आइतवार र सोमबार दैलेखमा ५२ जनालाई कोरोना संक्रमण देखिएको छ । दैलेख सदरमुकामको मुख्य बजार नारायण नगरपालिकामा आइतवार २४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये जिल्ला कृषि विकास कार्यालय दैलेखका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार दुल्लु नगरपालिकामा २८ जनामा कोरोना संक्रमण देखिएको हो । दैलेखमा गरिएको परीक्षणमा २८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १९ जना भारतबाट आएका हुन भने ९ जना सर्वसाधारणलाई कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणको दर दैलेखमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अतिआवश्यक सेवा बाहेक सबै सेवाहरु पुनः बन्द गर्ने निर्णय गरेको छ ।
कर्मचारीहरुलाई नै संक्रमणको जोखिम बढ्न थालेपछि अनिवार्य रुपमा कार्यालय प्रवेश गर्दा सेनिटाइजर प्रयोग गर्ने, सावुन पानिले हात धुने, सामाजिक दुरी कायम गर्ने र आवश्यक बाहेकका अन्य कामहरु बन्द गर्न प्रशासनले सूचना जारी गरेको छ । बजारहरुमा हुने भिडभाँड अन्त्य गर्ने, दुरी कायम गरेर हिडडुल गर्ने र मास्क अनिवार्य प्रयोग गर्ने भन्दै प्रशासनले बारम्वार आग्रह गरेको छ ।
मास्क नलगाए एक सय जरिवाना
दैलेख सदरमुकाम लगायत अन्य बजार क्षेत्रहरुमा आवतजावत गर्नेहरुको संख्या बढ्दै गएपनि अधिकाँसले मास्क लगाएका छैनन् । जिल्ला प्रशासन कार्यालय दैलेखले मास्क नलगाए एक सय जरिवाना लिने भन्दै अनिवार्य मास्क प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरेको छ । बजार हिडेका मानिसहरु मध्ये १० प्रतिशतले मात्र मास्क लगाएको देखिएपछि जिल्ला प्रशासनले बाध्य भएर सूचना प्रकाशन गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रिले जानकारी दिएका छन् ।
गएको एकसाताभित्र ठाँटीकाँध, आठविस, महावु, नारायण र दुल्लू नगरपालिकामा करिव १ सय २० भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
दैलेखमा बिभिन्न ठूला धार्मिक मेलाहरु बन्द गर्ने निर्णय प्रशासनले गरेको छ । एक महिने लामो बर्षेमेला पनि पूर्ण रुपमा बन्द गरिएको छ । दैलेखको सबैभन्दा ठूलो धार्मिक मेलाको रुपमा परिचित महावु धाममा पनि यो वर्ष सामाजिक दुरी कायम गरेर मानिसहरुको आवतजावत गराउन सम्वन्धित पालिकाहरुलाई सहजिकरणका लागि जिल्ला प्रशासनले अनुरोध गरेको छ ।






