श्याम विष्ट , कोहलपुर
कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको बेला कामको खोजीमा भारत गएका हजारौँ नागरिकहरू कर्णाली प्रवेश गर्ने क्रम रोकिएको छैन । विशेष गरेर लखनउ, रुपैडिया लगायतका नाकाबाट कर्णाली भित्रनेहरुको ठुलो भीड कोहलपुरमा पनि देख्न सकिन्छ । दैनिक हजारौँको सङ्ख्यामा कर्णाली प्रवेश गरिरहेका छन् ।
लामो समय सम्म भएको लकडाउनले भारतमा कामको सिलशीलमा गएका हजारौँ मजुदुरहरुले चर्को गर्मीमा दुःख झेल्दै कर्णालीका विभिन्न जिल्लाहरू प्रवेश गरिरहेका छन् । यातायातका साधनहरूको अभाव र अन्य समस्याले गर्दा गाडीमा कोचाकोच गरेर मानिसहरू गृह जिल्ला जानुपर्ने बाध्यता अहिलेपनि कायमै छ यसले सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम देखिएको छ ।
बुधवार मात्र भारतको महाराष्ट र दिल्लीबाट कर्णाली आउनेहरुको सङ्ख्या तीन हजार पाँचसय नाकामा पुगेको छ । ती व्यत्तिहरु २ वटा टे«न रिजर्भ गरेर आएको यात्रामै सहभागीले जानकारी दिएका छन् । सबैभन्दा धेरै दैलेखकै हुनसक्ने उनको भनाई छ ।
कर्णाली प्रवेश गर्नेहरूको सङ्ख्या बढेपछि जिल्लाका निर्माण भएका क्वारेन्टाइनहरु भरिभराउ भइसकेका छन् । विशेष गरेर कोहलपुरबाट कर्णाली प्रवेश गर्नेहरुमा सबैभन्दा धेरै दैलेखका नागरिकहरू प्रवेश गर्ने गरेका छन् ।

दैलेख जिल्लाका अधिकांश गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनहरु भरिसकेका छन् । क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने मापदण्ड नपुगेको भए पनि बाध्यताबस मानिसहरू राख्नुपरेको पालीहरुले जानकारी दिएका छन् ।
कर्णाली प्रदेशको दैलेखमा बुधवार पनि सयौँको सङ्ख्यामा मजदुरहरू आउने क्रम जारी नै छ । बाँकेको रुपैडिया नाकामा हजारौँ सङ्ख्यामा नेपालीहरू आउने क्रम जारी नै रहेको छ । लगातार भारतमा आफ्ना परिवार सहित घर बनाएर २० वर्षदेखी भारतमै बस्दै आइरहेका डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का रमेश कुरेल आफ्नो परिवार सहित अहिले दैलेख घर फर्कँदै छन् । कुरेल भन्छन् अब नेपालमै केही गर्नुपर्छ आफ्नो जन्मभूमि भनेको जन्मभूमि रहेछ । नेपालमै केही गर्छु भनेर अव विदेश नजाने भनेर नेपाल आएको हुँ ।
कोहलपुरबाट दैलेख आउन हिँडेका अधिकांश यात्रुहरूले सवारी चालकहरूले अत्यधिक भाडा असुल गर्ने गरेको र मानिसहरू पनि जथाभाबी कोचाकोच गरेर राख्ने गरेको गुनासो गरेका छन् । सम्बन्धित निकायहरूले यसबारेमा पनि तत्काल चासो बढाउनुपर्ने यात्रुहरूको गुनासो छ ।






