नगर सदस्य के.सी.का आरोपै आरोप क्वारेन्टाइन नगएरै कर्मचारीले खाए लाखौं भत्ता,भिडियो सहित


नारायण नगरपालिका दैलेख युवा नेता रमेश के.सी. बेला बेलामा चर्चामा आउने युवा नेताको रुपमा परिचित छन् । नारायण नगरपालिकामा हुने विकास गतिविधिहरूमा सुशासन र पारदर्शिता हुनुपर्दछ भन्दै सुरुवातका बर्षदेखिनै उनले आवाज उठाउँदै आएका छन् ।
मुलुक कोरोना कहरले समस्यामा परेका बेलामा फिल्डमा खटिएका कर्मचारीहरूलाई भत्तामा अन्याय गरेर क्वारेन्टिनमा पुग्दै नपुगेकाहरुले अनावश्यक राज्य कोषको रकम स्वाहा पार्न थालेको भन्दै पुनः उनी आन्दोलनमा छन् ।
आजको राउण्ड टेबलमा धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेको कुराकानीका आधारमा तयार पारिएको यो सामग्री ।
कोरोनामा नारायणको कस्तो व्यवस्थापन थियो ?
कोरोना महामारीमा नारायण नगरपालिकाले उच्च तहको व्यवस्थापन गरेको हो । यस्तो विपद् आउला र यतीधेरै भारत लगायत तेस्रो मुलुकबाट नागरिकहरु आउलान् भनेर कल्पना समेत नारायणले गर्न सकेको थिएन ।
मानिसहरु दैनिक १ देखि ३ हजार सम्म आउने र नगरपालिका बाट पुनः अन्य पालिकामा जाने क्रममा नारायण नगरपालिका जनप्रतिनिधिहरु निकै धेरै मेहनत गरेर व्यवस्थापनमा व्यस्त भएकै हौँ । सबैले आ आफ्नो जिम्मेवारी अनुसार काम भएकै हुन् । जनप्रतिनिधि सँगै हिजो विपद्का बेलामा ज्यान जोखिममा राखेर दुःख गर्ने कर्मचारीहरू कतिपयले अहिले पनि दुःख गरिरहेका छन् । दुःख गर्नेहरूलाई सम्मान छैन, केही टाँठाबाँठाहरुले कोरोनाको नाममा लाखौँ कुम्ल्याएका छन् । म यस्ता विषयको बारेमा सुरुवात देखिनै विरोध गर्दै आएको हुँ अहिले पनि विरोध गरेको छु ।
सरकार निमित्तको भरमा पालिका सञ्चालन नगर्ने भन्छ नारायणमा निमित्तको हालीमुहाली ?
देश भरी नभएको जात्रा दैलेखको नारायणमा चलेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा स्थानीय सरकार संचालन नगर्ने भन्दै देशैभर सरकारले नराख्न भनिरहेका बेलामा नारायण नगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई खाता संचालनको जिम्मेवारी दिएर अनियमिततामा मिलोमत्तो गर्ने प्रयास गरेको देखिएको छ ।
कोरोनाको बेलामा क्वारेन्टिनमा मुख नदेखाएका कर्मचारीहरुले कोरोना भत्ता खाएका छन् यो सबै मिलोमत्तोकै कारण हो । यस्तो तरिकाले नारायण नगरपालिका समृद्ध बन्न सक्दैन जनताको मत खेर गएको भान भएको छ ।
अख्तियारमा २१ मुद्दा आफैले दर्ता गरेँ सुनुवाइ भएन ?
स्थानीय सरकार सुरु हुँदै गर्दा कार्यालय व्यवस्थापन भनेर आएको १ करोड रकममा भएको अनियमितता लगायतका धेरै विषयहरूमा छानबिन हुनुपर्दछ भनेर नामै उल्लेख गरेर २१ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा दर्ता गरेको हुँ अहिलेसम्म सुनुवाइ भएको छैन, सुनुवाइ होला जस्तो लागेको छैन ।
कोरोना कहरमा तीन तीन पटक फजुल भत्ता ः
कोरोना कहरमा जनता समस्यामा छन्, राज्यले कर्मचारीलाई तलब सुविधा दिएकै छ, फिल्डमा खटेका अति दुःख उठाएका स्वास्थ्यकर्मी, सवारी चालक, कुचीकार, सरसफाइमा हिँड्ने कर्मचारीलाई भत्ता स्वाभाविकै हो तर घरबाट बाहिर ननिस्केकालाई समेत भत्ता दिएर जनताले उठाएको करमा रजाँई गर्न कसैलाई मिल्दैन ।
मैले खर्चको जानकारी लिँदा सूचनाको हक प्रयोग गर्नुप¥यो ?
