असार १, दैलेख
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गरेको छ । कुल वजेट रु. ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बिनियोजन गरिएको छ । जसमध्ये पूँजीगत खर्च तर्फ रू. २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार (५९ प्रतिशत), चालु खर्च रु. ११ अर्ब ४९ करोड २७ लाख ७० हजार (३१ प्रतिशत) र वित्तीय हस्तान्तरण तर्फ रु. ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार (१० प्रतिशत) बजेट बिनियोजन गरेको हो ।
कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली सरकारले बजेट ल्याएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमै कर्णालीका अस्पतालहरुमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन, अस्पतालहरुको स्तरबृद्धि, लगायतका काम प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको मन्त्री शर्माले बजेट भाषण मार्फत घोषणा गरेका छन् ।
दैलेख अस्पताल एक सय शैयाको बनाइने
कर्णाली प्रदेश सरकारले दैलेखको स्वास्थ्य सेवा कार्यालयलाई एक सय शैयाको अस्पतालमा स्तरोन्नती गर्ने भएको छ । प्रदेश सरकार मार्फत भौतिक पूर्वाधारका लागि यस वर्ष अत्याधुनिक अस्पताल निर्माणका लागि ठेक्का स्वीकृत गरि बहुबर्षे कार्यक्रम समेत सुरु गरिसहेको छ ।
दैलेख लगायत कालिकोट, रुकुम जाजरकोट लगायतका अस्पतालाई समेत १ सय शैयाको निर्माण गरिने भएको छ । प्रदेश राजधानी सुर्खेतमा ५ सय शैयाको अस्पताल निर्माण गर्नै भन्दै बजेट बिनियोजन गरिएको छ ।
प्रदेश सरकारले शिक्षा स्वास्थ्य, रोजगारी, कृषि पर्यटन लगायतका क्षेत्रमा पनि उल्लेख्य बजेट बिनियोजन गरेको छ । कर्णाली प्रदेश भित्र दक्ष प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीहरुलाई बिशेष सुविधा सहिति शिक्षा आर्जन पश्चात कर्णालीमै बसेर काम गर्ने गरी सहुलियत दिने घोषणा गरेको छ । कर्णाली प्रदेशमा स्नातकोत्तर अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विश्व विद्यालयसँग समन्वय गरेर कर्णाली विकास स्वयंसेवक कार्यक्रम मार्फत परिचालन गरिने भएको छ ।
कृषकहरुको उत्पादन, बजारिकरणका लागि प्रदेश सरकारले बिभिन्न प्रभावकारी कार्यक्रम ल्याएको छ । दैलेखमा मिनिकोल्डस्टोर निर्माण गरिने भएको छ । रैथाने बालिहरुको उत्पादन र बजारिकणका लागि समेत सरकारले बजेट व्यवस्थापन गरेको छ । कर्णाली प्रदेशभर उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्मा प्रदान गर्ने र अन्य २ सय जना किसानहरुलाई पुरस्कृत गर्ने कार्यक्रम अन्र्तगत ४० लाख रकम बिनियोजन गरिएको छ । कर्णालीका सवै जिल्लाहरुमा कम्तीमा २ रोपनी जग्गामा २ सिजन तरकारी खेती गर्ने किसानहरुलाई प्रति रोपनी ५ हजारका दरले अनुदान प्रदान गरिएको छ ।









