प्रदेश सरकारसँग कुराकानी भएकोले थप रकम पनि तत्कालै आउने तयारी भएको शर्माको भनाई छ ।
महावु खण्ड बिस्तार भए दैलेखको ४ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र महावु जाने पर्यटकहरूका लागि पनि सहज हुने छ । दैलेख सदरमुकामको घट्दै गएको व्यापार व्यवसाय यो सडक सञ्चालन भएपछि थप बिस्तार हुने भएकोले सांसदको निर्णयले दैलेखका सबै उद्योगी, व्यापारीहरूको उत्साह बढेको दैलेख उद्योग वाणिज्य संघक कार्यवाहक अध्यक्ष रूपक थापाले जानकारी दिएका छन् ।
सांसद रविन्द्र शर्माको मातहतमा आएको ६ करोड सडक उक्त सडकमा खर्च गर्ने निर्णय सँगै तत्काल सडकको चौडा गर्नुपर्ने भाग, ग्रेड मिलाउने भाग र आवश्यक परेका स्थानहरूमा ग्राभेल, पक्की नाली लगायतको स्टिमेट तयार गरेर काम अगाडी बढाउने जिल्ला समन्वय समिति दैलेखका निमित्त समन्वय अधिकारी पदम सापकोटाले जानकारी दिएका छन् । प्रशासनिक खर्च कटाएर बचेको ५ करोड ९४ लाख रकम सडक बिस्तारमा खर्च गरिने सापकोटाको भनाई छ ।
केन्द्र सरकारले त्रिदेशीय सडकका लागि ५२ करोड र प्रदेश सरकारले ३३ करोड रकम विनियोजन गरेको भए पनि निकै समस्यामा भएको र अनिवार्य निर्माण गर्नुपर्ने महावु खण्डमा रकम विनियोजन नगरेपछि पूर्वाधार साझेदारी कार्यक्रमको सबै रकम महावु खण्डमा विनियोजन गरिएको हो ।
प्रतिनिधि सभाका सांसद पार्वती बिसुन्केले क्षेत्र नं. १ का आम व्यापारी र सिङ्गो दैलेख सदरमुकामका महत्त्वपूर्ण आवश्यकता रहेको उत्त सडक बिस्तार गर्न आफूहरूले समेत केन्द्र सरकारलाई ताकेता गरेको र केही समयभित्र थप अरू रकम पनि विनियोजन हुने बताएकी छन् । निकै महत्वपूर्ण महावु खण्ड बिस्तारका लागि अहिले सांसदको ६ करोड रकमले काम सञ्चालन गर्दै जाने बताएकी छन् ।
४ हजार मिटर उचाइमा पुग्ने सडक
दैलेखका र कालिकोट खण्डको सिमानामा रहेको यो सडक महावुको दमौडामा पुगे समुन्द्र सतहदेखि ४ हजार मिटर उचाइमा पुग्ने सडकको पहिचान बनाउने देखिन्छ । महावुमा सडक पुगेसँगै यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरूको आगमन पनि बढ्ने छ । अहिले कच्ची र साँगुरो सडकमा निकै कठिन यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।






