श्रम रोजगार बैंक सुरु.. युवा स्थापित डोजर विस्थापित


मंसिर १८, दैलेख
जिल्लाको भगवतिमाई गाउँपालिकाले श्रम रोजगार बैक स्थापना पश्चात् युवा युवतीलाई रोजागरीमा स्थापित गरेर डोजर विस्थापित नीति अगाडी सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ सुरु हुने श्रम रोजगार बैक मार्फत एक सय ४० जना युवालाई रोजगारी दिएको गाउँपालिकाले युवालाई विकासमा स्थापित गराएर डोजर विस्थापित नीति अघि सारेको हो । जिल्ला मात्र होइन नेपाल अधिराज्यभर डोजर आँतक र उपभोक्ता समिति मार्फत कामहरू सञ्चालन गर्दा समेत कामहरू प्रभावकारी र गुणस्तर नभएको र निर्माण भएका उपभोक्ता समिति पनि कमिसनको लोभमा डोर हाजिर गरी भुक्तानी लिने परम्परालाई तोड्न श्रम रोजगार बैकले महत्वपूर्ण भूमिका हुने गाउँपालिकालेले लक्ष्य लिएको छ ।
नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रूपमा समावेश गरेको र सोही मौलीकहकको कार्यान्वयन गर्न रोजगारी हक सम्बन्धी ऐन २०७५ अनुसार श्रम रोजगार बैक स्थापना गरी रोजगार दिएको गाउँपालिका अध्यक्ष दान बहादुर थापाले बताए । उनले चालु आर्थिक वर्ष ०७६÷०७७ नीति तथा बजेट मार्फत सार्वजनिक विकास निर्माणको कार्यहरूमा रोजगारका अवसर सिर्जना गरी पाँच वर्षको अवधि भित्र गाउँपालिकाका युवाहरूले बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्नका लागि श्रम रोजगार बैक मार्फत रोजगारी दिन लागेको हो । १० लाख भन्दा माथिका योजनाहरू टेन्डर प्रक्रिया बाट गर्ने प्रयास गरे पनि त्यसको प्रभावकारी हुन नसकेको कारण गाउँपालिकाले सञ्चालन गरेको योजनाहरू प्रभावकारी बनाउन श्रम रोजगार बैक मार्फत यो आर्थिक वर्षमा २१ वटा योजनामा युवाहरूले काम गर्ने जानकारी दिए ।
आर्थिक वर्षमा १ सय ४० युवाहरूको रोजगारी बाट २१ वटा खानेपानी, सडक, सिचाईका योजनाहरू युवा युवतीहरुके समूहमार्फत संचालन गर्ने गरी तालिम प्रदान गरिसकिएको छ । अव लगत्तै रोजगारीमा जोड्ने गाउँपालिकाले तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले बताए । उनले श्रम रोजगार बैक मार्फत गाउँपालिकाका ७ वटै वडाबाट प्रतिनिधित्व गर्ने गरी युवाहरू छनोट गरेको र अव हुने विकास निर्माणमा डोजर र उपभोक्ता समितिलाई विस्थापित गर्ने तयारी समेत रहेको बताए । श्रम रोजगार बैक स्थापना पश्चात् गाउँपालिकामा रहेका बेरोजगार युवाहरूको पहिचान र सूचीकरण गर्ने रोजगार केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई न्युनत्तम एक आर्थिक वर्षमा १ सय दिनको रोजगारी दिने व्यवस्था गाउँपालिकाले गरेको छ । सूचीकृत बेरोजगार व्यक्तिहरूलाई न्युनत्तम रोजगारी सुनिश्चित गर्न ब्यबसायिक कृषि सिचाई खाने पानी, वन तथा पर्यटन यातायात लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरूमा समेत सहभागि गराउने लक्ष्य राखेको बताए । श्रम रोजगार बैकमा आबद्ध भएका युवाहरूलाई कसरी तलब खुवाउने हो त्यसका लागि कार्यविधि निर्माणको चरणमा रहेको र चाडै कार्यविधि निर्माण गरिसक्ने तयारीमा गाउँपालिका रहेको जानकारी दिए ।
