दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जङ्गलमा भएको आगलागीमा परी ९ जना घाइते भएका छन् । घाइते नौ जना दुई परिवारका हुन् । त्यसमा दुई जना बालबालिका समेत परेका छन् । घाईते सबैलाई उपचारका लागि नेपालगञ्ज पठाईएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
घाइते हुनेहरूमा वडा नं. ६ का मिना वि.क., जुना वि.क., प्रकाश वि.क., नैना वि.क. र जौकला वि.क. एकै परिवारका हुन् । नैना वि.क. र जौकला बालबालिका हुन स्थानीय प्रत्यक्ष दर्शीले भने । अन्य घाइते मध्येका भैरे वि.क., प्रज वि.क., नवीन वि.क.र मौती वि.क.एकै परिवारका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नं. ६ को गोरेटो बाटो निर्माणको जिम्मेवारी १२ जनालाई थियो । ३ जना काममा गएका थिएनन् अन्य ९ जना बाटो खन्न गएका थिए, तलबाट आगो दन्किँदै आएको रहेछ, हावाहुरी पनि सँगसँगै चलेको थियो, सुकेका सालका पातमा आगोको लप्का एकै पटक आएपछि उनीहरू समस्यामा परेको स्थानीय डिल्ली खनालले जानकारी दिए, केहीवेर आगो निभाउने प्रयास गरेछन् नभएपछि वडारभित्र पसे वरिपरि आगो लागेपछि उनीहरू भाग्न नसकेको र समस्यामा परेको खनालको भनाई छ ।
घाइते मध्येका गम्भीर आगजनीमा परेका ९ जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि कोहलपुरमा पु¥याएको भए पनि कोहलपुर मेडिकल कलेजले उपचार सम्भव नभएको भन्दै भेरी अस्पतालमा पठाएको आफन्तले जानकारी दिएका छन् । हेलिकप्टरमा एक पटकमा चार जना मात्र लिन मिल्ने भएपछि दुई पटक आठबीस नगरपालिकाबाट हेलिकप्टर मार्फत उद्धार गरिएको भए पनि पीडितहरूलाई प्रभावकारी उपचारमा समस्या देखिएको स्थानीयको भनाई छ । अहिले बिरामीलाई भेरी अस्पताल र नर्सिङ होममा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिएका छन् । गरिब र विपन्न समुदाय भएकोले राज्यले निःशुल्क उपचार गरिदिनुपर्ने स्थानीयको माग छ ।
रुमालमा बाँधेर
घाइतेलाई ल्यायौँः खनाल
आगलागी भएको जानकारी पाउने बित्तिकै राकमको प्रहरी स्थानीय बासिन्दाहरूलाई लिएर घटनास्थलमा पुग्यौँ । आजै एकै दिन आठबीसका तीन वटा सामुदायिक जङ्गलहरूमा आगलागी भएको थियो । माल्या जङ्गलमा मानिसहरू आगोमा परे भन्ने सुन्नेवित्तिकै हामी गयौँ, घाइतेलाई रुमालमा बाँधेर कर्णाली राजमार्गमा ल्याएको र दुई पटक प्रहरीको गाडी, केहीलाई हाईसमा केहीलाई अटोमा हालेर राकमकर्णाली अस्पतालमा ल्याएको प्रत्यक्षदर्शी डिल्ली खनालले जानकारी दिएका छन् ।
प्रहरी प्रशासन र निर्वाचित माननीयहरूलाई फोन गरेर हेलिकप्टर मार्फत यहाँबाट उद्धार त भयो तर उपचार प्रभावकारी पाउने हुन कि होइनन् समस्या छ खनालले भने राज्यले गरिब समुदायहरू आगोमा परेको विषयलाई गम्भीर रूपमा लिएर निःशुल्क उपचार गरिदिनुपर्ने उनको माग छ । स्थानीय पालिकाका सवारी साधनहरु कुनै पनि काम लाग्ने अवस्थामा नभएको भन्दै स्थानीयले पालिकाप्रति आक्रोश पोखेका छन् ।
एक घण्टा भित्रै उद्धार भयोः प्रजिअ
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले घटनाको जानकारी आएको १ घण्टाभित्रै घाइतेको हेलिकप्टर मार्फत उद्धार गरिएको बताएका छन् । घाइतेको अवस्था विश्लेषण पश्चात् गृह मार्फत नेपाली सेनाको हेलिकप्टर मगाइएको हमालले बताए । हमालले आफूले नेपालगन्जका प्रमुख जिल्ला अधिकारीलाई समेत घाइतेको उपचारमा सहयोग गर्न सम्बन्धित अस्पताललाई भनिदिन आग्रह गरेको बताएका छन् ।






