
पुस २०, दैलेख
स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ ।
आईतबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन गरेको हुन । आर्युबेद सेवा लिनेहरुका लागि आरोग्य केन्द्रले जनतालाई निकै सहयोग पुग्ने चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिएका छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले संविधानमा भएको अधिकार बमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको बताएका छन् । औषधी आएर मात्र आरोग्य नहुने भन्दै सुनारले बजारमा म्याद सकिएका सामग्रीहरुको दैनिक प्रयोग बढ्दै गएकोले सामग्री खरिद गर्दा म्याद हरेर मात्र खरिद गर्न अनुरोध गरेका छन् ।
आरोग्य सेवा केन्द्रले नगरपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि, विरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने बताइएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक रञ्जनकुमार अधिकारी, दैलेखका प्रमुख अनुसन्धान अधिकृत डिगम्बर गिरि, जिल्ला आयुर्वेद चिकित्सक डा. प्रशन्त नेपाल लगायतको उपस्थिती रहेको थियो ।









