उपचारका लागि अर्को लडाँई लड्नुपर्ने हो ?

दैलेख : तत्कालिन समयमा भएको द्धन्द्धका कारण घाईते भएका दैलेखका द्धन्द्धपीडितहरुले उपचार नपाएपछि सरकारसँग अर्को लडाँई लड्नुपर्ने अवस्था आएको बताएका छन् । हामीले लडेर ल्याएको परिवर्तनका कारण तीन तहका सरकार बने तर हाम्रो शरिरमा भएका छर्रा झिक्नको लागि पैसा छैन्, सरकारले हाम्रो कुरा सुन्दैन् । अव पनि राज्य र सरकार दुबै पक्षबाट पीडित घाईतेहरुको उपचारको निःशुल्क व्यवस्था नभएमा अर्को लडाँईको सुरुवात गर्ने चेतावनी दिएका छन् ।

दैलेख सदरमुकाममा भएको अन्तरक्रियामा बोल्दै द्धन्द्धपीडित तथा घाईते तीलक अधिकारीले सरकारले १७ वर्षपछि बल्ल शहीदको लिष्टमा राख्यो केही मात्रामा शहीद परिवारलाई राहत मिल्यो तर दश लाखले मात्र उनका परिवारको पीडा रोकिन्छ । परिवारलाई अन्य उत्पादनका क्षेत्रमा लगाउन सरकार गम्भीर भएन् । सबैभन्दा पीडित बनेका घाईते र अपाङ्गहरुका लागि भने अहिलेसम्म कुनैपनि कार्यक्रम सरकारले ल्याउन सकेन्, न स्थानीय सरकारले सोध्छ, न त प्रदेश सरकारले नै केन्द्र सरकारले पनि नीति बनाउन सकेन अव हाम्रो उपचारका लागि अर्को लडाँई आवश्यक हो भने हामी त्यो पनि गर्न तयार छौं ।

जनयुद्धका घाईते राजेन्द्र बहादुर रावतले भने, हामी लड्यौं, व्यवस्था परिवर्तन भयो, अहिले हामी घाईते भएर बोल्न नसक्ने अवस्थामा छौं तर हाम्रो सम्मान छैन्, सरकारले सुनोस्, हामीले हतियार चलाउन बिर्सेका छैनौ, वम बनाउन बिर्सेका छैनौं । हामीलाई अति धेरै पीडा भएपछि हामी आफै मात्र पड्कने छैनौ अरुलाई सँग–सँगै पड्काएर मृत्युवरण गर्न तयार छौं । सवै राजनीतिक दलहरुले यो बिषयमा गम्भीर हुनुहोला । पालिका सरकारहरुले हामीलाई पालिकामा पनि हेला गरेका छन्, हाम्रो पीडालाई दबाउने प्रयास भए त्यसको परिणाम विस्फोटनमा परिणत हुने द्धन्द्धपीडितहरुले चेतावनी दिएका छन् ।

वेपत्ता परिवारका सदस्य भद्रबहादुर शाहीले भने हामीले हाम्रा आफन्तहरु कहिलेसम्म आउँछन् भनेर कुरेर बस्ने हो । किन यस्ता बिषयहरुमा निस्कर्ष निकालेर काम हुन सक्दैन्, कहिले सम्म पीडित परिवारहरु पीडा सहेर बस्नुपर्ने हो ।
द्धन्द्धपीडित महिलाहरुको अवस्था चुनौति र स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले नारायण नगरपालिकाले द्धन्द्धपीडित, असाहाय, एकल महिलाहरुको बारेमा विशेष कामहरु सुरुवात गरेको बताएका छन् । गत वर्ष नारायण नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको र यो वर्ष महिलाहरुलाई उत्पादनसँग जोड्नका लागि रोजगारी सृजना गर्ने अभियान सुरु गरेको बताएका छन् ।

कतिपय बिषयहरु केन्द्र सरकारले नीति बनाएर समाधान गर्ने प्रयास गरिरहेको र केही कुराहरुको सुरुवात भएकोले तीनै तहका सरकारले प्रभावकारी योजना निर्माण गरेर द्धन्द्धपीडित, घाईते र अपाङ्गहरुलाई दिगो रुपमा जीवन निर्वाह गर्ने उद्योगहरु सञ्चालनको आवश्यकता रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अजित श्रेष्ठले केन्द्र सरकारले केही बिषयहरुमा सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै जिल्लामा भएका सबैखाले पीडितहरुको समस्या समाधानका लागि जिल्लाका राजनीतिक दल, स्थानीय सरकार र सरोकारवालाहरुले संयुक्त रुपमा योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

द्धन्द्धपीडित राष्ट्रिय सञ्जाल दैलेखकी अध्यक्ष रत्ना कुमारी रेग्मीले द्धन्द्धमा मृत्युवरण गरेका व्यक्तिहरुलाई राज्यले शहीदको रुपमा सम्मान गरेकोमा खुसी व्यक्त गर्दै, घाईते, अपाङ्ग र द्धन्द्धपीडित परिवारहरुको दिगो जीविकोपार्जनका बिषयमा ठोस र प्रभावकारी कामको सुरुवात गर्नुपर्ने बताएकी छन् । पीडितहरु कुनै पार्टी वा पक्षका होइनन् परिवर्तनका लागि लडे कोही राज्य र कोही बिद्रोही पक्षबाट मृत्युको मुखमा परे, धेरै जसो घाईते र अपाङ्ग भए अहिले पीडामा परेका व्यक्तिहरुको उचित उपचार र उनका परिवारका लागि रेखदेख हुन सकेको छैन् ।

हामिले जिल्लास्तरका सवै तह तप्काका व्यक्तिहरुलाई बारम्बार कार्यक्रममा बोलाउँछौं तर हामीले हेलाको दृष्टिकोणबाट हेर्ने चलन अहिलेपनि कायमै रहेको रेग्मीको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार