सुर्खेत: बाँकेमा फैलिएको दादुरा प्रकोप बढिरहेको अवस्थामा सुर्खेतमा समेत दादुराका बिरामी भेटिएका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार हाल जिल्लाको गुर्भाकोटका नगरपालिका–७ की ११ वर्षीया बालिका, चिङ्गाड गाउँपालिकाका ३५ वर्षीय एकजना पुरुष र वीरेन्द्रनगर नगरपालिका–५ का १ वर्षीय बालकमा दादुरा संक्रमण देखिएको बताए ।
डा. खड्का अनुसार एकजना संक्रमित केही दिनअगाडि हाल संक्रमण फैलिरहेको बाँकेबाट आएको भए पनि अन्य २ संक्रमितमा भने ट्राभल हिस्ट्री नभएको बताए । ‘सुर्खेतमा पनि दादुराका बिरामी देखिएका छन्, हालसम्म संक्रमितले खोप नलगाएको पाइएको छ, संक्रमण देखिएपछि शंकास्पद बिरामी खोजी गरी परीक्षणको दायरा बढाएका छौं ।’ उनले भने । डा. खड्काले दादुरा देखिएका व्यक्तिको सम्पर्कमा रहेका २५ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको समेत बताए ।






