निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

दैलेख : जिल्लाको भैरवी गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शनिवार हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको १ दिवसीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र महाबु गाउँपालिकाका २ सय ९० महिला र २ सय १० पुरुष गरि जम्मा ५ सय जना बिरामीले सेवा लिएका छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले भैरवीका नागरिकहरूको स्वास्थ्य अवस्थालाई लिएर शिविर गरिदिएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखलाई धन्यवाद दिइन् । उनले यस्ता कार्यक्रममा सबैको सहकार्य हुनुपर्ने बताउँदै गाउँपालिकाले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताइन् । नागरिकको स्वास्थ्य भन्दा ठुलो कुरा अरू केही नभएकोले सबै नागरिकले आ–आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध समेत गरिन् ।

आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तरगत जिल्लाको भैरवी गाउँपालिकामा निःशुल्क १ दिने आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । घर आँगनमै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिदा आफूहरूले गाउँघरमै स्वास्थ्य सेवा पाएको भैरवी गाउँपालिका–३ की पवित्रा आचार्य बताइन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख राम प्रसाद महतले आयुर्वेद स्वास्थ्य संस्थाको पहुँच नभएका ठाउँमा आयुर्वेद स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्दै आएको बताउँदै उनले जनतालाई सेवा दिने उद्देश्य भए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसङ बजेट अभाव भएका कारण स्थानीय सरकारले सहयोगको भावना विकास गरे आयुर्वेद स्वास्थ्य सेवाले निरन्तरता पाउने बताए ।

शिविरमा विभिन्न किसिमका नसर्ने रोगका बिरामी जस्तै बाथअम्लपित, श्वासप्रश्वास, मुटु सम्बन्धी समस्या, माइग्रेन, पिसाब सम्बन्धी समस्या तथा महिला सम्बन्धी रोग, सेतो पानी बग्ने, महिनावारि हुने बेला पेट दुख्ने समस्या भएका बिरामीलाई डा.प्रज्ञा उपाध्यायले चेकजाँच गरेकी थिइन । शिविरमा ३३ किसिमको औषधी वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार