
दैलेख ः कोरोना भाइरस कोभिड– १९ पूर्वतयारी तथा प्रतिकार्यका लागि पालिकामा खटिएका स्वयंसेवकहरुलाई अभिमुखीकरण गरिएको छ ।
नयाँ भेरियण्ट ‘ओमिक्रोन’ को जोखिम नेपाल र दैलेख जिल्लामा पनि बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रेडक्रसका पालिका स्तरका स्वंसेवकहरुले पूर्वतयारी र प्रतिकार्यमा कसरी काम गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको हो ।
कार्यत्रममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेषबहादुर थापाले रेडक्रसले सरकारको सहयोगीका रुपमा काम गरेको बताउँदै अक्सीजन कन्सन्ट्रेटर, अक्सीजन सिलिण्डर, मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य तथा सुरक्षा सामग्री जिल्लाका अस्पताल, स्वास्थ्य संस्थाहरु र समुदाय स्तरमा वितण गरेको र अँझै सामाजिक काम गर्न तयार रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला सभापति एवं केन्द्रीय सदस्य खेमराज के.सी.ले कोभिड–१९ को पहिलो र दोश्रो चरणमा देखा परेको संक्रमण र मानवीय क्षतिको बिश्लेषण सँगै दक्षिण अफ्रिकामा देखा परिरहेको उत्परिवर्तित भेरियन्टका बारेमा नेपाल र दैलेखका बासिन्दाहरु पनि सुरक्षित हुनुपर्ने अवस्था आएकोले सबैले आ–आफ्नो क्षेत्रमा प्रभावकारी र सुरक्षित रुपमा काम गर्न स्वयंसेवकलाई आग्रह गरेका छन् ।
रेडक्रस केन्द्रीय कार्यालयको समन्वयमा रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाद्वारा पूर्वतयारी बारेअभिमुखीकरण सम्पन्न गरिएको हो ।






