बैशाख १४, दैलेख
दैलेखमा दोस्रो चरणको कोरोना संक्रमण दर बढ्दै गएको छ । जिल्लामा सक्रिए संक्रमितहरु ५५ भन्दा बढी देखिएका छन् । दोस्रो चरणको कोरोना संक्रमण ६७ जनामा देखिएको छ । भारतबाट दैलेख जिल्ला भित्रनेहरुको संख्या अत्याधिक मात्रामा बढेको छ । भारतबाट संक्रमित भएर आएका एक जनाको दैलेखमा मृत्यु भैसकेको छ ।
भारत रोजगारी गर्न गएका दैलेखका बासिन्दाहरुको कोरोना संक्रमणका कारण भारतमै मृत्यु हुनेको संख्या पनि १५ भन्दा बढी पुगिसकेको छ ।
दैलेखमा संक्रमण दर बढेसँगै स्थानीय प्रशासनले सक्रियता बढाएको छ । बिभिन्न चरणहरुमा सजग रहन आग्रह गर्दा समेत वास्था नगरेपछि स्थानीय प्रशासन कडाइका साथ अघि बढ्ने तयारी थालेको हो । आवश्यकताका आधारमा तत्काल लकडाउनको तयारी समेत थालिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
जिल्लाभरका ११ वटै पालिकाहरुसँग जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा र राजबहादुर बुढा लगायतको उपस्थितीमा गरिएको भर्चुवल बैठकबाट यस्तो निश्कर्ष निकालिएको हो । दोस्रो चरणको कोरोना संक्रमण दर बढ्दै जानु सिमा नाका मानिएको नेपालगंजमा एकाएक कोरोना नियन्त्रण बाहिर जानु र सुर्खेत समेत निकै संवेदनशिल अवस्थामा रहेको बिश्लेषण गर्दै दैलेखमा पनि लकडाउनको तयारी थालिएको हो ।
हरेक पसलहरुले आफ्ना पसलमा भिडभाड नगर्न, पसल अगाडी डोरी लगाउन, अनिवार्य रुपमा सेनिटाइजरको प्रयोग गर्न र माक्स लगाएर मात्र सदरमुकाम दैलेख बजार लगायतका अन्य व्यापारिक क्षेत्रहरुमा आवतजावत गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले सुझाव दिएको छ । जिल्लामा रहेका तीनवटै सुरक्षा निकायहरु नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने भएको छ । पहिलो चरणमा सबैलाई सचेत हुन भनेका छौं सचेत नहुनेलाई प्रचलित कानुन अनुसार कारवाही प्रकृया थालनी गर्ने तयारी भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
स्वास्थ्य सेवा कार्यालयमा रहेका भेन्टिलेटर सञ्चालन गर्न माग
स्वास्थ्य सेवा कार्यलय दैलेखमा आपतकालिन सेवाका लागि आइसियू र भेन्टिलेटर जडान भैसकेको भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन् । कोरोना संक्रमणको महामारी बढ्दै गर्दा स्वास्थ्य सेवा कार्यालय र कोभिड अस्पताल दुवैलाई आपतकालिन रुपमा प्रयोग गर्ने तयारी थालिएको छ । स्वास्थ्य सेवा कार्यालयमा जडान गरिएको आइसियू र भेन्टिलेटर सञ्चालन हुन सकेको छैन जडान मात्र भएर नहुने भन्दै तत्काल सञ्चालनको तयारी थालिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिर प्रसार रेग्मीले जानकारी दिएका छन् । दुई चार दिनमा हामी सञ्चालन गर्छौ जनताको स्वास्थ्य सुरक्षा हाम्रो पहिलो दायित्व हो रेग्मीले भने ।
पिसिआर ल्याव सञ्चालन भयो
पहिलो पटक कोरोना संक्रमण बढेका बेलामा प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १ करोड बढी लागतमा सञ्चालन गरिएको पिसिआर ल्याव दैलेखमा पुनः सञ्चालन गरिएको छ । प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माको पिसिआर जाँच सँगै मंगलवार देखि दैलेखमा पिसिआर ल्याव सञ्चालन गरिएको हो । पिसिआर ल्याव सञ्चालन सँगै अव दैनिक सयौं बिरामीहरुको अवस्था पहिचान हुने र सुरक्षित हुन सहज हुने देखिन्छ । अव कोरोना संक्रमणको चेकजाँच दैलेखमा तीब्र पारिने र सोही अनुसार जनतालाई सुरक्षीत हुन आग्रह गरिने स्वास्थ्य सेवा कार्यलय दैलेखका निमित्त प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।
स्थानीय पालिकाहरुलाई
सचेत हुन आग्रह
जिल्ला प्रशासन कार्यालय दैलेख कोभिड नियन्त्रण बिपद व्यवस्थापन समितिले दैलेखमा रहेका ११ वटै स्थानीय पालिकाहरुलाई बेलैमा सचेत हुन र जनताको स्वास्थ्यका बारेमा ख्याल गर्न ताकेता गरिसकेको छ । पालिकाहरुले निर्माण गरेका आइसुलेसन अस्पतालहरु र आवश्यक मात्रामा अक्सिजन सिलिण्डर खरिद गर्न जिल्ला प्रशासन कार्यालय दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरिसकेको छ । जनतालाई जोगाउन आवश्यक पर्ने सवै बिषयहरुमा पालिकाहरु आफै सचेत हुनका लागि हामीले आग्रह गरिसकेका छौं स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिरप्रसार रेग्मीले जानकारी दिएका छन् ।
जिल्ला समन्वयको अगुवाइमा सर्वदलिय बैठक
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाको अगुवाइमा जिल्लामा रहेका सबै राजनीतिक दलहरुको उपस्थितीमा सर्वदलिय बैठक सम्पन्न भएको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिदै जान थालेपछि सबै राजनीतिक दलहरुले अपनाउनुपर्ने दायित्वका बारेमा छलफल गरिएको छ । बिशेष गरेर भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरु र उनका घर परिवार सँगै टोलको सुरक्षा गर्ने रणनीतिका बारेमा छलफल गरिएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिएका छन् । जिल्लामा सञ्चालन भएका ठूला विकास निर्माणका कामहरुका लागि आवश्यक पर्ने सामग्रीहरु, दैनिक उपभोग्य सामग्री, ग्याँस लगायतको सहज आपूर्ति लगायतका बिषयमा छलफल गरिएको छ ।






