दैलेखमा १५ थान अक्सिजन सिलिन्डर पुग्यो

  • अक्सिजन प्लान्ट जडानको तयारी तीव्र
  • बैशाख २३, दैलेख
    जिल्ला स्वास्थ्य कार्यालय दैलेख जिल्लाभरका सबै खाले बिरामीहरूको उपचार गर्ने अस्पताल हो ।
    पछिल्ला दिनहरूमा कोरोना संक्रमणको दर उच्च भएसँगै दैलेखमा अक्सिजनको समस्या देखिएको छ । जिल्लामा उपलब्ध सिलिन्डरहरूले पर्याप्त मात्रामा अक्सिजनको अवयस्कता पुरा गराउन नसक्ने अवस्थालाई विश्लेषण गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले १५ थान खाली सिलिन्डर दैलेखका लागि उपलब्ध गराएका छन् । उपलब्ध खाली सिलिन्डरहरू भरेर अहिले दैलेखको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आइपुगेको छ ।

    देशभरका उद्योगहरूको व्यवस्थापन सँगै पछिल्लो पटक नेपालमा देखिएको कोरोना संकट महामारीमा अक्सिजनको समस्या बढ्दै जान थालेपछि नेपालमै सञ्चालित उद्योगहरूलाई पर्याप्त मात्रामा अक्सिजन उत्पादनका लागि नेपाल सरकारका प्रधानमन्त्री के.पि.शर्मा ओलिले मुख्य प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको र सोही अनुसार आफूले पनि काम गरिरहेको बस्नेतले जानकारी दिएका छन् ।
    दैलेखका लागि कालिकोटका निर्माण व्यवसायसँग स्टक रहेको खालि सिलिन्डर उपलब्ध गराएको नन्द बस्नेतले जानकारी दिएका छन् । आफ्नो जन्मथलो दैलेख जिल्लाका नागरिकहरू अक्सिजन अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि अक्सिजन सिलिन्डर व्यवस्थापन गरेको हुँ, सरकारले नै सबै जिल्लामा यसको व्यवस्थापन गर्न थालेको छ । तत्काल चिन बाट खाली सिलिन्डर आएपछि समस्या धेरै मात्रामा सहज हुने बस्नेतले जानकारी दिएका छन् ।

    खाली सिलिन्डर भर्न प्रजिअनै सक्रिय

    कर्णाली प्रदेशको मुख्य नाका मानिएको प्रदेश ५ को नेपालगन्जमा कोरोना संक्रमणका बिरामीहरू दिनप्रतिदिन बढी रहेका छन् । अधिकांश बिरामीहरूलाई अक्सिजनको आवश्यकता देखिएपछि कर्णाली प्रदेशले भर्खर सुरु गरेको अक्सिजन प्लान्टले प्रदेश अस्पतालका लागि मात्रै केही जोहो गरेको देखिन्छ । कर्णाली प्रदेशका अन्य ९ जिल्लामा पठाउने अक्सिजन सिलिन्डर भर्न नेपालगन्जमा प्रमुख जिल्ला अधिकारीले नै सक्रियता देखाएका छन् । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको आग्रहमा दैलेखमा १५ वटा सिलिन्डर भरेर दैलेख ल्याइएको छ । दुई चार दिनका लागि जोहो भएको भए पनि दैलेखमा अक्सिजनको अभाव हुन नदिन अन्य वैकल्पिक व्यवस्थापनको तयारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् । दैलेखका व्यवसायी रूपक थापाले पनि ३ वटा अक्सिजनको खालि सिलिन्डर जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई प्रदान गरेका छन् ।

    दैलेखमा जेनतेन ५० सिलिन्डर

    जिल्लामा संक्रमितहरुको संख्या बढ्नुका साथै अनिवार्य अक्सिजन दिनुपर्ने बिरामीहरूको संख्या पनि बढीरहेको छ । जिल्लाभरका बिरामीहरूले उपचार गर्ने दैलेख अस्पतालमा अहिले जेनतेन ५० वटा मात्र सिलिन्डरहरू रहेका छन् । यस अघि ३० वटा मात्रै थिए, अहिले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले १५ थान, रूपक थापाले ३ थान सिलिन्डर दिएपछि जेनतेन ५० थान पुगेको छ । केही दिनका लागि समस्या समाधान हुने भए पनि दिगो समस्या समाधानका लागि अक्सिजन प्लान्ट जडानको तयारी भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

    अक्सिजन प्लान्ट जडानको लागि टेन्डर भयो तर जडानमा ढिलाइ हुने संकेत


    दैलेखमा अक्सिजन प्लान्ट जडानको विषय करिब ३ महिना अघिदेखि उठेको हो ।
    स्वास्थ्य सेवा कार्यालय दैलेखले अहिले टेन्डर प्रक्रिया मार्फत काम थालनी गरेको छ । ठेकेदार कम्पनीहरूले आर्थिक प्रस्ताव पेस गरिसकेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखले छिटो काम गर्न अनुरोध गरेको भए पनि ठेकेदार कम्पनीले समान अभाव भएको सङ्केत गरेको छ ।
    स्वास्थ्य सेवा कार्यालय दैलेख र प्रमुख जिल्ला अधिकारीले तत्कालै अक्सिजन प्लान्ट जडानका लागि निर्माण व्यवसायीलाई ताकेता गरेका छन् । भनेकै समयमा जडान हुन नसक्ने अवस्था आए वैकल्पिक विधि प्रयोग गरेर भए पनि काम अघि बढाउने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।

    जिल्लामा ३५० सक्रिय संक्रमित ६० जनाले कोरोना जिते, ६ को मृत्यु

    दैलेखमा सक्रिय संक्रमितको संख्या ३ सय ५० जना पुगेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार ३ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । दोस्रो चरणको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    गाउँ गाउँमा अझै संक्रमणको दर बढ्न सक्ने भएकोले सबैलाई सुरक्षित रहन आग्रह गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् । दोस्रो चरणको कोरोना संक्रमण भएका मध्ये ६० जनाले कोरोना जितेर घर फर्केका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार