
दैलेख : दैलेखको काँडाचौरमा यो वर्षको तिज परम्परा जोगाउँदै सम्पन्न भएको छ । अर्काले गाएको गीतमा नित्य गर्ने प्रचलन बढ्दै गएका बेलामा यो वर्ष दैलेखको काँडाचौरमा सम्पन्न भएको तिज मेलामा महिलाहरुले परम्परागत शैलीमा तिजको जात्रा मनाएका छन् । मादलको तालमा पुराना भाका गाउँदै तिजको मेला सम्पन्न भएको हो ।

पुरानो तिजको संस्कृति जोगाउने अभियान अन्तर्गत नारायण नगरपालिका वडा नं. ६ ले तिज गीत प्रतियोगिता समेत सञ्चालन गरेको थियो । प्रतिस्पर्धामा भाग लिएका महिलाहरुले तीनै तहका सरकारलाई गीत मार्फत खवरदारी व्यक्त गरेका थिए, केहीले महिलाहरुको सानै उमेरमा हुने विवाह पश्चात आउने समस्याका बारेमा गीतमार्फत जानकारी गराएका थिए, केहीले परम्परागत तिजका भाकामा गीत गाएका थिए ।

दुई वर्ष अघिदेखि कोरोनाका कारण सुनसान बनेको तिजको मेला यो वर्ष केही मात्रामा उपस्थिती भएको र परम्परागत शैलिमै तिजलाई लैजाने अभियान अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको वडा नं. ६ का वडा अध्यक्ष जनक न्यौपानले जानकारी दिएका छन् ।
महिलाहरुले वर्त बसेर मनाउने तिज पर्वलाई सामाजिक कुरिती र कुसंस्कारको अन्त्य गर्नेतर्फ बिशेष ध्यान दिने काम गरेको र बिभिन्न जनचेतनामुलक गितहरु प्रस्तुत गरेको प्रति नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता खड्काले धन्यवाद प्रकट गरेकी छन् ।






