
समाचार विश्लेषण
दैलेखको आठवीस नगरपालिकाका युवामा कोरोना संक्रमण देखिएसँगै उनको उपचारको विषयमा भिन्न भिन्न धारणाहरु बाहिर आएका छन् । कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि उनलाई दैलेख सदरमुकामको सरस्वती मा.वि.मा निर्माण गरिएको आइसुलेसन अस्पतालमा ल्याई उपचार सुरु गरिएको छ । संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई कुनै पनि लक्षण देखिएको छैन कुनै पनि समस्या नदेखिएको स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
उनलाई आठवीस नगरपालिकाबाट जिल्ला सदरमुकाम ल्याउन सवारी साधनमा मात्रै करिब १० घण्टा लागेको हो । दुर्गम भएका कारण सदरमुकाम दैलेख बजारबाट जान ५ घण्टा र आउन ५ घण्टाको समय लागेपछि केही ढिलो भएको तर नियतबस कसैले ढिलो नगरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली २४ सै घण्टा ड्युटीमा
स्वास्थ्य कार्यालय दैलेखबाट डाक्टर सहितको टोली कोरोना अस्पतालमा ७ दिनका लागि आवसिय रूपमै खटिएको छ । उहाँहरू बाहिर पनि आउनु हुँदैन भित्रै बस्नुहुन्छ । उहाँहरूको काम नै कोरोना संक्रमित युवाको हेरचाह र उपचार गर्ने हो । संक्रमित युवका लागि १ जना डाक्टर, २ जना अनमी, १ जना सहयोगी खटिएका छन् । अन्य व्यवस्थापनका लागि १ जना कर्मचारी खटिएका छन् । कोरोना अस्पतालमै आवासीय रूपमा उहाँहरू बस्नुभएको छ । बिरामी एक्लै बस्नुपरेको भन्ने हल्ला लगत हो । सुरक्षाकर्मीले पूर्ण सुरक्षा प्रदान गरेको छ ।
युवालाई कोरोना संक्रमित भएको जानकारी पाउने बित्तिकै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले दैलेखका डा. निरन्जन पन्त सँग पनि सल्लाह मागेका थिए भने सुर्खेतका स्वास्थ्यकर्मीलाई तत्काल सुर्खेत अस्पतालमा ल्याउन निर्देशन दिएको पनि खुलेको छ । उनले निर्देशन दिए लगत्तै सुर्खेतको टोलिले बिरामीको अवस्थाको जानकारी लिएसँगै अवस्था एकदमै सामान्य भएको र कुनै पनि लक्षण नदेखिएको जानकारीका आधारमा आठवीस नगरपालिकामै आईसुलेसनको व्यवस्था भए उत्तै राख्न सकिने प्रतिक्रिया दिएको स्वास्थ्य कार्यालय दैलेखका कर्मचारीले जानकारी दिएका छन् ।
पहिलो बिरामीलाई आईसुलेसन अस्पतालमा राखिनुपर्ने दबाब सृजना भएपछि सुर्खेत लिने विषयमा पनि दुई घण्टा छलफल गरिएको थियो । सुर्खेतका डाक्टरहरुको टोलिले दैलेखमै निर्माण गरिएको आईसुलेसनमा राख्ने कुरा गरेपछि दैलेख सदरमुकाम ल्याइएको एक कर्मचारीले बताए ।
अहिले राखिएको आईसुलेसन अस्पताल हो स्थान विद्यालय भए पनि सुविधाका हिसाबले राम्रो छ । स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेका छन् । तत्काल विद्यालयमै भेन्टिलेटर जडानको तयारी गर्ने भनेर प्रदेश सरकारले भनेको छ । अहिले जिल्ला अस्पताल भित्रैपनि २ वटा भेन्टिलेटर जडान हुँदै छ । अवस्था अनुसार सुर्खेत लिन पनि दैलेखबाट निकै सहज भएकोले गलत हल्ला नफैलाउन र गलत हल्लाका पछाडि कोही पनि नलाग्न स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिएका छन् ।

दैलेखलाई सम्मान गरेका छौँ
मन्त्री दल रावल
सामाजिक विकास मन्त्री दल रावलले कहीँ कतैबाट नियतबस विभेद र हेला नगरिएको र त्यसो गर्न नदिने बताएका छन् । रावलले दैलेखमा बनेको आईसुलेसन अस्पताल, जिल्ला स्वास्थ्य कार्यालयको अनुगमन सँगै बिरामीसँग पनि भेटघाट गरेका छन् । जिल्ला बिपत व्यवस्थापन समितिको बैठकमा सहभागी हुँदै मन्त्री रावलले आगामी दिनहरूमा हुनसक्ने समस्याहरुका बारेमा सुरक्षा सतर्कता अपनाउने बारेमा छलफल गरेका छन् ।
रावलले भने मैले “प्रदेश अस्पताल सुर्खेतमै ल्याउन निर्देशन दिएको हुँ, प्रदेशको स्वास्थ्यकर्मीको टोलीले संक्रमितको सामान्य स्वास्थ्य अवस्था, दैलेखका भरपर्दा स्वास्थ्यकर्मी र दैलेखको सरस्वती मा.वि.मा निर्माण गरिएको आईसुलेसन अस्पताल भरपर्दौ भएकोले दैलेखमै राख्न सुझाव दिए अहिलेको संवेदशिलतालाई यहाँहरुले बुझिदिनुहुन्छ । ”
हामीले पहिलो संक्रमितलाई उच्च मनोबलका साथ कुनै पनि समस्या आउन नदिने वातावरण तयार गरेका छौँ । स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न भनेका छौँ । कुनै पनि समस्या हुँदैन दैलेखका बासिन्दाहरु कोहीपनि आत्तिनु नपर्ने रावलको सुझाव छ ।
दैलेखमा भेन्टिलेटर सहितको आइसियु कक्ष व्यवस्थापनका लागि १ करोड ५० लाख तत्कालै व्यवस्थापन गर्ने भन्दै आइसियु अस्पताल निर्माणका लागि २९ लाख रकमको व्यवस्थापन उचित रूपमा गर्न रावलले सुझाव दिए । दैलेखमै पिसिआर मेसिन जडान गर्ने बजेट दिन तयार छु तपाँईहरु काम गर्नुहोस्, आजैबाट लाग्नुहोस असारसम्म सकिहाल्नुहुन्छ । जनसंख्याका हिसाबले दैलेख ठुलो छ । प्रदेश सरकारले पहिलो प्राथमिकतामा दैलेखलाई राखेको छ ।
रावलले भने “प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले हामीलाई निर्देशन दिनुभएको छ । विकास पछि गरौँला, आर्थिक अवस्था पछि सुधारौँला तर अहिले मानव जीवन जोगाउने कुरा महत्वपूर्ण हो । स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सबै काम प्रभावकारी रूपमा अगाडी बढाउन उहाँले निर्देशन दिनुभएको छ ।”
संघ र प्रदेश सरकार मिलेर बहुबर्षिय परियोजना अन्तर्गत, दैलेख अस्पताललाई जनसंख्याका हिसाबले सुविधा सम्पन्न बनाउनका लागि ५९ करोड बजेट प्रस्ताव गरेर व्यवस्थित गर्ने काम सुरु गरेको छ । दैलेखलाई हेला गरिएको छैन ।
सिमानाबाट कर्णाली आउने हरेक नागरिकको आरडिटि परीक्षण सँगै आवश्यकताका आधारमा पिसिआर परीक्षण गरेर स्वास्थ्य अवस्था अनुसार आवश्यक काम अगाडी बढाउने रणनीति प्रदेश सरकारले लिएको छ ।
कर्णाली भरी ३ हजार ४ सय स्वास्थ्यकर्मी परिचालन छन, १७ आइसियु ११ भेन्टिलेटर मात्र कर्णाली जडान गरिएको भए पनि केही समयभित्र ५० भेन्टिलेटर १ सय ५० आइसियु जडान गर्ने तयारी प्रदेश सरकारले सुरु गरेको बताए । हरेक जिल्ला अस्पतालमा अनिवार्य २ भेन्टिलेटर ५ वटा आइसियु निर्माण गर्ने तयारी कर्णाली प्रदेशले सुरु गरिसकेको उनको भनाई छ ।
सांसद पार्वती बिशुन्केको कडा आपत्ति
सङ्घीय सांसद पार्वती बिसुन्केले संक्रमित युवाको उपचार लगायत अन्य व्यवस्थापनमा ढिलाइबारे कडा आपत्ति प्रकट गरेकी छन् । सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया राख्दै जातीय वा अन्य आधारमा बिरामीको उपचारमा ढिलाइ गरिएको भन्दै उनले आपत्ति जनाएपछि जिल्ला स्वास्थ्य, जिल्ला प्रशासन दबाबमा परेको छ ।
सुर्खेतमा कार्यरत डाक्टरहरुले गरेको निर्णय पछि बिरामीलाई सुर्खेत नलगेर दैलेखमै राखिएको तत्थ्य खुलेपनि । यो बिषयले एकाएक राजनीतिक रूप धारण गरेको छ । नेकपा भित्रै पनि सांसदले दिएको प्रतिक्रियाले विभिन्न बहसहरु सृजना गरेको छ । सामाजिक सञ्जालमा पनि फरक फरक धारणाहरु आएका छन् ।
विश्लेषकहरूले यस्तो अवस्थामा यसलाई कुनै पनि रूप, रङ्ग वा राजनीतिमा केन्द्रित गर्न नहुने जनताको सुरक्षाका लागि सबैले आ आफ्नो स्थानबाट सकारात्मक सुझावहरु दिनुपर्ने सुझाव दिएका छन् ।






