दैलेख : कालिकोट जिल्ला शुभकालिका गाउँपालिकाका पदमबहादुर शाहीको एक सता अघि खुट्टा भाँचियो, खुट्टा भाँचिएको अप्रेसन दैलेखमै निःशुल्क हुन्छ भनेपछि उनी दैलेख आए, निःशुल्क अप्रेसन भयो, करिब १ लाख ५० हजार आफ्नो रकम बचत भएपछि उनी खुसी छन् ।
उनीमात्र हैन, दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालिकोट, जाजरकोट, अछाम लगायत ५ जिल्लाका ७५ जनाको निःशुल्क अप्रेसन गरिएको छ भने हड्डी सम्बन्धी विभिन्न समस्या भएका १ हजार २ सय ३१ जना बिरामीहरूले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निः शुल्क उपचार सेवा प्रदान गरेको हो ।
दुर्गम र पहाडी जिल्लाका नागरिकहरू घाँसपात र भिरालो जमिनमा हिँडडुल गर्दा विभिन्न समयमा हातखुट्टा भाँचिने, प्रभावकारी उपचार नपाएपछि लामो समयदेखि हड्डी बाँग्गो हुने र आर्थिक अभावले काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दैलेखमा निःशुल्क शिविरको आयोजना गरिएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।
शनिवार देखि सुरु भएको शिविरमा आर्थिक अभावले काठमाडौँ जान नसकेका बिरामीहरूले दैलेखमै विशेषज्ञ डाक्टरहरुद्धारा निःशुल्क अप्रेसनको सुविधा प्राप्त गरेको विशेषज्ञ डाक्टर मोती तिमिल्सेनाले जानकारी दिएका छन् । हामीले जिल्लामै ७५ जनाको अप्रेसन ग¥र्यौं । दुर्गम जिल्लाका नागरिकलाई निकै सहज भयो, काठमाडौँ मात्र जाँदा उहाँहरूको लाखौँ रकम खर्च हुने थियो ।
दैलेख लगायत छिमेकी जिल्ला अछाम, कालिकोट र जाजरकोटका हड्डी सम्बन्धी समस्या भएका नागरिकहरूले दैलेखमै सहजै सेवा प्राप्त गरेका हुन् । स्वास्थ्य सेवा कार्यालय दैलेख र नारायण नगरपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका ६ जना विशेषज्ञ डाक्टर सहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको हो । दैलेखमा समाधान हुन नसकेका कतिपय बिरामीहरूलाई काठमाडौँमा निःशुल्क अप्रेसन सेवा प्रदान गरिने विशेषज्ञ क्याट्रिना हेगेनले बताएकी छन् । आर्थिक अभाव र दुर्गम भएकै कारण उपचार गर्न नपाएका नागरिकहरूका लागि शिविरले प्रदान गरेको सेवा निकै प्रभावकारी देखिएको छ ।






