
दैलेखको कोरोना संक्रमणको दर तीब्र बन्दै गएका बेलामा जिल्ला भित्रै पिसिआर मेसिन जडान गर्ने बिषय चर्को रुपमा उठेपछि संघीय सांसद रबिन्द्रराज शर्मा लगायतका संघीय माननीय र प्रदेश माननीयहरुको पहल पछि दैलेख सदरमुकाम दैलेख बजारमा पिसिआर मेसिन खरिदको अन्तिम तयारी सँगै सूचना प्रकाशन गरिएको छ ।
संघीय सांसद रबिन्द्रराज शर्माको निर्वाचन क्षेत्र बिकास कोष अन्तरगत यस बर्षको १ करोड रकम कोरोना महामारी रोकथामका लागि आवश्यक परेको पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति , सँगैजिल्ला निर्देशन समितिले रकमान्तर गरेर नारायण नगरपालिकाको बिपद् व्यवस्थापन कोषमा जम्मा गर्नै निर्णय गरेको छ ।
सांसद शर्माले यस बर्ष खर्च गर्नुपर्ने ६ करोड मध्ये सबै रकम दैलेख सदरमुकामको काँडाचौर देखि महावु सडक कालोपत्रेका लागि बिनियोजन गरेर तीनवटा भागमा कालोपत्रेको काम सुरु गरिएको थियो । ठेक्का मार्फत घटेर बचेको १ करोड रकम पिसिआर मेसिन खरिदका लागि रकामान्तरण गरिदिन भन्दै संघीय माननीय रबिन्द्रराज शर्मा, पार्वती बिसुन्के, जिल्ला समन्वय समिति दैलेख, प्रमुख जिल्ला अधिकारी, जिल्ला दैबी प्रकोप समिति, स्वास्थ्य कार्यालय दैलेख र प्रदेश सांसदहरुले बैठक बसेर अर्थ मन्त्रालयमा रकमान्तरका लागि निर्णय गरेर पठाए अनुसार अर्थ मन्त्रालयले स्वीकृति दिए लगत्तै काम सुरु गरिएको हो । नारायण नगरपालिका दैलेखले मेसिन खरिदका लागि सूचना प्रकाशन गरिसकेको छ । नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य समेत रहेका रबिन्द्रराज शर्माले दुई हप्ता अघि दैलेखमा पिसिआर मेसिन जडान गर्ने भनेर धमाका दैनिक सँगको बिशेष अन्तरबार्तामा बताएका थिए । मेसिन जडानको बिषयलाई अधिकाँसले सकारात्मक प्रतिक्रिया दिएपनि कतिपयले बिश्वास गरेका थिएनन् , अहिले रबिन्द्रराज शर्माको कामको शैलीको जिल्लामा चर्चा सुरु भएको जिल्ला समन्वय समिति दैलेखका संयोजक प्रेम थापाले बताए ।
मैले व्यक्तिगत रुपमा पनि बारम्बार मेसिन जडान गर्ने बिषयमा प्रदेश र संघका सांसदहरु, जिल्ला स्वास्थ्य, जिल्ला दैबी प्रकोप समिति सँग छलफल गरेको थिएँ, स्थानीय पालिकाहरुसँग पनि यो बिषयमा गम्भिर छलफल भएको थियो । यतिबेला भनेजति सेनिटाइजर र मास्क नपाउने बेलामा पिसिआर मेसिन दैलेखमा ल्याउने र जडान गर्ने बिषय निकै चुनौतीपूर्ण रहेकोले पनि धेरै बोल्न नमिलेको प्रेम थापाको भनाई छ ।

दैलेखका नागरिकहरुको स्वास्थ्य बचाउने अभियानमा आफु दिनरात खटिएको बताउँदै संघीय सांसद रबिन्द्रराज शर्माले अब केहीदिनभित्र मेसिन जडान हुने र स्वाब परीक्षण सहज हुने बित्तिकै धेरै समस्या समधान हुने बताए । संघीय सांसद पार्वती बिसुन्केले पनि आफुहरु काठमाडौं रहेर केन्द्र सरकारलाई दैलेखको बारेमा बारम्वार संसदमा कुरा उठाउनेमात्र नभै भेटघाटका क्रममा पनि दबाव सृजना गरेको बताएकी छन् । सांसद राजबहादुर बुढाले समेत सरकारलाई आफ्नो पैसाले हेलिकप्टर चढाईदिने भन्दै दैलेख पुग्न र समस्या बुझिदिन आग्रह गरेका छन् । प्रतिनिधि सभाका तीनवटै सांसदहरुले दैलेखको समस्याका बारेमा सरकार गम्भिरन नभएको भन्दै संसदमा निकै कडारुपमा प्रस्तुत भएका थिए ।
दैलेखको दुल्लु नगरपालिकामा पनि पिसिआर मेसिन जडानको तयारी थालिएको छ । प्रदेश सरकारले दुल्लुमा मेसिन जडानको अवस्था बिश्लेषणको बारेमा दुल्लु नगरपालिकालाई पत्र पठाईसकेको छ । दुल्लु नगरपालिकाले पनि प्रदेश सरकारले मेसिन प्रदान गरेको खण्डमा आवश्यक पर्ने पूर्वाधार, संचालनको लागि आवश्यक पर्ने जशक्तिको व्यवस्थापन गर्न सक्ने भन्दै प्रदेश सरकारलाई पत्र पठाएको जानकारी दिएका छन् । प्रदेशका सभासदहरु अमर थापा, शुसिल थापा, मिनासिंह रखाल, धर्मरेग्मी लगायत प्रदेश सभामुखले समेत दैलेखमा दिनप्रतिदिन फैलिएको कोरोना संक्रमणका बारेमा पहिलो आवश्यकताको रुपमा रहेका पिसिआर मेसिन तत्काल दैलेखमा जोड्न पहल थालेका छन् ।
स्वास्थ्य कार्यालय दैलेखमा पनि प्रदेश सरकारले स्वास्थ्य कार्यालयको व्यवस्थापनका लागि भनेर १ करोड ५० लाख रकम पठाईसकेको र केन्द्र सरकारले पनि केही महिना अघि ५० लाख रकम पठाएकोले दैलेखमा पनि आवश्यक पर्ने अन्य व्यवस्थापनका लागि त्यती धेरै समस्या नहुने बताईएको छ ।
दुवै स्थानमा पिसिआर मेसिन संचालन भएको खण्डमा पाएक पर्ने पालिकाहरुले समेत आवश्यक पर्ने रकम बिनियोजन गरेर तत्कालको समस्या समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अहिले काठमाडौंमा रहेका दैलेखी सेवा समाजका अध्यक्ष प्रताव शाही, डा. प्रकाश थापा, रबिन खड्का, युवा नेत्री दिपा शर्मा, सांसदहरु र अन्य शुभचिन्तकहरुले बिभिन्न प्रयासहरु गरिहेको जानकारी दिएका छन् । यो सँगै माननीय रबिन्द्र शर्मा सहितको टोलिले स्वास्थ्यमन्त्री भानुभत्त ढकालसँग भेटेर अन्तिम तयारीका लागि कुरा चलिरहेको छ । कतिपय प्रक्रियागत कुराहरुले केही समस्या भएको भएपनि अव केहीदिनभित्र दैलेखमा पिसिआर मेसिन पुग्ने दैलेखी सेवा समाजका अध्यक्ष प्रताव शाहीले बताए । दैलेखकी चेली दीपा शर्मा लगायको भूमिका महत्वपूर्ण रहेको शाहीको भनाई छ ।






