काठमाडौं ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने तयारी थालेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक साताभित्र चीनबाट सिलिन्डर आउने जानकारी दिएका छन् । नेपालमा अक्सिजनको अभाव छैन तयर सिलिन्डर नहुँदा समस्या परेकोले समस्या समाधानका लागि तत्काल खाली सिलिण्डर ल्याउने तयारी रहेको बताए ।
मन्त्रालयले प्राणवायु (अक्सिजन) को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ ।
नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।