रोजगार बैक मार्फत खटिएका कामदारहरूको स्वास्थ्य परीक्षण जीवन बिमा गर्ने जस्ता कार्यहरूले पूर्णता पाइसकेको र प्राविधिकहरूले गाउँपालिकाका योजनाहरूको प्राविधिक स्टमेट गरे पश्चात् रोजगार बैकमा आबद्ध युवाहरूले विकास निर्माणका काम सुरु गर्ने र उनीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेको दक्ष कामदार र अदक्ष कामदारका आधारमा ज्याला पाउने छन् । गाउँपालिकाले श्रम रोजगार बैक मार्फत रोजगारी सिर्जना गरे सँगै गाउँका युवाहरू समेत उत्साही भएका छन् । गाउँपालिकाले रोजगार बैक मार्फत रोजगारी दिएसँगै आफूहरूले उत्साही भएर काम गर्ने भगवतिमाई गाउँपालिकाका वडा नं. २ मान बहादुर शाहीले बताए । उनले रोजगारी गर्नका लागि भारत लगायत वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता भए पनि अव गाउँपालिकाले नै रोजगारी दिएपछि आफूहरू खुसी भएको बताए । वैदेशिक रोजगारीमा १० वर्ष काम गरेका युवाहरूसमेत रोजगार बैकमा आबद्ध भएर गाउँमा काम पाएपछि खुसी समेत भएका छन् ।
उपभोक्ता समितिको काम पनि डोजरमै ठेक्का पनि पट्टामा
हरेक विकास गतिविधिहरू दिगो र पारदर्शी हुनुपर्ने भन्दै आवाज उठ्ने गरेको दैलेखमा विगत दुई वर्ष यता स्थानीय सरकारहरूले गरेका कामहरूमा अपारदर्शिता बढ्दै गएको नागरिक निगरानी केन्द्रका अध्यक्ष दीर्घ राज अधिकारीले जानकारी दिएका छन् । उपभोक्ता समितिले निश्चित किमशन खाएर ठेक्कामा डोजरवालालाई काम बेच्ने चलन दैलेखमा धेरै बढेको छ । यती मात्र हैन निकै घटेर ठेक्का लिने र लिएको ठेक्कालाई पनि अर्को पेटी ठेकेदारलाई कमिसन खाएर मुख्य ठेकेदारले बिक्री गर्ने प्रचलन धेरै भएपछि विकासमा समस्या हुँदै आएको अधिकारीले बताए ।
राज्यले यस्तो नीति अवलम्बन गर्नुपर्ने सांसद बिसुन्के
प्रतिनिधि सभाका सांसद पार्वती बिसुन्केले युवाहरू दिनप्रतिदिन खाडी मुलुकमा गएर अनाहकमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि सरकारले श्रम बैकमार्फत युवा युवतीहरूलाई रोजगारी प्रदान गर्ने महत्त्वपूर्ण कार्यलाई प्रभावकारी बनाउँदै नीतिमै उल्लेख गरेर काम थालनी गर्नुपर्ने बताएकी छन् । आफूले संसद्मा समेत यस्तो विषयको कुरा उठाउने बिसुन्केको भनाई छ ।
५० युवा यो वर्षबाट बिदेश नजाने भन्दै श्रम बैकमा
श्रम रोजगार बैकमा काम गर्न उत्साहित हुँदै यो वर्ष छानिएका १ सय ४० युवामध्ये ५० जना यसअघि रोजगारीका लागि दुवै, मलेसिया, कतार र भारत गएर मजदुरी गर्दै आएको भए पनि गाउँमै रोजगारी सुरु हुने भएपछि यो वर्ष भगवती माई गाउँपालिकाका ५० जना युवाहरूले विदेश नजाने निर्णय गरेर श्रम रोजगारमा लागेको गाउँपालिकाले जानकारी दिएको छ ।
रोजगार बैक मार्फत खटिएका कामदारहरूको स्वास्थ्य परीक्षण, तालिम, जीवन बिमा, इपान भर्ने लगायतका अन्य कामसँगै जिल्ला बाहिर समेत अरूले कामको लागि आवश्यक पर्दा टोली खटाउनका लागि दुई जना छुट्टै व्यक्तिहरूको चयन गरिएको छ ।
हरेक १० जनामा एक जनालाई टोली कमान्डर निर्माण गरिएको छ । युवा र युवतीहरूको समान ज्यालाको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार