युवकको मृत्यु पछि डाक्टर र बिरामी समेत तनावमा

बैशाख ४, दैलेख
दैलेखमा एकाएक कोरोना संक्रमणको दर बढेको छ । भारत मुख्य रोजगारी बनाएका युवाहरू धमाधम जन्मघर दैलेख फर्कने क्रम तीव्र भएसँगै कोरोना संक्रमणको दर उच्च बनेको हो ।
भारतको मुम्बईमा काम गर्दै गर्दा कोरोना संक्रमित भएर दैलेख आएका एक युवकको उपचारकै क्रममा शनिवार दैलेखको दुल्लू नगरपालिका स्थित दुल्लू अस्पतालमा मृत्यु भएको छ । उनी शुक्रवार मात्र दैलेख आएका थिए । मृत्यु हुनेमा छत्रबहादुर नेपाली रहेको दुल्लू अस्पतालले जानकारी दिएको छ । कोरोनाको लक्षण मिल्ने उनको श्वासप्रश्वासमा समस्या भएको भन्दै आफन्तहरूले उपचारका लागि दुल्लू अस्पताल ल्याएको तर कोरोना पोजेटिभ नभनेकोले दुल्लू अस्पतालमा रहेका तीन वटा डाक्टहरुले समेत सामान्य सुरक्षा मापदण्डमा उनको उपचार गरेका थिए ।
दुल्लू अस्पतालमा तनाव
मृतक नेपालीलाई कोरोना जाँच गर्ने किट समेत अस्पतालमा नभएकोले अन्य उपचार गरेको दुल्लु अस्पतालका डाक्टरको टोली कोरोना पोजेटिभ भएको खबर सुनेपछि तनावमा देखिएका छन् ।
मृतक नेपालीमा कोरोनाको लक्षण मिलेपछि संक्रमित हुन सक्ने भन्दै रिफर गरेर अस्पतालबाट पठाएका थियौँ । गाडीको व्यवस्थापन गर्ने क्रममै उनको मृत्यु भएको दुल्लू अस्पतालका डाक्टर रञ्जना रोकायले जानकारी दिएकी छन् । आफन्त र साथीभाइका अनुसार कोरोना पोजेटिभ भएपछि ती युवा घर परिवारको मुख हेरेर मर्छु भन्दै आफ्नो जन्मघर आएको अस्पतालले जानकारी दिएको छ ।
हामी तीन वटै डाक्टरहरू उपचारमा संलग्न भयौँ मास्क मात्र प्रयोग गरेका थियौँ, ग्लोब्स समेत लगाएका थिएनौँ, अहिले आफन्तहरू र मुम्बईमा काम गर्ने उनका साथिहरुसँगको खबर अनुसार उनको साथी समेत मुम्बईमा कोरोना संक्रमणकै कारण मृत्यु भएको र उनी पनि संक्रमित भएको भन्ने खबर पाएका छौँ । आधिकारिक डकुमेन्ट छैन, अस्पतालका अन्य इमरजेन्सीका बिरामीहरू समेत संक्रमणको जोखिममा परेका छौँ हामी तीन वटा डाक्टर समेत अहिले आफ्नो कोठामा बसेका छौँ ।
मृतक नेपालीलाई टिप्परमा राखेर उनको घर पुराइएको छ । आफन्तहरूले ढाँटेको भन्दै खोजवीन सुरु गरिएको छ । आफन्त र अन्य मानिसहरूमा पनि संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।
स्थानीय तहको चरम लापरबाही
अहिले छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण बढ्दै गएपछि अधिकांश पालिकाहरूमा भारतबाट आउनेहरूको घुँईचोनै लागेको छ । पालिकाहरुले भने विगतजस्तो सुरक्षा सतर्कता अपनाउन सकेका छैनन्, ठूला अस्पतालहरूमा समेत कोरोना जाँच गर्ने किट नहुनु विडम्बनाको कुरा भएको नागरिकहरूले गुनासो गरेका छन् । वडाका जनप्रतिनिधिहरू र पालिका प्रमुखहरूले लापरबाही गरेको स्थानीयको गुनासो छ ।
स्थानीय पालिकाहरू जिम्मेवार रहन भन्दै कोभिड विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर आवश्यक सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखबाट ताकेता गरिएको भए पनि स्थानीय सरकारहरू कानमा तेल हालेर बसेको गुनासो प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको रहेको छ ।
सिमानामा रहेका कोरोना पोजेटिभलाई सिमानाकै जिल्लामा राखेर उपचार गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले बाँके, कैलाली लगायतका प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरेको प्याकुरेलले बताए ।
नेपालगन्जबाट दैलेख आउन लागेका ६ जनामा संक्रमण देखिएपछि उतै रोकियो
भारतबाट नेपालगन्ज हुँदै दैलेख आउँदै गरेका ६ जनामा शनिवार कोरोना संक्रमण देखिएपछि नेपालगन्जकै कोभिड अस्पताल र आइसुलेसनमा राखेर उपचार गर्न भन्दै नेपालगन्जमै रोकिएको र उपचार र अन्य खर्च सम्बन्धित पालिकाले बेहोर्न खबर गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
गुराँसेमा हेल्थ डेस्क नै छैन
सबै पालिकाहरुले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेमा हेल्थडेस्क स्थापना गरेर उपचार सुरु गर्ने भन्दै दुई साता अघिदेखि निर्णय गरिएको भए पनि स्थापना हुन सकेको छैन । जिल्ला प्रशासनको निर्देशन नमान्ने स्थानीय तहलाई कारवाही प्रक्रिया थाल्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार