दैलेखमा कोरोनाको संक्रण तीब्र बन्दै गएसँगै कोरोना रोकथाम तथा बिपद् व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य र स्थानीय पालिकाहरुले कन्ट्र्याक्ट ट्रेसिङ्गका आधारमा परीक्षणको दायरा तिब्र पारेका छन् । संक्रमित व्यक्तिसँग सरोकार राखेका व्यक्तिहरु र आफन्तहरुलाई परीक्षणको दायरा भित्र ल्याउने अभियान थालिएको हो ।
कन्ट्र्याक्ट ट्रेसिङ्गका आधारमा गरिएको कोरोना परीक्षणमा अधिकाँसको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । आठवीस नगरपालिका १ सय ३ जनामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । नारायण, चामुण्डा, नौमूले लगायतबाट पठाएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । सोमबार दैलेख सदरमुकाममा एक जना र डुङ्गेश्वर गाउँपालिकामा १ जनामा मात्र संक्रमण देखिएको छ ।
सुरुवातीमा ह्वात्तै बढेको कोरोना संक्रमण ः केही मत्थर देखिएको भएपनि लकडाउन खुलेसँगै एकाएक बढेको थियो । दैलेखमै पिसिआर मेसिन संचालनमा आएसँगै समुदायमा कोरोना पुगे नपुगेको अध्ययन गर्न जिल्लाभर ८ सय जनाको स्वाब संकलन र परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रिले जानकारी दिएका छन् ।
जिल्लाभर ८ सय जनाको परीक्षण गर्दा नारायण, आठविस, ठाँटीकाँध, महावु लगायतका पालिकाहरुमा करिव १ सय २० जनामा कोरोना संक्रमण देखिएपछि समस्या बढ्न सक्ने भन्दै सर्तकता उच्च पारिएको छ । ठाँटीकाँध गाउँपालिकामा लगाईएको लकडाउन अँझै खुलेको छैन् । अन्य पालिकामा पनि समस्या बढ्न सक्ने भन्दै प्रहरीले अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गरेर बजार क्षेत्रमा प्रवेश गर्ने भन्दै जनचेतना अभियान तीब्र पारेको छ ।
दैलेखमा हालसम्म ९ सय ३२ जनामा कोरोना संक्रमण देखिएको भएपनि ८ सय १० जना निको भएर घर गएका छन् । बाँकी १ सय २२ जना अहिलेपनि बिभिन्न आईसुलेसन अस्पतालमा उपचार गराईरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।









