दैलेखः नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका इन्चार्ज लक्ष्मी पोखरेरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई विहिवार स्वास्थ्य सेवा कार्यालय दैलेखमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
केही समय अघिसम्म जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको भएपनि पछिल्ला दिनमा कोरोना संक्रमणको दर बढ्दै गएको छ ।
केही दिन अघि मात्रै डुङ्गेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनालाई संक्रमण पुष्टि भएको जनाइएको छ । जिल्लामा पछिल्ला दिनहरुमा कोरोनाका विरामी फेला पर्न थालेसँगै स्वास्थ्य सेवा कार्यालय दैलेखले आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । यता, जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लामा हुने राजनीतिक दलका कार्यक्रम, मेला, महोत्सव लगायतका भिडभाड हुने कार्य नर्गन सूचना जारी गरेको छ ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का विरामीहरु फेला पर्न थालेपछि सरकारले देश भरका विद्यालय माघ १५ सम्म बन्द गर्न निर्देशन दिएको छ ।
कोरोनाको तेस्रो लहर फैलिए पनि स्थानीय सरकारले भने नागरिकलाई संक्रमणबाट बचाउन चासो दिएको भने देखिदैन । नागरिक स्तरबाट पनि स्वाथ्यका मापदण्ड पूरा नगरिएको देखिनुले यहाँ दोस्रो लहर जस्तै कोरोना फैलिन सक्ने देखिएको छ ।
आम नागरिकले कोरोना जस्ता महामारीबाट बच्न सरकारले अपनाएका स्वास्थ्य मापदण्डको पालना गर्दै दैनिक कार्य गर्नुपर्ने देखिन्छ ।






