नौमूलेमा स्वास्थ्य गोष्ठी सम्पन्न

दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा पालिका स्तरीय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । नौमूले गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने स्वास्थ्य गोष्ठी सम्पन्न भएको हो ।

गाउँपालिका स्तरीय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा बोल्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य निर्देशक नमराज सुवेदीले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड पूरा हुनका लागि चाहिने सूचकहरूमा व्यवस्थापनको पार्ट महत्वपूर्ण हुने बताए ।

‘पहिलो कुरा न्यूनतम स्वास्थ्य सेवा मापदण्डका लागि व्यवस्थापन महत्वपूर्ण हुन्छ, स्वास्थ्य व्यवस्थापन समितिको नियमित बैठक, स्वास्थ्य संस्थामा कर्मचारीहरूको नियमितता, स्वास्थ्य संस्थाहरूमा पानी, एम्बुलेन्स, स्टेचर छ छैन, स्वास्थ्य सामग्रीको उपलब्धता विद्युत, जनशक्ति, ओपिडी सेवा लगायतका साना–साना कुरा आवश्यक हुन्छन्’, जनस्वास्थ्य निर्देशक सुवेदीले भने । सुवेदीले स्वास्थ्य संस्थामा प्रभावकारी सेवा हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य संस्थामा हुने कमी कमजोरीको पत्ता लगाएर स्कोर अङ्कमा नापी राष्ट्रिय स्वास्थ्य नीति २०७१ अनुसार मूल्याङ्कन गरिने बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम गुरुङ्गले गत वर्ष नौमूलेका ६ वटा स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवालाई स्कोर अङ्कमा नाप्दा सबै भन्दा बढी अङ्क तोली स्वास्थ्य चौकी ६४, बालुवाटार स्वास्थ्य चौकीले ६३, द्धारी स्वास्थ्य चौकीले ४८, कालीका स्वास्थ्य चौकीले ४६, चौराठा स्वास्थ्य चौकीले ४४ र सल्लेरी स्वास्थ्य चौकीले ५९ अङ्क प्राप्त गरेका बताए ।

अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा बोल्दै गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले स्वास्थ्य संस्थामा दिने सेवाहरुको विकासका लागि व्यवस्थापनको पाटो महत्वपूर्ण हुने बताए । उनले नागरिकलाई गुणस्तरीय सेवा दिनका लागि वडाबाट निर्वाचित जनप्रतिनिधिले राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार