
दैलेखको महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन पालिकाका जनताहरुमा जनचेतना अभियानलाई प्रभावकारी बनाएको छ ।
महावु गाउँपालिकाले आफ्नो पालिका भित्र प्रवेश गर्ने सिमानाका एक महिनादेखि बन्द गरेको छ । अतिआवश्यक काम बाहेक आवतजावत रोक्नुका साथै जिल्ला बाहिरबाट आएका व्यक्तिहरूको सिमाना क्षेत्रहरू ताराघाट, घोडामर्चे, जलजले, गिताचौर लगायतका स्थानहरुमा हेल्थडेस्क स्थापना गरेर स्वास्थ्य जाँच गर्दै आएको छ ।
आवश्यक भएमा वडा अध्यक्षको सिफारिस अनिवार्य गरिएको छ । त्यसबाहेक कसैले पनि ओहोर दोहोर गर्न पाएका छैनन् ।
गुराँसेमा पनि हेल्पडेस्क स्थापना गरेर चेकजाँच गरिएको स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले जानकारी दिएका छन् ।
गाउँपालिका भित्रका तर विभिन्न कामले जिल्ला बाहिर अलपत्र परेका नागरिकको उद्धार गर्ने कामलाई पनि गाउँपालिकाले तिव्रता दिएको गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहिले बताए । उनले लकडाउन अवधिभर महाबुले करिब ४ सय ५० जना भन्दा बढी नागरिकलाई उद्धार गरी घर ल्याइएको बताए ।
४ सय ५० जना भन्दा बढी नागरिकको उद्धार गरी घर ल्यायका छौँ बाहिर बाट आएकाको स्वास्थ्य जाँच गरी होम क्वारेन्टाइनमा पठाउने काम पनि भएको छ । बान्की अलपत्र नागरिकको उद्धारमा गाउँपालिका लागि रहेको अध्यक्ष शाहिको भनाई छ । छिमेकी जिल्ला सुर्खेत र नेपालगन्ज सम्मकालाई पालिकाकै गाडिमा उद्धार गरिएको र काठमाडौँकालाई बसमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।
कोरोना सङ्क्रमणबाट जोगिनका लागि पालिकाभरी ६० जना कर्मचारी, सुरक्षाकर्मी सँगै निर्वा्चित जनप्रतिनिधिहरु पनि निरन्तर काममा खटिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले जानकारी दिएकी छन् ।

६ वटा वडा रहेको महावु गाउँपालिकाले सबै वडाका १ हजार २ सय ४२ जना, विपन्न, गरिब र मजदुरी गर्ने समुदायको छनौट गरेर राहत वितरण गरेको जानकारी दिएको छ । गाउँपालिकाले विपत कोषका लागि ५० लाख रकम विनियोजन गरी काम सुरु गरेको छ । विनियोजित रकम मध्ये क्वारेन्टाइन निर्माण, औषधि खरिद, स्वास्थ्यकर्मीहरुलाई आवश्यक सामग्री लगायतमा खर्च गरिएको छ ।
सामाजिक सेवा केन्द्र सोसेकले २५ घरधुरीलाई राहत दिएको अरू सबै गाउँपालिकाकै रकमबाट राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिएका छन् । औषधि र स्वास्थ्य सामग्री गरेर १० लाख रकम खर्च भएको मल्लको भनाई छ ।
गाउँपालिकाले ९० बेडको क्वारेन्टाइन र ११ बेडको आइसोलेसन तयार गरेको सूचना प्रविधि अधिकृत टिका रोकाएले जानकारी दिएकी छन् ।
गाउँपालिकाका ९ वटै सामुदायिक स्वास्थ्य संस्थाहरूबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गरेका छौँ । सुरक्षा निकायको भूमिका पनि महत्त्वपूर्ण रहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भत्तबहादुर मल्लले जानकारी दिएका छन् । सबै स्थानमा स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेका छौँ । आवश्यक परेका स्थानहरुमा पनि सामग्रीहरु र औषधिको व्यवस्थापन गरेको मल्लको भनाई छ । एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।
गाउँपालिकाका जनताको व्यक्तिगत सरसफाइका लागि एक व्यक्ति एक मास्क, एक घर एक साबुन अभियान थालिएको छ । भारत वा अन्य मुलुकहरूबाट आएकाहरू मध्ये ४४ जनाको ¥यापिड टेस्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जानकारी दिएको छ ।









