
दैलेख जेठ १९ ।
दैलेख सदरमुकाम दैलेखबजारको सबैभन्दा व्यवस्थित क्वारेन्टाइनको पहिचान बनाएको नारायण क्याम्पसको क्वारेन्टाइनमा विगत १२ दिनदेखी बस्दै आएका २ सय १८ जना मानिसहरू अन्तिम बिकल्पको रूपमा बिद्रोह गर्नुपर्ने अवस्थामा पुगेका छन् । सोमबार दिउँसो सम्मको रिपोर्टलाई आधार मान्ने हो भने ३४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ । रिपोट पोजेटिभ देखिएको आइतबारका १७ र सोमबार १७ जना गरेर ३४ जना अहिलेपनि २ सय १८ जनाकै हुलमा छन् । कुन व्यक्ति हो भनेर पहिचान गर्न एक दिन लागेको छ भने पहिचान गरेर छुट्टाउने काम सोमबार साँझ सम्म पनि हुन नसकेपछि क्वारेन्टाइन भित्र बसेकाहरुले संक्रमितलाई छुट्टै राख्न माग गर्दै आन्दोलन समेत गरेका छन् ।
अवस्था विकराल बन्दै जान थालेपछि नारायण क्याम्पसको क्वारेन्टाइननै सिल गर्नुपर्ने भन्दै स्वावस्थ्यकर्मीहरुले सुझाव दिएपछि जिल्ला समन्वय समिति प्रमुख प्रेम थापा, नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्का, जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्त र सुरक्षाकर्मीको टोलिले केहीबेर काउन्सिलिगं गरेको भए पनि अवस्था जटिल बन्दै गएको छ । साँझ चारबजेदेखि नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुले नाराजुलुस गर्दै आफ्नै घरमा गएर मर्छौं भन्दै झोला बोकेर एकाएक क्वारेन्टाइनबाट निस्केका छन् । १ घण्टाजती सडक बाहिर निस्केका उनीहरूलाई सम्झाई बुझाई पुनः क्वारेन्टाइन भित्र राख्ने काम सुरु गरिएको छ ।
अधिकांसको रिपोर्ट संकास्पद आएकोले नारायण क्याम्पसलाई नै आइसुलेसन अस्पताको रूपमा विकास गर्नुपर्ने र सिल गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरन्जन पन्तले जानकारी दिएका छन् ।
कर्णाली प्रदेश सरकारले जति बिरामी भए पनि जिल्लामै व्यवस्थापन गर्ने भन्दै दैलेखका कोरोना संक्रमितलाई सुर्खेत लिन नमानेपछि जिल्लामा अवस्था झनै चिन्ताजनक बन्दै गएको छ । सोमबार साँझ सम्म दैलेखमा ९८ जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लामा आईसुलेसन अस्पताल बनाउने स्थाननै अभाव भएपछि बिरामीहरु क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यतामा छन् ।
क्वारेन्टाइन भित्र बसेकाहरु पनि सामाजिक दुरी कायम गरेर बस्न सकेका छैनन्, सौचालय एउटा मात्र छ २ सय १८ जनाले प्रयोग गर्ने गरेका छन् , स्थान अभाव भएपछि छतमै सुत्नुपर्ने अवस्था आएको क्वारेन्टाइन भित्र बसेकाहरुको गुनासो छ ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु अत्यन्त संवेदशिल भएर बसिदिन आग्रह गरेका छन् । नारायण नगरपालिका भित्र मात्रै २१ वटा क्वारेन्टाइनमा बसेका हजारौं व्यक्तिहरुको व्यवस्थापन गर्न नगरपालिकालाई निकै चुनौती भएकोले सकेसम्मको व्यवस्थापनमा लागेको बताएका छन् ।