नगरपालिकाको समग्र विकास गतिविधिमा महत्त्वपूर्ण राय सुझाव सल्लाह दिनुपर्ने निकायको रूपमा जिम्मेवारी पाएका नगर सदस्यले समेत खर्च भएको रकमको जानकारी माग्दा सूचनाको हक प्रयोग गर्नुपर्ने अवस्था आएपछि जनताले के सूचना पाए होलान् कल्पना गर्न गाह्रो भएको छ । नारायण नगरपालिका झनै अनियमिततामा फस्दै गएको आशंका बढेको छ ।
आफू निर्वाचित भएदेखि सूचना पाउनुपर्दछ, बैठकका निर्णय जानकारी दिनुपर्छ भन्दा समेत अहिले सम्म जानकारी पाएको छैन ।
५७ जनप्रतिनिधिमा
सुविधा नलिने एक्ला के.सी.
नगरपालिकामा ६० जना सदस्य हुन् , एक जना प्रतिनिधि सभा सदस्य हुनुभयो, २ जना जिल्ला समन्वय समितिमा जानुभयो अन्य ५७ जना मध्ये सरकारको सेवा सुविधा नलिने जनप्रतिनिधि एक्ला हुन रमेश के.सी. । अहिले सम्म नारायण नगरपालिकाबाट सुविधा लिएको छैन् । कोरोना संक्रमणका बेलामा निकै धेरै खट्नुपर्ने अवस्था आयो वडामा बाइक थियो तर मैले आफ्नै बाइक प्रयोग गरे, त्यतीवेला पेट्रोल अभाव भएपछि एक पटक २० लिटर तेल आपत् परेर अन्यत्र कतै नपाएपछि तेल हालेको हुँ । यस्तै सबैले गरेका खर्च जानकारी दिनुपर्छ कि पर्दैन । जनप्रतिनिधिले २ लाख सम्म भ्रमण भत्ता भनेर खाएका छन् मैले यो कारणले भत्ता खाएँ भनेर भन्न सक्ने क्षमतामा नारायणका जनप्रतिनिधिहरू छन् कि छ्रैनन् म चुनौती दिन चाहन्छु ।
कोरोनाको नाममा गाडीमा फजुल खर्च ?
केही वरिष्ठहरूले कोरोनाको नाममा सवारी साधन संचालनको बहाना बनाए, फजुल खर्च देखाएर अदृश्य रूपमा व्यक्तिगत नयाँ गाडी खरिद गर्ने योजनामा रहेको बुझिएको जनताले खबरदारी गर्नुपर्दछ । गाडीको भाडा बढाइएको छ, तेल नगरपालिकाबाट हालिएको छ , नहिडेको दिनमा गाडी गुडेको भन्दै कोरोनाको नाममा लाखौँ अनियमितता गर्ने तयारी छ । अनावश्यक रकम कुम्ल्याउनेमा अहिले प्रतिस्पर्धा बढेको छ । मेरो विरोध यस्तो विषयमा हो । जनतालाई सबै कुरा भन्न किन नसक्ने ।
नगर सभाका के हुन्छ नगर सदस्यलाई थाहा हुँदैन ?
नगर सभा संचालन हुन्छ, संचालन भएपछि निर्णयहरुको जानकारी गराएर बैठकको अन्त्य गर्नुपर्ने हो । ६ पटक सम्म नगर सभा संचालन भयो अहिले सम्म मैले के भयो भनेर जानकारी माग्दा पाएको छैन । आज एउटा शीर्षकमा बजेट देखिएको हुन्छ भोलि फेरी हुँदैन, आइटी, हाकिम र केही व्यक्तिको मिलोमत्तोमा धमाधम निर्णयहरू परिवर्तन हुन्छन् । कार्यपालिकाले कस्तो निर्णय गर्र्यो भनेर नगर सभाका सदस्यहरुले जानकारी पाउँदैनन् भने अन्य जनताहरुले कसरी पाए होलान् म विश्वास गर्न सक्दैन ।
के गर्नुपर्छ त अब ?
अझै पनि समय छ, अल्पकालीन , मध्यकालिक र दीर्घकालीन विकासका योजना बनाएर देखिने र परिवर्तन हात पर्ने काम गर्नुपर्ने थियो हुन सकेको छैन । जनतासँग सबै कुरा खुलस्त राखेर नगरपालिका अगाडी बढ्नुपर्दछ, व्यक्तिगत हैन जनताको स्वार्थमा लाग्नुपर्दछ । तीन वर्षमा डेढ अरब रकम विकासमा सकियो ५० करोडको मात्रै काम भएको देखाउन सक्ने क्षमता नगरपालिकाले राख्नुपर्दछ । जनताले पुनः मूल्याङ्कन गर्ने समय आएको छ । विकास सुशासन र दिगोपना सँगै जीवनस्तर परिवर्तन हुने खालका ठोस विकासमा नगरपालिका लाग्नुपर्दछ ।

https://www.youtube.com/watch?v=9BEvLyxgAd0

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार