उकालो कोरोनाको ग्राफः छैन मापदण्ड पालना


चैत्र २९, काठमाडौं
यही चैत २८ मा देशभर कूल तीन हजार ५ सय ३२ जनामा गरिएको परीक्षणमा ३ सय ३७ मा कोभिड–१९ संक्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै संक्रमित भेटिएका थिए । एक महिनाको फरकमा संक्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रष्टयाउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरुपको भाइरस छ ।
यसपाली गत वर्ष जस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । शङ्कास्पद परीक्षणमा जान अनकनाउँछन् भने मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायत मापदण्ड पालनामा खास जागर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् ।
काठमाडौँको सुन्धारा, रत्नपार्कलगायत क्षेत्रमा आईतबार मास्क नलगाएका व्यक्ति धेरै भेटिए । ‘कोरोनाले अब खास केही समस्या हुने देखिएन, त्यसैले मास्क लगाइएन, नाम नबताउने एक जनाले भने ।
यो क्रम देशभरी नै छ । ठूलाठूला भीडभाड क्षेत्र, जात्रा, मेला, महोत्सव, राजनीतिक कार्यक्रम अहिले यत्रतत्र भइरहेका देखिन्छन् । तर, मन्दगतिमा संक्रमण दर बढिरहेको ग्राफले भने आमसमुदायको ध्यान तान्न सकिरहेको छैन ।
संक्रमणको ग्राफ बढिरहेको बताउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्छन, ‘अघिल्लो महिनामा बढीमा दैनिक एक सय बिरामी हुन्थे, अहिले झण्डै दोब्बर थपिएर दैनिक तीन सयभन्दा माथि देखिनु जोखिमतर्फ उन्मुख हुनु हो ।’ उनले अघिल्लो महिनामा सक्रिय संक्रमित ९०० को हाराहारीमा रहेकोमा आईतबार दुई हजार ७०० पुगेको जानकारी दिए ।
मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै संक्रमण बढ्न थालेको भए पनि पछिल्लो १०÷१२ दिनदेखि संक्रमणको रफ्तार अलि तीव्र छ । ‘अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुन्न’, डा गौतमले दाबीका साथ भने ।
अघिल्ले वर्ष यही समयमा भारतमा अत्यधिक संक्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासी संक्रमण दरको गति बढेको थियो । गत वर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको संक्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो ।
यसपटक पनि विगतको पुनरावृत्ति हुने आशङ्का जनस्वास्थ्यविद्को छ । अहिले भारतमा दिन प्रतिदिन कोरोनाको संक्रमण दर ह्वात्तै बढिरहेको छ । प्राप्त विवरणमा भारतमा पछिल्लो तथ्याङ्क हेर्दा एकै दिन एक लाख ५२ हजार संक्रिमित भेटिएका छन् ।
भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरुमा नयाँ भेरियन्टसहितको संक्रमण देखिएकाले अझै चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शङ्कास्पद व्यक्ति परीक्षणका लागि अस्पताल जान जागर देखाउन छाडेको जिकिर गर्नुहुन्छ । ‘शंकास्पद परीक्षणमा जानै पर्छ, क्वारेन्टिन बस्नैपर्छ, नभए अवस्था जटिल हुनसक्छ, अधिकारीले भने, अहिले ठूला शहर, नाका क्षेत्र, भारतबाट आउनेमा बढी संक्रमण देखिएको छ, डा अधिकारीले भने । प्राप्त विवरणअनुसार शनिबारसम्म नेपालमा संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ । तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
कोरोना बढ्न थालेपछि सरकारले विशेष सावधानी अपनाउन अपिल गरिसकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को हालैको बैठकले कोभिड संक्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ ।
केन्द्रले जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । तर जुन गतिमा हुनुपर्ने स्वास्थ्य सुरक्षाका कार्यक्रम भने न्यून देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार