शनिवार मात्रै ३३ गाडी दैलेख भित्रिए

  • पिसिआरको दायरा बढाउन माग

  • सीमा क्षेत्रबाट उद्धार गर्ने कार्य सुरु भएसँगै कामको खोजीमा भारत गएका युवाहरू गृह जिल्ला दैलेख भित्रने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । शनिवार मात्र दैलेख जिल्ला भित्रनेहरुको सङ्ख्या १२ सय बढी पुगेको छ । रानीमत्ता प्रहरीका अनुसार शनिवार मात्रै दैलेख जिल्लामा ३३ गाडी यात्रुहरु भारतबाट दैलेख भित्रिएका छन् ।
    दैलेखको गुराँसे नाका हुँदै दैलेख प्रवेश गर्नेहरुको सङ्ख्या बढेसँगै दैलेखका सबै विद्यालयका भवनहरुलाई अस्थायी वासस्थान बनाउने तयारी पनि तीव्र पारिएको छ । दैलेखको नारायण नगरपालिका भित्र रहेको नारायण क्याम्पसमा १ सय ५० जनाका लागि क्वारेन्टाईन निर्माण गरिएको भए पनि एक्कासि सङ्ख्या बढेपछि केही दिन समस्या भए पनि अहिले अवस्था सामान्य भएको छ । नारायण क्याम्पस भरिएपछि अहिले सदरमुकाम दैलेख बजारभित्र रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालय र रेडक्रस मा.बि. भूर्तिमा रातारात नयाँ क्वारेन्टाइन निर्माण गरेर व्यवस्थापन गरिएको छ । शनिवार मात्र नारायण नगरपालिकामा ४ सय ३० बढी नागरिक भित्रिएका छन् । दैलेख सदरमुकाममा रहेको नारायण नगरपालिकामा समेत भारतबाट आएका व्यक्तिहरू व्यवस्थापन गर्न चुनौती थपिएको जेनतेन व्यवस्थापन गर्दा पनि केही पत्रकारहरुले समस्या नबुझेरै अनावश्यक गतल कुराहरू बाहिर ल्याएकोमा वडा नं १ का वडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठले आक्रोस पोखेका छन् । सुरक्षा निकाय, जनप्रतिनिधि रातारात खटिएका छन् । काम गर्दा भएका साना गल्तीलाई ठुलो बनाउने र भएको कामलाई नदेख्ने प्रवृत्ति बन्द गर्दै सबै मिलेर यो बिपदको व्यवस्थापनका लाग्नुपर्ने श्रेष्ठको भनाई छ ।
    पालिकामा भएका विद्यालय भरीभराउ हुने अवस्था आईसकेको छ । मानिसहरू आउने क्रम रोकिएको छैन पालिकामा झनै समस्या बढ्ने निश्चित भएको महावु गाउँपालिकाका अध्यक्ष जङ्ग शाहीको गुनासो छ ।

    विदेशबाट ३९ सय बढी जिल्ला भित्रिए , पिसिआरको दायरा बढाउन माग
    लकडाउनको अघि र लक डाउन अवधिभर दैलेखमा भारत र अन्य तेस्रो मुलुकबाट दैलेख प्रवेश गर्नेहरुको सङ्ख्या ३ हजार ९ सय बढी भैसकेको छ । दैलेखमा शुक्रवार बिहान सम्म २ हजार ७ सय बढी मानिसहरू भारतबाट दैलेख जिल्ला प्रवेश गरिसकेका छन् । शनिवार १ हजार २ सय प्रवेश गरेको भनिएपनि कुन पालिकामा कहाँबाट कति आए भनेर तत्थ्याँक राख्न समेत समस्या उत्पन्न हुने अवस्था आईसकेको दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । गाडीका गाडी मानिसहरू जिल्ला र पालिकामा भित्रिएका छन् । तथ्याङ्क राख्न पनि हम्मे हम्मे हुने अवस्था सृजना हुन थालेको छ ।
    भारतबाट भित्रने क्रम बढेसँगै स्वाब परीक्षणको दायरा बढाइदिन केन्द्र र प्रदेश सरकारसँग दैलेखका स्थानीय सरकारले आग्रह गरेका छन् । अहिले सम्म स्वाब परीक्षण भने २ सय ५१ जनाको मात्र गरिएको छ । ¥यापिड टेस्ट मार्फत ८ सय ७२ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

    सबैलाई संयम हुन स्वास्थ्य कार्यालयको आग्रह
    आपतको यस्तो बेलामा सबैले संम्यमता अपनाउनुपर्ने सुझाव सुरक्षा निकाय र स्वाथ्यकर्मीहरुले दिएका छन् । यस्तो बेलामा दैलेखका संचारमाध्यामहरुले सकारात्मक भूमिका निर्वाह गरिदिन जिल्ला स्वास्थ्य कार्यालय दैलेखले आग्रह गरेको छ । आपतका बेलामा घरमा अस्पताल बनाउनुपर्ने अवस्था पनि आउन सक्छ । व्यवस्थित रूपमा आइसुलेसन अस्पताल बनाइएको र उक्त अस्पतालमा बिरामी उपचार गराउँदा जङ्गलमा राखियो भनेर गलत हल्ला फैलाउनुले भोलिका दिनहरूमा आउने समस्यासँग जुध्न सबैलाई गाह्रो हुने भन्दै बिपदका बेलामा सत्य कुरा बाहिर ल्याइदिन सम्बन्धित निकायलाई स्वास्थ्य कार्यालय दैलेखले सुझाव दिएको छ ।
    एकै दिन हजारौँ व्यक्ति आएपछि वासस्थानको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्य जाँच गर्ने कार्यलाई तीव्रता दिएको छ । पालिकाहरूले क्वारेन्टाइन निर्माण र अन्य व्यवस्थापनलाई तीव्र पारेका छन् । सुरक्षा कर्मीहरुको पनि जिल्लामा अभाव हुने सम्भावना बढेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार