दैलेखको आठबीस नगरपालिका राकममा रहेको राकम आधारभूत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन भएको छ । प्लान्ट उद्घाटन सँगै राकम कर्णाली हुँदै कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरू, अछाम, कालिकोट, दैलेखका पश्चिम भूभागका बासिन्दाहरूलाई आवश्यक पर्ने अक्सिजनको सहजता हुने भएको छ । सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले उत्त प्लान्टको उद्घाटन गरेका हुन् ।
कर्णाली घुम्न आएकी प्रतिनिधि सभा सदस्य सविता गौतमको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
कोरोना महामारीका बेला गैर आवासीय संघ (एनआरएनए)ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग गर्ने प्रस्ताव अनुसार प्रतिष्ठानले उत्त प्लान्ट दैलेखको आठवीसमा रहेको आधारभूत अस्पतालमा जडान गर्न निर्णय गरेसँगै प्रक्रिया सुरु गरिएको थियो । करिब एक वर्ष पछि उत्त प्लान्टको औपचारिक उद्घाटन गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा आठबीसमा आधारभूत अस्पताल ओटी सेवा, विशेषज्ञ सेवा सञ्चालन भइरहेको थियो अक्सिजन प्लान्टको बिस्तार भएसँगै राजमार्गमा हुने दुर्घटनाका घाइतेहरू र अन्य समस्यामा परेका नागरिकहरूलाई अक्सिजन प्रदान गर्न सहज हुने देखिएको छ ।
स्वास्थ्य पहिलो प्राथमिकता
कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन् । अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीको दुर्घटनाग्रस्त क्षेत्रका रूपमा रहेको राकम कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न थालेको एक सय बेडको अस्पताल कर्णाली र सदुरपश्चिम प्रदेश सँगै लाखौं यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै निर्माण गर्न थालेकोमा धन्यवाद दिएका छन् ।
कर्णाली सरकारले अस्पताल निर्माणमा प्रमुख प्राथमिकता राखेर काम गर्नै शाहको भनाई छ ।
प्रतिष्ठान राकमा बनेसँगै, सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा, साबिक कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालिकोट र दैलेख लगायतका नागरिकलाई अत्याधुनिक स्वास्थ्य सेवा लिन सहज हुने भएकोले कर्णाली सरकार यो विषयमा गम्भीर भएको र यसले कर्णालीको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने बताए ।
प्रतिनिधि सभा सदस्य सविता गौतमले कर्णाली धेरै प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहेछ । आफू बटुवाको रूपमा कर्णाली भ्रमणमा रहेको भन्दै कर्णालीको समग्र विकासका लागि एउटा मात्र व्यक्ति, मन्त्री सांसदको मात्र भूमिका नभई समग्र नागरिकहरूले समेत कर्णाली विकासको अभियानमा हातेमालो गर्नुपर्ने सुझाव दिएकी छन् ।
कर्णालीका समस्या बुझेर सदनमा आफूले प्रस्ताव समेत लिने सांसद सोविताको भनाई छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. मङ्गल रावलले निर्माण गरिएको अक्सिजन प्लान्टले १७० देखि २०० सिलिन्डर दैनिक उत्पादन गर्ने क्षमता रहेको बताए ।
आठवीसमा बन्ने अस्पताल दुर्ई वर्षभित्र सम्पन्न गर्छौ त्यसका लागि प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्दछ । अस्पतालको पूर्वाधार निर्माण पश्चात् त्यसको सञ्चालन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्छ, दक्ष जनशक्ति अस्पतालमा आउँछन् ।
अहिले उपचारका लागि सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता हटेर जान्छ । अस्पताल निर्माणबारे जनतासँग अन्तरक्रिया समेत गरिएको छ । अन्तरक्रियामा अक्सिजन प्लान्ट मात्रै उद्घाटन गरेर नहुने र यसको नियमित प्रयोग गरेर फाइदा पु¥याउनुपर्ने नागरिकहरूले माग राखेका छन् । अति विपन्न, आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई सूचिकृत गरेर सुलभ स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थानीयको माग छ ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य गमता वि.क, आठबीस नगरपालिका प्रमुख तर्कबहादुर बडूवाल र उपप्रमुख कल्पनाकुमारी थापाको उपस्थिति रहेको थियो । विगत तीन वर्षदेखि अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको हो । डिपिआर बन्नका लागि तीन वर्ष लागेको भन्दै तत्काल डिपिआर सम्पन्न गरेर प्रदेश सरकारसँग माग गर्न स्थानीयले आठवीस नगरपालिकालाई आग्रह गरेका छन् ।
स्थानीयले दिए ४३ रोपनी जग्गा
दशकौँ देखि कुन रोग लागेर मृत्यु भयो भने पत्तो नपाएका दुर्गम आठवीस क्षेत्रका बासिन्दाहरूले स्वास्थ्य सेवा अनिवार्य भएको महसुस गर्दै अस्पताल निर्माणका लागि ४३ रोपनी जग्गा प्रदान गरेका छन् ।
जनताको स्वास्थ्य सेवा प्रभावकारी बनाउन र विशेष गरेर महिलामा हुने धेरै समस्याहरू समाधानका लागि महिलाहरू नै सक्रिए भएर जग्गा प्रदान गरेको र यसका लागि नगरपालिकाले सुरु देखिनै प्रभावकारी काम गर्दै आएको आठवीस नगरपालिका दैलेखकी उपप्रमुख कल्पना थापाले बताएकी छन् । जग्गा प्रदान गर्ने व्यक्तिहरूलाई आर्थिक मन्त्री विनोद कुमार शाहले प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको छ ।






