पुष ९, दैलेख
जिल्लाको समग्र सुरक्षाको बारेमा दैलेखका निर्वाचित जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुवीच बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाभरको समग्र सुरक्षा व्यवस्था, हरेक नागरिकको सुरक्षा लगायतका बारेमा छलफल गरिएको छ । आम नागरिक र जनप्रतिनिधिहरुको सुरक्षाका बारेमा बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् ।
स्थानीय सरकार र जनप्रतिनिहिरुबाट प्रवाह हुने सेवा सुविधा, जनताप्रतिको सक्रियता, नागरिकको गुनासो सुनुवाई र पारदर्शीताको बारेमा समेत बैठकमा छलफल गरिएको थियो ।
जिल्लाका आम नागरिकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिने काम जिल्ला प्रशासन कार्यालयमातहतका निकायहरुमार्फत हुने र सुरक्षा सर्तकताका बारेमा पनि छलफल गरिएको छ ।
गत शनिवार बिप्लव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले ठाटीकाँध गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीलाई अपहरण गरेपछि जिल्ला सुरक्षा समति र जनप्रतिनिधीको सयुक्त बैठक बसेर सुरक्षा सम्बेदनशिलताका बिषयमा छलफल गरिएको छ ।
जनप्रतिनिधीहरुलाई सरक्षाको पूर्ण प्रत्याभूति दिलाउने बारेमा सुरक्षा समितिको बैठक राखेर थप छलफल र बहस गरिएको थियो । पछिल्ला दिनहरुमा जनप्रतिनिधीहरु बिभिन्न आरोपहरु लगाउने काम पनि बढ्दै गएको छ । तत्थ्यमा भन्दा सुनेकै भरमा एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने कार्य बढ्न थालेपछि अनावश्यक हल्लाका पछाडी भन्दा तत्थ्य बुझेर जनताहरुले खवरदारी गर्नुपर्ने देखिएको छ । सुरक्षा समितिको बैठकमा जनप्रतिनिधीहरुले आफुहरुले बजारमा हल्ला आएको जस्तो काम नगरेको, अनावश्यक हल्ला मात्र गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।
जनप्रतिनिधिलाई आर्थिक अनियमिता गरेको, आफ्नालाई रोजगारी दिएको, जस्ता कुराहरुको अध्ययन नगरेरै आरोप लगाउने काम कहि कसैले गर्न नहुने जनप्रतिनिधिले बताएका छन् ।
केही महिना अगाडी जिल्ला भ्रमणमा आउनुभएका प्रदेश प्रहरी प्रमुख संग स्थानीय तहका जनप्रतिनिधीले गाउँमा असुरक्षा भएको भन्दै त्यसतर्फ ध्यान दिन सुरक्षा निकायलाई आग्रह समेत गरेका थिए ।






