काठमाडौं : कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन् ।
फागुन २६ गते सक्रिय संक्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ जना नयाँ संक्रमित र २० सक्रिय संक्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा पर्न थालेको बताए ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन, खोपको अतिरिक्त मात्रा अर्थात् (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । काठमाण्डौ उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान चलिरहेको छ । डा. दासका अनुसार संक्रमण फैलन नदिन स्वास्थ्यका मापदण्डहरु भिडभाडमा जाँदा मास्क लगाउने, संक्रमित व्यक्तिसँग भौतिक दूरी कायम राख्नेलगायतका आवश्यक स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ ।









