लक डाउन उलंघन गरेपछि सांसदको गाडी प्रहरी नियन्त्रणमा

दैलेख बैशाख ३ ।

लक डाउनका बेला  सवारी दुरुपयोग गरी मान्छे वसार पसार गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाहीको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बिहान सांसद शाहीको गाडी तेल हाल्ने बहानामा आफन्त बोकेर अछाम जान लागेको थाहा पाएपछि प्रहरीले चालक सहित गाडी नियन्त्रणमा लिएको हो ।
कर्णाली प्रदेश सरकारले प्रतिपक्षी दलका ज्येष्ठ सदस्य र पहिलो सभामुख भएको आधारमा सांसद शाहीलाई गाडी सुविधा दिएको छ । लक डाउनका बेलामा सांसदका छोरा र अन्य ३ जना भतिजी नाता पर्नेलाई बोकेर अछाम पु¥याउन लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । चालकलाई इलाका प्रहरी कार्यालय दुल्लूमा पक्राउ गरी राखिएको छ ।


सदरमुकाममा लकडाउन कडाइ भएको भए पनि सदरमुकाम बाहिरका कतिपय पालिकाहरूमा जुवा तास, मदिरा सेवन र सवारी साधनको दुरुपयोग बढ्दै गएको गुनासो बढेपछि प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । प्रहरी चेकजाँचका क्रममा प्रदेश सभा सदस्यको गाडीले समेत अनावश्यक मानिसहरू बोकेर हिँडेको भेटेपछि नियन्त्रणमा लिइएको दैलेख प्रहरीले जानकारी दिएको छ । दिनहुँ गाडी ओहोर दोहोर भएको भन्ने गुनासो जिल्ला प्रहरी कार्यालय दैलेखमा आउने गरेपछि प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
जनप्रतिनिधिका नजिकका र पहुँचवालाहरूले अनावश्यक रूपमा सवारी साधनहरुको दुरुपयोग गरेको गुनासो पनि दैलेखका बढेको छ ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढीरहेका बेलामा दैलेखको पश्चिमका पालिकाहरुले अछाम र दैलेखको सिमानामा आवतजावत रोकेको भनेपनि कार्यान्वयन हुन सकेको छैन ।
पालिका स्तरमा प्रहरीको जनशक्ति निकै कम छ, लकडाउनका बेलामा विभिन्न स्थानमा जुवातास खेलेको र सवारी दुरुपयोग बढेको भन्दै प्रहरीलाई खबर आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार