कहीँ धमाधम काम, कतै डिपीआर बनाइँदै

दैलेख: संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माण गर्ने योजना हालसम्म अलपत्र परेको पाइएको छ । ११ स्थानीय तह रहेको दैलेखमा केही स्थानीय तहले अस्पताल निर्माणको काम धमाधम अघि बढाएका छन् भने केही स्थानीय तहले हालसम्म डिपिआर निर्माण कार्यलाई अन्तिमरुप दिन नसक्दा अस्पताल निर्माण कार्य अलपत्र परेका हुन् ।
यहाँको डुङ्गेश्वर गाउँपालिकाले संघीय सरकारमार्फत निर्माण हुने १० शैयाको अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको काम सम्पन्न गरिसकेको भए पनि डिपीआरलाई अन्तीमरुप दिन नसक्दा हालसम्म अस्पताल भवन निर्माणको काम अघि बढ्न सकेको छैन ।

संघीय सरकारले ‘एक स्थानीय तहमा, एक अस्पताल’ निर्माणको काम सुरु गरेको तीन वर्ष पुग्नै लाग्दा समेत दैलेखको डुङ्गेश्वर गाउँपालिकाले हालसम्म अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको काम सम्पन्न भएको र अस्पताल भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (डिपीआर) निर्माणको काम अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीले बताए । उनले अस्पताल भवन निर्माणको कामका लागि यही आर्थिक वर्ष भित्र ठेक्का आह्वान गरी सुरु गरिने बताए ।

भैरवी गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणका लागि काम सुरु गरिएको लगभग एक वर्ष पुग्नै लाग्दा समेत भवन निर्माणको काम सुरु हुन सकेको छैन । गाउँपालिकाका इन्जिनियर विकास विष्टका अनुसार डिपिआर निर्माणमा समस्या देखिए पछि अस्पताल भवन निर्माणले गति लिन नसकेको हो ।

‘हालसम्म अस्पताल भवन निर्माणका लागि जग्गा सम्माउने काम मात्र सम्पन्न भएको छ, डिपिआर निर्माण गर्दा वाल लगाउने कुरा छुटेपछि अहिले निर्माण कार्यमा समस्या देखिएको हो, मन्त्रालयमा गएर सच्याए पछि निर्माण कार्य अघि बढ्छ’, इन्जिनियर विष्टले भने ।

उनले भैरवीमा १५ शैयाको अस्पताल निर्माणको काम ०८१ असारसम्म, ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको बताए । एमाले अध्यक्ष केपी शर्मा (ओली) सरकारको पालामा संघीय सरकारले नागरिकलाई सुलभ सेवा पु¥याउने उद्देश्यले ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण कार्यको अवधारण ल्याएको भए पनि स्थानीय सरकारले अस्पताल भवन निर्माण चासो नदेखाउदा विकासे काम अलपत्र परेका देखिन्छन् ।

महाबु गाउँपालिकामा संघीय सरकार र प्रदेश सरका मातहत रहिँ दुई वटा अस्पताल भवनको निर्माण हुँदै गरेको भए पनि प्रदेश सरकारमार्फत निमार्ण हुँदै गरेको १५ शैयाको अस्पताल भवन निर्माणको काम अलपत्र परेको पाइएको छ । संघीय सरकारमार्फत निर्माण हुँदै गरेको १० शैयाको अस्पताल भवनको काम ६० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए ।

कर्णाली प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखको मातहतमा निर्माण हुँदै गरेको १५ शैयाको अस्पताल निर्माणको काम ९० प्रतिशत सम्पन्न हुँदा समेत भवन अलपत्र परेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाई छ । उक्त भवन निर्माणको म्याद ०७९ असारमा सकिएको भए पनि पुससम्म म्याद थप्दा समेत भवन निर्माणलाई अन्तिम रूप नदिँदा अलपत्र परेको जनाइएको छ ।

संघीय सरकारमार्फत निर्माण हुँदै गरेको भवनको काम समेत सुस्त गतिमा अघि बढेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । उनले संघ मार्फत आउनुपर्ने बजेट समयमा नआउँदा १० शैयाको अस्पताल निर्माणको काममा समस्या भएको बताए । संघ सरकार मार्फत निर्माण हुँदै गरेको भवनको म्याद यही असारसम्म सकिने गाउँपालिकाले जनाएको छ ।

आठविस नगरपालिकामा संघीय सरकारमार्फत निर्माण हुँदै गरेको अस्पताल भवनको काम हालसम्म ६० प्रतिशत सम्पन्न भएको नगरपालिकाका इन्जिनियर प्रकाश आचार्यले बताए । उनले निर्माण कम्पनीले तोकिएको समय भन्दा अगाडि नै अस्पताल भवन निर्माणको काम सम्पन्न गर्ने गरी लागेको बताएका छन् ।

१५ शैयाको अस्पताल भवन निर्माणको काम सुरु भएको एक वर्ष पुगेको इन्जिनियर आचार्यको भनाई छ । उनले आगामी असारसम्म अस्पताल भवन निर्माणको काम सम्पन्न गर्ने गरी निमार्ण कम्पनीसँग सम्झौता भएको बताए ।
‘आठविसमा अस्पताल भवन निर्माणको काम सुरुवाती देखिनै छिटो गतिमा अघि बढेको छ, निर्माण कम्पनीले गुणस्तरीय काम गरेको छ, अस्पताल भवन नीमार्णको काम तोकिएको समय भन्दा अगाढिनै सम्पन्न हुने देखेका छौँ’, इन्जिनियर आचार्यले भने ।

चमुण्डाविन्द्रासैनी नगरपालिकाले यही आर्थिक वर्षको असारसम्म अस्पताल भवन निर्माणको काम सम्पन्न गरिने जनाएको छ । दुई वर्ष अघिबाट निर्माण कार्य सुरु गरिएको अस्पताल भवनको पहिलो तला हाल्ने काम केही समयमै सम्पन्न हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम रावतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार